NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बयान जस्ताको तस्तै नलेखे आत्मदाह गर्ने बिचौलियाको धम्कीपछि तानिए ‘हाई प्रोफाइल’

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगीमा संलग्न तीनजना गत १२ चैतमा पक्राउ परेलगत्तै उनीहरूसँग जोडिएका उच्चपदस्थहरू सतर्क भए । आफ्नो नाम पोलिने चिन्ता उनीहरूलाई थियो । त्यसैले छिटो अनुसन्धान टुंग्याएर बुझाउन भोलिपल्टैदेखि प्रहरीमाथि दबाब दिन थालियो ।

ठूला नेताबाटै दबाब आएपछि प्रहरीले तत्कालै बयानको प्रक्रिया अघि बढायो । एक पूर्वसांसदले पक्राउ परेका अभियुक्तलाई भेटेरै पैसा फिर्ता गराइदिने आश्वासन दिँदै नेताको नाम बयानमा नलिन आग्रहसमेत गरेका थिए । केही पैसा फिर्ता पनि गरिदिए ।

सुरुमा बिचौलियाहरू सानु भण्डारी, केशव दुलाल, टंक गुरुङ पक्राउ परेका थिए, तीन दिनपछि सागर राई पनि समातिए । दुलाल, गुरुङ र राईले सुरुमा इन्कारी बयान दिए भने भण्डारीले ‘कसैलाई नछाड्ने’ अडान लिए । बयानका क्रममा उनले आफूले पैसा बुझाएका सबै नेता र कर्मचारीका नाम लिए । तर, प्रहरीले उनको बयान लिपिबद्ध गरेन । बबरमहलस्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान भएको थियो ।

बयानका क्रममा प्रश्नोत्तर गरी बोलिएका कुरा लिपिबद्ध गरी त्यसमा हस्ताक्षर गराइन्छ । जहाँ भण्डारीले आफूले भनेअनुसार बयान नलेख्ने हो भने ‘सरकारी वकिल कार्यालयमै आत्मदाह गर्ने’ धम्की दिए । त्यसपछि बयान कक्षमा सन्नाटा छायो । प्रहरी र सरकारी वकिलले केही दिनका लागि बयान नै रोके ।

भण्डारीले एमाले सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईलगायतकोे नाम लिएका थिए । ती नामले प्रहरी झस्किएको थियो । प्रहरीमाथि बयानमा उच्चपदस्थको नाम हटाउन निरन्तर दबाब थियो भने एकथरी प्रहरी यो मुद्दालाई संगठित अपराध कसुरमा लगेर विस्तृत अनुसन्धान गराउने पक्षमा थियो । तर, सरकारी वकिल कार्यालयले संगठित अपराधमा नलगी छिटो मुद्दा बुझाउने प्रक्रिया अघि बढायो ।

अनुसन्धानको प्रतिवेदन बनाउने तयारी हुँदै गर्दा २९ चैतमा गिरोहका सदस्यमध्येका एक सन्देश शर्मा आफैँ प्रहरीमा उपस्थित भए । उनको बयान लिएर तत्काल मुद्दा बुझाउन नसकिने भएपछि बल्ल सरकारी वकिल कार्यालय ठगीसँगै संगठित अपराधमा मुद्दा अघि बढाउन तयार भयो । ठगीमा मात्र मुद्दा चलाउँदा प्रहरीले २५ दिनभित्र अदालतमा अभियोग पुर्‍याइसक्नुपर्ने हुन्छ भने संगठित अपराधमा ६० दिनसम्मको समय पाउँछ ।

‘संगठित अपराध कसुरमा जोडिएपछि यो मुद्दाले नयाँ मोड लियो,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले भने, ‘अभियुक्तहरूले हाई प्रोफाइल व्यक्तिको नाम मात्र लिएनन्, त्यसको प्रमाण पनि दिए, दबाब आए पनि प्रहरी पछि हट्नै नसक्ने अवस्था आयो ।’

बिचौलियामध्येका एक भण्डारीले बोलेअनुसार बयानमा नलेखे जे पनि गर्न सक्ने भन्दै धम्क्याएकाले प्रहरी र सरकारी वकिलमाथि दबाब बन्यो । त्यसपछि उनकै बयानका आधारमा प्रहरी प्रमाण संकलनतर्फ केन्द्रित भयो । बयानअनुसारको आर्थिक कारोबार प्रमाणित हुँदै गएपछि यो मुद्दामा एकपछि अर्का ‘हाई प्रोफाइल’ तानिन थाले ।

१९ वैशाखमा प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ ग¥यो । भोलिपल्ट सचिव टेकनारायण पाण्डे र एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप समातिएपछि यो मुद्दाले तरंग ल्यायो । उनीहरूको पक्राउले यसमा संलग्न अन्य उच्चपदस्थ थप त्रसित बनेका छन् ।

स्रोतका अनुसार भण्डारी खुलेसँगै अन्य अभियुक्तले पनि बयानमा प्रहरीलाई सघाएका छन् । प्रहरीमाथि दबाब नपरेमा अरू धेरैजना तानिने सम्भावना छ । ‘अन्य केही उच्चपदस्थको पनि नाम आएको छ, तर प्रमाणले त्यसलाई सपोर्ट नगरेसम्म पक्राउ पुर्जीको प्रक्रिया अघि बढेको छैन,’ प्रहरी स्रोतको दाबी छ ।

जिल्ला प्रहरी परिसर काठमाडौैंका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धानका धेरै काम बाँकी रहेको र अनुसन्धानमा खुलेका सबै विषय बाहिर ल्याउन नमिल्ने बताए । ‘यो मुद्दामा अनुसन्धान गर्नुपर्ने विषय धेरै छन्, त्यसकारण प्रहरीले तीव्रताका साथ अनुसन्धान अघि बढाएको छ, थप व्यक्तिको संलग्नता त्यससँगै खुल्दै जाला,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

खाणविरुद्ध किन जारी भएन पक्राउ पुर्जी ?