NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

सांसद पद नछाड्ने बरु कानूनी उपचारमा जाने ढाकाकुमारको संकेत

काठमाडौं । एक मेडिकल व्यवसायीसँग मन्त्री बन्नका लागि २ करोड रकम माग गरेको अडियो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाकाकुमार श्रेष्ठलाई सांसदसँगै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

रास्वपाको बुधबार बसेको बैठकले अडियो प्रकरणमा श्रेष्ठको संलग्नता पुष्टि हुने ठहर गर्दै उनीमाथि कारबाही गर्ने निर्णय लिएको हो ।

केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका सभापति रवि लामिछानेले अडियो संवादमा ढाकाकुमारको संलग्नता देखिएकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जानकारी दिए ।

रास्वपाले ढाकाकुमारलाई हटाएपछि रिक्त समानुपातिक सांसद पदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्ने निर्णय पनि गरेको छ ।

तर ढाकाकुमारलाई सांसद पदबाट हटाउने रास्वपाको निर्णय कार्यान्वयन हुन कानूनी रूपमा सहज नहुने देखिएको छ ।

संविधानको धारा ८९ मा विभिन्न ६ अवस्थामा संसद सदस्यको पद रिक्त हुने व्यवस्था गरिएको छ । जसमा सांसदले सभामुखसमक्ष लिखित राजीनामा बुझाएमा, सांसद हुने योग्यता नपुगेमा वा नरहेमा, प्रतिनिधिसभा वा राष्ट्रियसभाको पदावधि समाप्त भएमा, सम्बन्धित सदनलाई सूचना नदिई लगातार दश बैठकमा अनुपस्थित रहेमा, सम्बन्धित दल त्यागेमा वा मृत्यु भएमा सांसद पद रिक्त हुने उल्लेख छ ।

संविधानले दलले हटाएको अवस्थामा सांसद पद रिक्त हुने व्यवस्था नगरेकाले ढाकाकुमारमाथिको कारबाहीमाथि स्वाभाविक कानूनी प्रश्न उब्जने निर्वाचन आयोगका एक अधिकारी बताउँछन् ।

‘संविधानले सांसदलाई दलले हटाउन सक्ने परिकल्पना गरेको छैन । त्यसैले रास्वपाको निर्णय कार्यान्वयनमा कानूनी जटिलता आउने देखिन्छ,’ ती अधिकारीले भने ।

पद नछाड्ने ढाकाकुमारको संकेत

दुर्गा प्रसाईंसँग दुई करोड माग गरिएको आफ्नो अडियो टेप सार्वजनिकपछि सुरुमा ढाकाकुमारले उक्त संवाद आफूले नगरेको दाबी गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन तथा आचरण समितिसँग पनि उनले यस्तै व्यहोराको बयान दिएको बताइन्छ । सो पार्टीका सभापति रवि लामिछानेले बताएअनुसार उनले दिएको बयान विरोधाभाषपूर्ण थियो ।

‘उहाँले कहिले अडियो मेरो होइन भन्नुभयो । कहिले मलाई कारबाही गरे अरुलाई पनि बाँकी राख्दिनँ भनेर धम्कीको भाषा बोल्नुभयो । उहाँमा अडान देखिएन,’ बुधबार श्रेष्ठलाई कारबाही गरिएकोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रविले भने ।

आफ्नो अडियो टेपबारे छलफल गर्न रास्वपा केन्द्रीय समिति बैठक चलिरहेका बेला ढाकारामले बुधबार आफ्नो अलग्गै पत्रकार सम्मेलन गरेका थिए । पत्रकारको प्रश्न नलिई एकतर्फी करिब पाँच मिनेट बोलेका ढाकाकुमारको मुखबाट उक्त अडियो आफ्नो भएको कुरा चिप्लिएको थियो । उनले भनेका थिए, ‘जनवरीमा भएको कुराकानी यतिका समयपछि अहिले आएर सार्वजनिक गर्नु षड्यन्त्र हो ।’

ढाकाकुमार स्वयंले अडियो आफ्नो भएको स्वीकार गरिसकेका छन् । तर उनी सांसद पदबाट  हटाउने रास्वपाको निर्णय नमान्ने पक्षमा देखिएका छन् ।

आफूमाथि कारबाही गर्ने पार्टीको निर्णयपछि केही सञ्चारमाध्यममा असन्तुष्टि जाहेर गरेका श्रेष्ठले पार्टी निर्णय विरुद्ध उभिने संकेत समेत  गरेका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै श्रेष्ठले संविधान र कानूनभन्दा माथि राखेर सस्तो लोकप्रियताका लागि आफूमाथि कारबाही गरिएको बताएका छन् । साथै उनले यसविरुद्ध कानूनी उपचारमा जाने संकेत पनि गरेका छन् ।

‘संविधान र कानुन भन्दा कोही पनि माथि हुँदैन,’ उनले लेखेका छन्, ‘ममाथि अन्याय भयो । मलाई अदालतले फैसला नगरुन्जेलसम्म निलम्वन गरे पनि मलाई स्वीकार्य हुन्छ भनेको थिएँ । तर सस्तो लोकप्रियताका लागि स्टण्ट गरियो।’

स्रोतका अनुसार, ढाकाकुमारले आफूविरुद्ध गरिएको कारबाहीको कानूनी रूपमा कसरी प्रतिवाद गर्न सकिन्छ भन्नेबारे वकिलसँग परामर्श थालेका छन् ।

‘ढाकाकुमारले पार्टीको कारबाही गर्ने निर्णयबाट अन्याय भएको महसुस गर्नुभएको छ । त्यसैले उहाँ त्यसको कानूनी प्रतिवाद कसरी गर्न सकिन्छ भनेर परामर्शमा हुनुहुन्छ,’ ढाकाकुमार निकट स्रोतले भन्यो ।

 

ताजा अपडेट

नेपालवाच विशेष