NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बालेनको अराजनीतिक टिप्पणी– नयाँ, पुराना सबै नेता चोर हुन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले राजनीतिक दलका नेताहरूप्रति अत्यन्तै कटु, अमर्यादित र अराजनीतिक टिप्पणी गरेका छन् । राजनीतिक दल र तिनका नेताप्रति पटक–पटक खनिँदै आएका बालेनले ‘नयाँ, पुराना सबै नेताहरू चोर’ भएको अराजनीतिक टिप्पणी गरेका हुन् ।

अराजनीीतक भाषामा बालेनले नेतामाथि टिप्पणी गरेपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

उनले लेखेका छन्, ‘नयाँ, पुराना सबै नेताहरू चोर हुन् ।’ बालेनको भनाइमा नयाँ दल र पुराना दलका कुनै पनि नेतालाई देशको माया छैन ।

संघीय सरकारबाट एथेष्ट सहयोग नपाएपछि बालेन केही समयदेखि सरकार र राजनीतिक दलप्रति क्रुद्ध छन् । संघीय सरकारसँगको यही टसलका कारण केही समयअघि बालेनले सिंहदरबारको फोहोर नउठाउने निर्णय लिएकोमा पछि सर्वोच्च अदालतबाट उचित नभएको फैसला आएको थियो ।

कुनै विषयमा असन्तुष्टि रहेलगत्तै त्यसबारे सामाजिक सञ्जालमा प्रतिक्रिया जनाइहाल्ने बालेनको स्वभाव छ । बालेनले पछिल्लो टिप्पणीमा नयाँ भनेर राष्ट्रिय स्वतन्त्र पार्टी र पुराना भनेर कांग्रेस, एमाले, माओवादीलगायत दललाई संकेत गरे पनि कुन विषय र सन्दर्भमा यस्तो आक्रोसपूर्ण अभिव्यक्ति दिएका हुन् भन्नेचाहिँ खुलेको छैन ।

दलहरूलाई लक्ष्य गरेर बालेनको उत्तेजक स्ट्याटस आएपछि सामाजिक सञ्जाल तरंगित बनेको छ । यो समाचार तयार गर्नुभन्दा १० घण्टाअघि फेसबुकमा पोस्ट् बालेनको स्ट्याटसमा अहिलेसम्म १ लाख ९ हजारले लाइक र २३ हजारले कमेन्ट गरेका छन् । ४ हजारले त त्यसलाई सेयर नै गरेका छन् । फेसबुकमा कमेन्ट गर्नेमध्ये कतिपयले सत्य वचन बोलेको भन्दै बालेनको बचाउ र समर्थन गरे पनि केहीले पदीय मर्यादा ख्याल गर्न सुझाएका छन् ।