आर्थिक नियमावली मिचेर ९ आयोजनाले गरे बजेटभन्दा बढी खर्च, कुन कम्पनीको खर्च कति ?

काठमाडौं । आर्थिक वर्ष ०७८/०७९ मा ९ आयोजनाहरूले बजेटभन्दा बढी खर्च गरेको अर्थमन्त्रालयको तथ्याङ्कले देखाएको छ । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ४१ मा सरकारी रकम खर्च गर्दा विनियोजन ऐन बमोजिम स्वीकृत सीमाभित्र भएको सुनिश्चित गरी खर्च गर्नुपर्ने उल्लेख छ ।
तर ९ कम्पनीले नियमावलीमा भएको व्यवस्था विपरित २ अर्ब ८८ करोड १० लाख रुपैयाँ खर्च गरेको पाइएको छ । अर्थमन्त्रालयका अनुसार आर्थिक वर्ष ०७८/०७९मा ९ आयोजनाहरूका लागि ३ अर्ब १९ करोड ६३ लाख रुपैयाँ बजेट बिनियोजन भएकोमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ बजेट खर्च भएको छ ।
यी आयोजनाहरूमा काठमाडौं उपत्यकाका सडक विस्तार आयोजना, सुनसरी मोरङ सिचाईँ आयोजना (तेस्रो), बृहत दाङ उपत्यका सिँचाई आयोजना, माथिल्लो त्रिशुली(३ए) जलविद्युत आयोजना, मर्मत सम्भार आयोजना, दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजना, धोविखोला कोरिडोर सुधार आयोजना, सडक क्षेत्र विस्तार आयोजना र नेपाल–भारत सीमा एकीकृत जाँचचौकी विकास आयोजना रहेका छन् ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका लागि सरकारले आ.व. ०७८/०७९ मा ६३ करोड ९६ लाख रकम विनियोजन गरिएकोमा यस आयोजनाले ९७ करोड २ लाख रुपैयाँ बढी खर्च गरेको छ । सोही वर्ष यस आयोजनाले जम्मा १ अर्ब ६० करोड ९८ लाख रुपैयाँ खर्च गरेको पाइएको छ ।
सुनसरी मोरङ आयोजनाले बजेटभन्दा ९३ करोड ४७ लाख रुपैयाँ खर्च गरेको पाइएको छ । सो आयोजनाको लागि सरकारले ६९ करोड ८० लाख रुपैयाँ रकम बिनियोजन गरेको थियो । यस आयोजनाले जम्मा १ अर्ब ६३ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ ।
बृहत दाङ उपत्यका आयोजनाको लागि सरकारले ३३ करोड ९१ लाख रुपैयाँ रकम बिनियोजन गरेकोमा ५६ करोड ९७ लाख रुपैयाँ बढी खर्च भएको छ । उक्त आयोजनाले चालु आवमा जम्मा ९० करोड ८८ लाख रुपैयाँ रकम खर्च गरेको अर्थमन्त्रालयको तथ्यांक छ ।
त्यसैगरी माथिल्लो त्रिशुली (३ए) का लागि सरकारले यो आर्थिक वर्षमा ६८ करोड बजेट छुट्याएको थियो । उक्त आयोजनाले २१ करोड २० लाख बढी खर्च गरेको देखिन्छ । तर यस आयोजनाले जम्मा ८९ करोड २ लाख रुपैयाँ खर्च गरेको अर्थमन्त्रालयको तथ्याङकले देखाएको छ ।
मर्मत सम्भार आयोजनाले बजेटभन्दा ८ करोड ७३ लाखखर्च गरेको छ । सो आयोजनाले ५६ करोड ४० लाख खर्च गरिसकेको छ । यस आयोजनका लागि सरकारले ४७ करोड ६७ लाख बजेट छुट्याएको थियो ।
दक्षिण एशिया पर्यटक पूर्वाधार विकास आयोजनको लागि सरकारले ६४ लाख बजेट बिनियोजन गरेकोमा ५ करोड ५ लाख रुपैयाँ बढी खर्च गरेको छ । सो आयोजनाले ५ करोड ६९ लाख खर्च गरिसकेको तथ्यांकमा छ ।
बजेटभन्दा बढी खर्च गर्ने अर्को आयोजनामा धोबिखोला कोरिडोर सुधार आयोजना रहेको छ । यस आयोजनाको लागि सरकारले १८ करोड ५७ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तर, सो आयोजनाले ३ करोड ८६ लाख रुपैयाँ बढी खर्च गरेको पाइएको छ । यस आयोजनाले हालसम्म २२ करोड ४३ लाख रुपैयाँखर्च गरिसकेको छ ।
त्यस्तै सडक क्षेत्र विकास आयोजनाले बजेटभन्दा १ करोड ८४ लाख रुपैयाँ बढी खर्च गरेको छ । यो आयोजनाले १८ करोड ३० लाख खर्च गरेको छ । उक्तआर्थिक वर्षमा आयोजनाको लागि सरकारले १६ करोड ४६ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।
नेपाल–भारत सीमा एकीकृत जाँचचौकी विकास आयोजनाको लागि सरकारले ६२ लाख रुपैयाँ रकम छुट्याएकोमा ११ लाख बढी खर्च गरेको छ । सो आयोजनाले ७३ लाख रुपैयाँ बजेट खर्च गरेको अर्थमन्त्रालयको तथ्यांक छ ।
प्रतिक्रिया