NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

इन्धन आयातमै बाहिरियो ९ खर्ब ७६ अर्ब रूपैयाँ,  हेर्नुहोस् तथ्यांक

काठमाडौं । नेपालमा आयात हुने धेरै वस्तु मध्यमा इन्धन पर्छ । यी वस्तुको आयातमा मात्रै वार्षिक खर्बौं रुपैयाँ खर्च हुँदै आएको छ ।

हरेक वर्ष आयातको आकार र व्यापार घाटा बढ्दै जानुमा इन्धनको पनि ठूलो भूमिका छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस र रुस–युक्रेनेको युद्धपछि पेट्रोलियम वस्तुको मूल्यसमेत आकाशिएको छ ।

उपभोक्ताले चर्को मूल्य तिरेर पेट्रोल, डिजेल लगायतका इन्धन खरिद गर्नुपर्ने अवस्था छ । इन्धनको लागि नेपाल भारतमा नै निर्भर हुनुबाहेक तत्काल अन्य विकल्प छैन । मूल्यजति बढेपनि नेपालीले यी वस्तु आयात गर्नुपर्ने बाध्यता छ ।

एकातिर अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ घटबढ भइरहँदा उपभोक्ता आजित भइसकेका छन् । अर्कातिर भारतसँग पेट्रोलियमको परनिर्भरता न्यूनिकरण गर्न विकल्प खोज्नुपर्ने सरोकारवालाहरूले आवाज उठाउँदै आएका छन् ।

केही वर्ष यता सरकारले विद्युतीय सवारी साधन प्रयोगमा जोड दिएपनि पेट्रोलियम सवारी नै बढी सञ्चालनमा छन् । विद्युतीय सवारी साधन चलाउन नेपालको परिपेक्षमा चार्जिङ स्टेसन, सर्भिसिङ सेन्टरलगायतको अपर्याप्त सुविधाले उपभोक्ताको रोजाइमा अहिले पनि पेट्रोलियम सवारी नै प्राथामिकतामा पर्छन् ।

८ महिनामै १ खर्ब ९७ अर्ब रुपैयाँको इन्धन आयात

तथ्यांक हेर्दा वार्षिक २ देखि ३ खर्बको हाराहारीमा इन्धनको आयातमै नेपाली रुपैयाँ खर्च हुँदै आएको छ । चालु आव ०७९/८० को पहिलो ८ महिना (साउन–फागुन) सम्ममा १ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ बराबरको इन्धन आयात भएको छ । उक्त अवधिमा नेपालमा कुल वस्तु आयात १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको भएको भन्सार विभागको तथ्यांक छ ।

चालु आवको फागुन मसान्तसम्ममा पेट्रोल मात्रै ४४ अर्ब १५ करोड ९९ लाख १३ हजार रुपैयाँको आयात भएको छ । उक्त मूल्य बरारको पेट्रोल आयात हुँदा आयल निगमले नेपाल सरकारलाई २३ अर्ब ९८ करोड १८ लाख १७ हजार रुपैयाँ राजश्व बुझाएको छ ।

त्यस्तै सोही अवधिमा एलपिजी ग्यास आयातमा ३८ अर्ब ७२ करोड ६० लाख ९३ हजार रुपैयाँको खर्च भएको छ । उक्त मूल्यको आयात बराबर सरकारले ७ अर्ब २५ करोड २५ लाख ७६ हजार रुपैयाँ राजश्व उठाएको छ । ८ महिनाको अवधिमा डिजेल मात्रै ९८ अर्ब ९५ करोड ८२ लाख ५६ हजार रुपैयाँको भित्रिएको छ । उक्तमूल्य बराबरको डिजेल आयात हुँदा ३३ अर्ब ३४ करोड ३३ लाख ३२ हजार रुपैयाँको राजश्व उठेको छ ।

उक्त अवधिमा मट्टीतेल ८६ करोड ६५ लाख ९१ हजार रुपैयाँ र हवाइ इन्धन १४ अर्ब ५१ करोड ७२ लाख ४३ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

