NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षको लागि दोस्रो चरणको निर्वाचन हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको लागि पुनः दोस्रोपटक निर्वाचन हुने भएको छ । निर्वाचनमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।

अबको निर्वाचनमा पहिलो निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई उम्मेदवार रहेकोमा संघई  बाहिरिसकेका छन्। दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ ।

जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जन श्रेष्ठले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गरेका छन् भने उमेशलाल श्रेष्ठले ३१ दशमलव ५१ मत प्राप्त गरेका छन् । साथै रामचन्द्र संघईले ३० दशमलव ४६ मत प्राप्त गरेका छन् ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । महासंघ बुधबार भएको निर्वाचन भएको थियो । जसमध्ये वरिष्ठ उपाध्यक्षतर्फको मतगणना आज विहान सकिएको हो ।

मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले ६१३ मत प्राप्त गरे साथै अञ्जन श्रेष्ठले ५७३ मत र उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गरे । साथै ८ मत बदर भयो ।

जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जन श्रेष्ठले ४७, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत प्राप्त गरे । साथै ३ मत बदर भयो । वस्तुतगतर्फ खसेको १२३ मतमध्ये उमेृशलाल श्रेष्ठले ६९, अञ्जन श्रेष्ठले ४१ र रामचन्द्र संघईले १२ मत प्राप्त गरे भने एक मत बदर भयो ।

महासङ्घको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।

निर्वाचन आजै

वरिष्ठ उपाध्यक्षका लागि आजै निर्वाचन हुनेछ । मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार वरिष्ठ उपाध्यक्षका लागि आज दिउँसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ ।