NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

चैतमै सकिए ९५ प्रतिशत योजना

काठमाडाैं । चालु आर्थिक वर्षको झण्डै साढे दुई महिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन् । यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् ।

जैमिनीमा चालु आवमा विनियोजन भएको बजेट तथा कार्यक्रममध्ये ९५ प्रतिशत काम सकिएको छ । बाँकी केही ठूला आयोजनाको काम चलिरहेका छन् । बहुवर्षे कार्यक्रमको भुक्तानी दिन बाँकी छ । नगर र वडास्तरका सबै योजनाको काम चैत मसान्तभित्रै सकिएकाले कर्मचारी र जनप्रतिनिधि फुर्सदिला भएका हुन् । जैमिनीले चालु आवमा विनियोजन भएका कार्यक्रम सम्झौताका लागि मङ्सिर मसान्तको समय तोकेको थियो ।

केही ढिलागरी सम्झौता भएकासमेत चैत मसान्तमा अधिकांश योजनाको भुक्तानी फरफारकको काम सकिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । ‘नगरस्तरका झण्डै चार सय योजनामध्ये ९५ प्रतिशतको काम सकिएर फरफारक भएको छ,’ गिरी भन्छन्, ‘समपुरकका केही योजना बाँकी छन्, बहुबर्षे योजनाको कामबाहेक सबै काम सकेका छौँ ।’

सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भइरहेका तीन सडक र एक खानेपानी आयोजनाको काम चलिरहेको योजना अधिकृत प्रेम सापकोटाले बताए । त्यो बाहेक पाँच वटा झोलुङ्गे पुल बनाउने योजना सञ्चालनमा छन् । गत वर्षका गरी २५ विद्यालय भवन निर्माणाधीन छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बनिरहेका विद्यालय भवनमध्ये चारवटा भवनको काम सकिएर फरफारक भएका छन् । झोलुङ्गे पुल, विद्यालय भवन र समपुरकका सडक र खानेपानीबाहेक सबै योजना कार्यान्वयन सम्पन्न भएका छन् । असारको मसान्त नजिकिँदै गर्दा भीडभाड हुने नगर कार्यपालिकाको कार्यालयमा यो वर्ष भीड हुने छैन । ‘आगामी वर्षको तयारीका लागि पर्याप्त समय उपलव्ध भएको छ, असारे विकास अन्त्य प्रयास थालेका हौँ, केही हदसम्म सफल भएका छौँ”, नगर उपप्रमुख हरिहर शर्माले भने ‘मङ्सिर र चैत मसान्तको समयसिमाले काम द्रुत भए ।’ उपभोक्ता समितिबाहेक ठेक्कामा गर्नुपर्ने काममा भने समयसिमा आयोजना सम्झौताकै समयमा तोकिने हुनाले त्यसको प्रभाव नपरेको शर्माले बताए ।

जैमिनीका दशवटै वडास्तरका योजनाको काम सकिएको छ । कार्यक्रम सम्झौता नै हुन नसकेका केही योजनाको रकमान्तर गरेर काम भइरहेको गिरी बताउछन् । ‘वडामा पनि हामी लक्ष्यको नजिक छौँ, रकमान्तर भएकाबाहेक सबै काम सकिए,’ उनले भने, ‘उपभोक्ता पनि उत्साहित भएर काममा लाग्नुभएकाले यो सफल भएको हो ।’

नगरपालिकाले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदान र नगरको सञ्चितकोष लगायत परिचालन गरेर योजनाको भुक्तानी समयमै दिएको हो । सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाट र समानीकरण अनुदान कमी आएमा ठूला योजनामा असर पर्ने प्रमुख प्रशासकीय अधिकृत गिरी बताउछन् ।