यस्तो छ इन्धन आयातको ५ वर्षे तथ्यांक

५ आर्थिक वर्षमा ९ खर्ब ७६ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी रुपैयाँको इन्धन नेपाल भित्रिएको छ । यी अवधिको तथ्यांक विश्लेष्ण गर्दा अघिल्ला आर्थिक वर्षहरूको तुलनामा गत आर्थिक वर्षमा सबैभन्दा धेरै इन्धन आयातमा खर्च भएको छ । गत आर्थिक वर्ष अर्थात आव ०७८/०७९ मा इन्धर्नको आयातमै ३ खर्ब २२ अर्ब १ करोड रुपैयाँभन्दा बढी रकम बारिएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा अघिल्लो वर्षको तुलनामा खपत न्युनभए पनि आयात मूल्य बढेको निगमको भनाइ छ ।

आव ०७४/०७५ मा १ खर्ब ५४ अर्ब ४८ करोड रुपैयाँ बराबरको इन्धन आयात भएको देखिन्छ । त्यस्तै आव ०७५/०७६ मा २ खर्ब ६ अर्ब ४६ करोड, आव०७६/०७७१ खर्ब २८ अर्ब २३ करोड र आव ०७७/०७८ १ खर्ब ६५ अर्ब २८ करोड रुपैयाँ पेट्रेलियम पदार्थ आयातमा खर्चिएको तथ्यांक छ ।

राजश्व संकलनको ५ वर्षे तथ्यांक

५ आर्थिक वर्षमा इन्धन आयातबाट सरकारले कुल ३ खर्ब ५० अर्ब ३३ करोड ६३ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । निगमले आव ०७८/०७९ मा सबैभन्दा धेरै १ खर्ब १६  अर्ब ९५ करोड १७ लाख ९२ हजार रुपैयाँ पेट्रोलियम आयात गरेबापत् राजश्व बुझाएको छ ।

सबैभन्दा कम राजश्व आव ०७४/०७५ मा उठेको देखिन्छ । उक्त आवमा सरकारले इन्धर्नमार्फत ४६ अर्ब ९८ करोड २७ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

कुन इन्धन कति मूल्यको भित्रिए?

आर्थिक वर्ष ०७४/०७५

आव ०७४/०७५मा सबैभन्दा धेरै डिजेल आयातमात्रै ९६ अर्बभन्दा बढी रुपैयाँको भएको छ । भन्सारको तथ्यांकअनुसार उक्त आवमा ९६ अर्ब ७३ करोड १३ लाख रुपैयाँको डिजेल भित्रिदा आयल निगमले सरकारलाई १४ अर्ब ९४ करोड ४० लाख २४ हजार रुपैयाँ राजश्व बुझाएको छ ।

त्यस्तै सो आवमा २८ अर्ब १ करोड १ लाख रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ । उक्तमूल्य बराबरको पेट्रोल आयात गर्दा निगमले १४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ राजश्वतिरेको छ ।

अन्य इन्धनमा एलपिजी ग्यास २७ अर्ब १३ करोड ९ लाख, हवाइ इन्धन ११ अर्ब ३३ करोड ८४ लाख र १ अर्ब ३० करोड ७२ लाख रुपैयाँको मट्टीतेल आयात भएको छ ।

आर्थिक वर्ष ०७५/०७६

आव ०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा पेट्रोलियम वस्तु आयात बढेको छ । उक्त आवमा डिजेल आयातमा मात्रै १ खर्ब १९ करोड ८८ करोड रुपैयाँ खर्च भएको छ । उक्त रुपैयाँ बराबरको डिजेल आयात हुँदा सरकारले २९ अर्ब ६० करोड राजश्व संकलन गरेका छ । सो आवमा डिजेलपछि सबैभन्दा धेरै ३५ अर्ब ५४ करोड ८९ लाखको पेट्रोल र ३५ अर्ब ५४ करोड ८४ लाखको एलपिजी ग्याँस आयात भएको छ ।

सरकारले सो आवमा पेट्रोल आयातबाट १७ अर्ब ८६ करोड रुपैयाँ र डिजेल आयातबाट ६ अर्ब ६३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरी उक्त आवमा १३ अर्ब ७५ करोड रुपैयाँ हवाइ इन्धनमा खर्च भएको छ भने १ अर्ब ३५ करोड राजश्व उठेको छ । मट्टीतेल आयत १ अर्ब ७२ करोडको हुँदा ४ करोड राजश्व संकलन भएको विभागको तथ्यांक छ ।

