फागुन मसान्तसम्ममा कुन क्षेत्रमा कति कर्जा प्रवाह भए ?

काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा कुल आन्तरिक कर्जा ४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १०.६ प्रतिशतले बढेको थियो ।
मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा चालु आवको फागुन मसान्तमा यस्तो कर्जा ८.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ११.६ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ फागुन मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ४९.१ प्रतिशतले बढेकोमा २०७९ फागुन मसान्तमा यस्तो दावी ५२.३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा
यस्तो दावी १३.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा मौद्रिक क्षेत्रको
निजी क्षेत्रमाथिको दावी ४.० प्रतिशतले बढेको छ ।
निक्षेप परिचालन
८ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ८० अर्ब ५७ करोड (५.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ९२ अर्ब १२ करोड (४.१ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.५ प्रतिशतले बढेको छ ।
निक्षेप निजी क्षेत्रतर्फको कर्जा
२०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.८ प्रतिशत रहेको छ । २०७८ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३८.८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा १ खर्ब २८ अर्ब १८ करोड कर्जा प्रवाहित भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब २२ अर्ब ४९ करोड (१२.८ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ ।
फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६४.६ प्रतिशत कर्जा प्रवाह भएको छ । त्यस्तै व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३५.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.८ प्रतिशतले, विकास बैंकहरुको ३.१ प्रतिशतले र वित्त कम्पनीहरुको०.७ प्रतिशतले बढेको छ । २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६७.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको २०७८ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६७.० प्रतिशत र १२.५ प्रतिशत रहेको थियो ।
आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ५.९ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १४.० प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १.९ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) २.६ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ३.१ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ६४.५ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिको कर्जा ६.६ प्रतिशतले र हायर पर्चेज कर्जा ११.२ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया