NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

बजेट अभावले ७६ खानेपानी योजना अधुरै

पर्वत । लागत अनुमानअनुसार बजेट विनियोजन नहुँदा पर्वतका छ दर्जनभन्दा बढी खानेपानी योजना अधुरै छन् । एक घर एक धारा पु-याउने लक्ष्यसहित विसं २०७५ मा बढीमा दुई वर्षभित्र सक्नेगरी सुरु गरिएका करोडौँ लागतका ती आयोजना दशकौँ बितिसक्दा पनि बजेट अभावमा अलपत्र बनेका हुन् ।

जिल्लाका सातवटै पालिकामा रहेका ती योजनालाई पूर्णता दिन तीनै तहका सरकारले पर्याप्त बजेट विनियोजन नगरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । उक्त कार्यालयका इञ्जिनियर शिवशङ्कर शाहका अनुसार हाल जिल्लाभर रु तीन करोडदेखि रु २० करोड लागत अनुमानका ७६ खानेपानी आयोजना छन् । ती सबै आयोजना सम्पन्न गर्न चालु वर्षको दररेटअनुसार करिब रु तीन अर्ब बजेट आवश्यक पर्दछ ।

मन्त्रालयबाट आउने बजेट बर्सेनि पाँच प्रतिशतभन्दा बढ्न सकेको छैन । सबै आयोजना आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न हुनुपर्ने हो । ती आयोजनाको लागत अनुमानअनुसार काम हुन बर्सेनि कम्तीमा रु ५० करोड बजेट आवश्यकपर्नेमा चालु वर्ष झण्डै रु १३ करोड मात्रै आएको उनले बताए । ‘यो वर्ष आवश्यक बजेटको पाँच प्रतिशत पनि  बजेट छैन,’  इञ्जिनियर शाहले भने, ‘हामीले सबै काम द्रुतगतिमा गर्छौं भनेर भएन । सबै आयोजना पाइपलाइनमै छन् । बजेटै नभएपछि काम अघि बढाउन नसक्दा थुप्रै आयोजना सम्पन्न नहुँदै भग्नावशेषमा परिणत भएका छन् । बजेट अभावका कारण फिल्डमा खटिने कर्मचारीलाई दैनिक भत्ता दिनसमेत सकिएको छैन ।’

सञ्चालित अधिकांश आयोजना उपभोक्ताको सहलगानीमा सञ्चालित छन् ।  प्रत्येक आयोजनामा उपभोक्ताले २० प्रतिशत श्रमदान र मर्मतसम्भार कोषमा एक प्रतिशत नगद जम्मा गर्नुपर्छ । सञ्चालित अधिकांश आयोजनाका उपभोक्ता समितिले आफ्नो जिम्मेवारीको काम सके पनि बजेट अभावकै कारण कार्यालयले काम अघि बढाउन नसकेको हो । घरघरै पानी पाउने आशामा श्रमदान र मर्मतसम्भार कोष जम्मा गरेका वाहाकी शालिग्राम खानेपानी आयोजनाका उपभोक्ता पानीको आसैआसमा पुस्ता बित्न लागेको भन्दै निराश बनेका छन् ।

दुई वर्षमा सक्नेगरी आर्थिक वर्ष २०७५/७६ मा सुरु भएको बृहत् शङ्करपोखरी खानेपानी आयोजनाको लागत अनुमान रु १८ करोडको थियो ।  उक्त आयोजनाका लागि बर्सेनि रु १८ देखि २० लाखका दरले मात्रै बजेट प्राप्त भए पनि अहिलेसम्म सम्पन्न हुन नसकेको स्थानीयवासी कमल भुसालले बताए ।

तीन वर्षमा सक्नेगरी २०७५ मा सुदूर दक्षिणमा सुरु गरिएको वहाकी शालिग्राम खानेपानी आयोजनाको काम नसक्दै जीर्ण बनेको छ । वाहाकी र शालिग्रामका दुई सय ५० घरधुरीलाई एक वर्षमा घरघरै धारा पु¥याउने लक्ष्यसहित सुरु गरिएको आयोजना अपुरो बनेको हो । यो आयोजनालाई चालु वर्ष रु १० लाखमात्रै बजेट रहेको कार्यालयले जनाएको छ । विसं २०६४ मा सुरु भएको मोदी गाउँपालिका–६ को चित्रे–तिलाहार खानेपानी आयोजना पनि निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको उपभोक्ताको गुनासो थियो ।

उक्त आयोजनाका लागि चालु वर्षमा रु १८ लाख मात्रै बजेट विनियोजन भएको छ । विसं २०७१ मा रु आठ करोड लागत अनुमान गरी सुरु गरिएको लुङ्खु खानेपानी आयोजना बजेट अभावकै कारण अलपत्र बनेको स्थानीय जीवन उच्चै ठकुरीले बताए।

दक्षिण पर्वतको पैँयु गाउँपालिकाको केन्द्र हुवासमा सुरु गरिएको हुवास छहरा खानेपानी आयोजनाको हालत पनि उस्तै छ । झण्डै आठ हजार स्थानीयवासीलाई घरघरै धारा पु¥याउने लक्ष्यसहित सुरु गरिएको उक्त आयोजना डेढ दशक बितिसक्दा पनि पूरा हुन नसकेकाले स्थानीयवासी  आक्रोशित भएका छन् । एक घर एक धारा पु¥याउने सङ्घीय र प्रदेश सरकारको लक्ष्य भए पनि पर्याप्त बजेट नहुँदा १५ वर्षअघिदेखिका योजनासमेत पूरा हुन नसकेको इञ्जिनियर शाहले बताए ।