आर्थिक वर्ष ०७६/०७७

आर्थिक वर्ष ०७६/०७७ मा आव ०७५/०७६ को तुलनामा इन्धन आयात घटेको देखिन्छ । तथ्यांकअनुसार आव ०७६/०७७ मा २८ अर्ब ३६ करोड रुपैयाँको पेट्रोल आयात भएको छ । जुन अघिल्लो आवको तुलनामा ७ अर्ब रुपैयाँ बराबरले कमी हो । निगमले २८ अर्ब रुपैयाँको पट्रोल आयात गर्दा १७ अर्ब ८ करोड रुपैयाँको राजश्व सरकारलाई बुझाएको छ ।

त्यस्तै डिजेल अघिल्लो आवको तुलनामा करिब १ खर्ब रुपैयाँले कमी भएको छ । तथ्यांकअनुसार ८७ अर्ब ३७ करोड रुपैयाँको डिजेल आयात भएको छ । उक्तमूल्य बराबरको डिजेल खरिद गर्दा निगमले सरकारलाई २९ अर्ब ७२ करोड रुपैयाँ राजश्व बुझाएको छ ।

उक्त आवमा एलपिजी ग्यास २ अर्ब ७८ करोड, हवाई इन्धन ८ करोड ६३ लाख र मट्टीतेल १ अर्ब ७ करोड रुपैयाँको आयात भएको छ ।

आर्थिक वर्ष ०७७/०७८

आव ०७७/०७८मा अघिल्लो वर्षको तुलनामा इन्धन आयात बढेको देखिन्छ । तथ्यांकअनुसार उक्त आवमा सबैभन्दा बढी डिजेल ९१ अर्ब ९४ करोड रुपैयाँको आयात भएको छ । उक्तमूल्य बराबरको डिजेल खरिद गर्दा निगमले सरकारलाई ६ अर्ब ७४ करोड राजश्व बुझाएको छ ।

त्यस्तै आव ०७७/०७८मा ३२ अर्ब ४४ करोड रुपैयाँ बराबरको पेट्रोल नेपाल भित्रिएको छ । जुन रकम बराबरको पेट्रोल आयात गर्दा सरकारले २८ अर्ब ५ करोड रुपैयाँको राजश्व संकलन भएको छ ।

यस्तै ३६ अर्ब १५ करोड रुपैयाँको एलपिजी ग्याँस आयात भएको छ । जसमार्फत सरकारले ६ अर्ब ७४ करोड राजश्व लिएको छ । ३ अर्ब ६० करोड रुपैयाँ हवाइ इन्धनमा खर्च हुँदा १४ करोड २२ लाख राजश्व संकलन भएको छ । १ अर्ब १३ करोड रुपैयाँको मट्टीतेल आयात हुँदा २७ करोड ३६ लाख रुपैयाँको राजश्व संकलन भएको विभागले जनाएको छ ।

आर्थिक वर्ष ०७८/०७९

आर्थिक वर्ष ०७८/०७९ मा इन्धन अरू आर्थिक वर्षको तुलनामा दोब्बरले बढेको छ । पेट्रोलियम मूल्य आकाशिएसँगै आयात मूल्यमा पनि दोब्बरले वृद्धि भएको निगमको दाबी छ । तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा पेट्रोल आयात ३९अर्ब रुपैयाँले बढेको छ । जुन आर्थिक वर्षमा ७१ अर्ब ३८ करोड रुपैयाँको पेट्रोल आयात हुँदा सरकारले ३९ अर्ब ४ करोड रुपैयाँको राजश्व उठाएको छ ।

नेपालमा सबैभन्दा बढी आयात हुने इन्धन डिजेल हो । आव ०७८/०७९मा डिजेल आयातमै नेपालले १ खर्ब ६८ अर्ब २३ करोड रुपैयाँ खर्चिएको छ । सो मूल्य बराबरको डिजेल खरिद गर्दा निगमले नेपाल सरकारलाई ६४ अर्ब ७१ करोड राजश्व बुझाएको छ ।

त्यस्तै ६५ अर्ब ५५ करोड रुपैयाँको एलपिजी ग्यास आयात भएको छ । जस बराबर सरकारले १२ अर्ब २२ करोड राजश्व संकलन गरेको छ । आव ०७८/०७९मा १५ अर्ब १५ करोड रुपैयाँको हवाइ इन्धन आयात हुँदा ७६ करोड ८४ लाखको राजश्व उठेको छ । १ अर्ब ६८ करोड रुपैयाँको मट्टीतेल आयात गर्दा २० करोड ७१ लख रुपैयाँ राजश्व संकलन भएको छ ।