NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

तनहुँ–१ मा कांग्रेसका गोविन्दलाई गोविन्दको चुनौती, इतिहास रच्ने दाउमा स्वर्णिम र सर्वेन्द्र

काठमाडौं । विद्रोही नेता गोविन्दराज जोशीलाई फकाउने प्रयास असफल भएपछि तनहुँ–१ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई अप्ठ्यारोमा परेका छन् ।

वैशाख १० मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न चाहेका धेरै आकांक्षीलाई पछि पार्दै टिकट हात पारेका भट्टराईलाई जित निकाल्न त्यति सजिलो देखिँदैन । टिकट नपाएकोमा असन्तुष्टी जनाउँदै १६ चैतमा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कांग्रेस त्यागे ।

शेरबहादुर देउवा र आरजु राणा कोरोहको अपमान र हेपाइका कारण पार्टी परित्याग गरेका उनले रास्वपाबाट भट्टराईविरूद्ध उम्मेदवारी दिएका छन् । भट्टराईले वाग्लेसहित पूर्वनेता जोशीको असहयोगको सामना गर्नुपर्ने देखिन्छ ।

आन्तरिक विवादका कारण आफ्ना उम्मेदवार अप्ठ्यारोमा पर्न सक्ने देखेका देउवाले जोशीलगायत नेता तथा कार्यकर्तामाथि गरिएको कारवाही फुकुवा गरेका थिए । अनुशासन कारवाही फिर्ता लिएपछि जोशीसँग निरन्तर वार्ता गरेपनि सफल हुन सकेन ।

बुधबार जोशी समूहले विज्ञप्ति जारी गर्दै तत्कालका लागि कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरेको छ । कांग्रेसले स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गरेको आरोप लगाउँदै जोशीले वार्ता समाप्त भएको घोषणा गरेका हुन् ।

‘कांग्रेसका प्रतिनिधिहरूसँग भएको वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुश गरेका छौं । आजदेखि कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणासमेत गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले गत चैत १९ गते केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट जोशीलगायत तनहुँ, चितवन र बारामा अघिल्ला निर्वाचनका बेला आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिनेहरूको कारबाही फुकुवा गरेको थियो । भट्टराईले अब विपक्षी एमालेका उम्मेदवारसँगै कांग्रेसकै बागी उम्मेदवारसँग समेत प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । यहाँ एमालेले पूर्वआइजिपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।

कांग्रेसको पुस्तौनी विरासत रहेको तनहुँ–१ राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र हो । उनी २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएपछि भट्टराईले अवसर पाएका हुन् । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनी नेविसंघका पूर्वसभापति हुन् । भट्टराई झण्डै चार दशक कांग्रेस राजनीतिमा सक्रिय छन् । यो क्षेत्र २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । जोशी समूहको असहयोगका कारण २०७४ मा पौडेल पराजित भए ।

कांग्रेसको गढको रूपमा मानिएको तनहुँ–१ मा आफ्नो विरासत जोगाउन मुख्य चुनौती योपटक नयाँ दल रास्वपा देखिएको छ । लामो समय अमेरिका बसोबास गरेका रास्वपाका उम्मेदवार वाग्ले २०७४ र २०७९ को तीन वटै निर्वाचनमा निर्वाचन घोषणापत्रका मस्यौदाकार हुन् ।

अर्थतन्त्रसम्बन्धी राम्रो ज्ञान हाँसिल गरेका उनी विश्वकै प्रशिद्ध अर्थशास्त्री हुन् । राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकार रहेर काम गरेका वाग्ले गतवर्ष मात्र स्थायी रूपले नेपाल फर्केका हुन् । गएको निर्वाचनमा चिवन र काठमाडौंका निर्वाचन क्षेत्रमध्ये एक ठाउँबाट उम्मेदवार बन्न चाहेका थिए । तर उनलाई देउवाले टिक दिन नचाहेपछि नेतृत्वसँग असन्तुष्ट थिए । बुढानीलकण्ठ स्कुल हुँदै लण्डन स्कुल अफ इकोनोमिक्स, हावर्ड विश्वविद्यालयमा अध्ययन गरेका उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । अर्थराजनीतिमा विश्वमञ्चमा राम्रो छवि बनाएका वाग्ले नयाँ अनुहार भएकाले भट्टराई अप्ठ्यारोमा परेका हुन् । भट्टराईले विगतको विरासतलाई कायमै राख्न कांग्रेसभित्रकै अन्तर्घात प्रमुख चुनौती देखिएको छ ।

उनी लामो समय तनहुँलाई केन्द्रबिन्दू बनाएर राजनीतिमा खारिएका अनुभवी नेता हुन् । तनहुँका जनताबीच भट्टराई निकै लोकप्रिय छन् । भट्टराई र वाग्ले दुवै जना परिक्षण नभएका तथा सम्भावना बोकेका नेता हुन् । तर कांग्रेसभित्र वाग्लेको विद्रोह तथा रास्वपाप्रति जनताको बढ्दो आकर्षणका कारण कांग्रेसको विरासत जोगाउन भट्टराईलाई फलामको चिउरा चपाए सरह हुने देखिन्छ । यद्यपि उनलाई गठबन्धनबाट कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलहरूको समर्थन रहेको छ ।

भट्टराईका विपक्षी उम्मेदवार रहेका खनाल मंसिर ४ मा भएको निर्वाचनमा काठमाडौं–६ बाट रास्वपाका उम्मेदवार शिशिर खनालसँग पराजित भएका थिए । तीन वर्ष लामो समय प्रहरी सेवामा काम गरेका उनी लोकप्रिया प्रहरी अधिकारी हुन् । तनहुँलाई आफ्नो पुख्र्यौली थलो भएको दाबी गर्ने खनाल योपटक कांग्रेसभित्रको आन्तरिक कलहको फाइदा उठाउने दाउमा छन् ।

कुन दलको अवस्था कस्तो छ ?

मंसिरमा भएको निर्वाचनमा तनहुँ–१ बाट कांग्रेसका उम्मेदवार पौडेलले २५ हजार ३६१ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए । स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाए ।

समानुपातिकतर्फ कांग्रेसको २० हजार १५८, एमालेको १६ हजार ६८३, रास्वपाको १२ हजार ७७३ र माओवादीको ७ हजार ३२६ मत रहेको छ । यसैगरी राप्रपा ३ हजार ५७७, एस ५५० रहेको छ । मतपरिणाम हेर्दा सत्तापक्षको जम्मा मत २८ हजार ३४ रहेको छ । रास्वापाको १२ हजार ७७३ र विपक्षी एमाले १६ हजार ६८३ र राप्रपा ३ हजार ५७७ मत रहेको छ ।