NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कांग्रेस बैठकमा चर्काचर्की

काठमाडौं । कांग्रेसमा नवनियुक्त मन्त्रीमा भागबन्डाको विषयलाई लिएर असन्तुष्टि बढेको छ । बुधबार नै टुंगो लागेका तीन मन्त्रीले शपथ लिनुअघि बिहीबार बिहान सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा मन्त्रिपरिषद् समावेशी हुन नसकेको भन्दै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा सहमहामन्त्री जीवन परियारले प्रश्न गरेका हुन् ।

इतर समूह (शेखर कोइराला–गगन थापा)ले तीन मन्त्री र एक राज्यमन्त्री पाउने पूर्वसहमति भए पनि बुधबार सो समूहका दुई मन्त्री मात्रै समावेश गरिएको थियो । बैठकमा सहभागी पदाधिकारीका अनुसार केहीबेर चर्काचर्की नै भएको थियो । महामन्त्रीद्वयले आफूहरूलाई समेत जानकारी नदिई मन्त्रीको नाम सिफारिस गरेको भन्दै देउवासमक्ष असन्तुष्टि राखेका थिए । ती पदाधिकारीका अनुसार बैठकमा महामन्त्री थापाले कांग्रेसबाट मन्त्री पठाँउदा समावेशी नभएकाले बाहिर प्रश्न उठेको बताएका थिए ।

‘सबैको सल्लाहमा के–कसरी उपयुक्त हुन्छ भन्ने सल्लाह हुनुपथ्र्यो । पार्टीको निर्णयमा सबैले अपनत्व लिने अवस्था आउनुपथ्र्यो । हामीसँगै पनि कुनै सल्लाह नै नगरी नाम पठाइयो । न प्रदेशमा मन्त्री बनाउँदा छलफल भयो न संघमा नै । यसरी कांग्रेसको समावेशितामाथि नै प्रश्न उठाउने अवस्था आउनु उचित होइन,’ महामन्त्री थापाले बैठकमा भनेका थिए ।

सहमहामन्त्री जीवन परियारले विधानको व्यवस्थाअनुसार दलितसहित अन्य समुदायको उचित प्रतिनिधित्व गराउन चुकेको भन्दै गुनासो गरे । उनले आठ मन्त्री सरकारमा पठाउँदा सीमित समुदायको मात्रै प्रतिनिधित्व हुनु अन्य क्लस्टरका लागि न्यायसंगत नभएको बताए । विशेषगरी दलित समुदायको प्रतिनिधित्व हुन नसकेकोमा उनको जोड थियो । परियार शेखर–गगन समूहबाट मन्त्रीको आकांक्षी थिए । ‘कांग्रेसबाट आठ मन्त्री बन्दा पाँचजना खस–आर्य र तीनजना आदिवासी र एक मात्रै महिलाको प्रतिनिधित्व भएको छ । विधानको व्यवस्थाअनुसार समेटिनुपर्ने अरू क्लस्टरलाई समावेश नगरी प्रश्न उठ्ने अवस्था किन बनाइयो ? यो न्यायसंगत भएन । विधानको भावनाअनुसार दलित, महिला, पिछडिएको क्षेत्र, थारूलगायतलाई नसमेट्दा समावेशिताको प्रश्न उठेको छ,’ परियारले बैठकमा भनेका थिए ।

महामन्त्रीसहितका पदाधिकारीबाट प्रश्न उठेपछि सभापति देउवाले गठबन्धन सरकार भएकाले सबैको प्रतिनिधित्व हुन नसकेको जवाफ दिएका थिए । सरकारमा प्रतिनिधित्व हेरफेर भइरहने भन्दै आगामी दिनमा समेटेर लैजाने सभापति देउवाको भनाइ थियो । ‘कांग्रेस एक्लै सरकारमा छैन । गठबन्धन सरकारमा आफ्नै बाध्यता हुन्छन् । अहिले सबैलाई समेट्न सकिएन । सरकार आलोपालो चल्छ, मन्त्रीहरूको हेरफेर हुन्छ । त्यसवेला अवसर आउँछ । आगामी दिनमा सबैलाई समेटेर लैजाने प्रयास हुनेछ,’ उनको जावाफ थियो ।

पदाधिकारी बैठकमा छिट्टै विभागलाई पूर्णता दिने र भ्रातृ संस्थालाई पूर्णता दिने विषयमा पनि छलफल भएको थियो । साथै बिहीबार नै शेखर–गगन समूहका दोस्रो तहका नेताहरूले कांग्रेसमा सुधारबारे युवा भेला आयोजना गरेर नेतृत्वमाथि सच्चिन दबाब दिएका थिए । गौशालामा भएको भेलामा पार्टीमा सुधारको आवश्यकताबारे छलफल भएको नेता गुरुराज घिमिरेले जानकारी दिए । नेताहरूले भेलामा नेतृत्वले पार्टी पद्धति भुल्दै गएको आरोप लगाएका थिए । उनीहरूले कांग्रेसमा तत्काल सुधारको आवश्यकता रहेको निष्कर्ष निकालेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।