NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

खाणविरुद्ध किन जारी भएन पक्राउ पुर्जी ?

काठमाडौं । पक्राउ परेका अभियुक्तले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको समेत नाम बयानमा लिएका छन् । तर, प्रमाण नभेटिएको भन्दै उनीविरुद्ध पक्राउ पुर्जीको प्रक्रिया भने अघि बढेको छैन । बयानमा आएको विवरणअनुसार गिरोहलाई सघाएको प्रमाणको खोजीमा प्रहरी छ ।

बालकृष्ण पन्थी कार्यलदको प्रतिवेदन कार्यान्वयनका लागि भनेर आफूहरूले तत्कालीन गृहमन्त्री खाण र सचिव पाण्डेलाई पैसा बुझाएको सानु भण्डारीको दाबी छ । उनले पैसा बुझाएको मितिसमेत टिपेर राखेका छन् । एक करोड २४ लाख बुझाएको दाबी छ । त्यसको मितिसमेत उनले प्रहरीमा दिएका छन् । नगद पैसा दिएको बताएपछि त्यसको प्रमाण फेला पार्न प्रहरीलाई सकस परेको छ ।

खाण मन्त्री रहेका वेला ठगी गर्ने गिरोहलाई सहयोग पुग्ने गरी गृह मन्त्रालयबाट केही नीतिगत निर्णय पनि भएको स्रोत बताउँछ । पहिलो, १९ मंसिर ०७८ मोरङ र झापा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी नेपालमा बाँकी रहेका भुटानी शरणार्थीको सम्बन्धमा मन्त्रिपरिषद्का विभिन्न निर्णय कार्यान्वयन गर्न भनिएको छ । १३ मंसिर ०७८ मा बसेको मन्त्रिपरिषद्को बैठकले स्वेच्छिक स्वदेश फिर्तादेखि तेस्रो देशमा पुनस्र्थापनासम्बन्धी निर्णय कार्यान्वयन गर्न भनिएको छ । पुनस्र्थापनसम्बन्धी सोही विषय देखाएर बिचौलिया समूहले प्रक्रिया अघि बढेको भन्दै विश्वासमा पारेका थिए ।

त्यस्तै, २७ जेठ ०७९ मा झापाका प्रमुख जिल्ला अधिकारीलाई लिखित दिएर बिचौलियालाई सहयोग गरिएको थियो । छुट शरणार्थीको विषयमा अध्ययन गर्न झापाका सहायक सिडिओको अध्यक्षतामा बनेको समितिको म्याद दुई महिना थपिएको थियो । गृहसचिवस्तरीय निर्णयका आधारमा सो समिति बनेको थियो ।

बयान जस्ताको तस्तै नलेखे आत्मदाह गर्ने बिचौलियाको धम्कीपछि तानिए ‘हाई प्रोफाइल’

साथै गृहको निर्देशनको पहिलो नम्बरमा समितिले उपसमिति गठन गर्न सक्ने उल्लेख छ भने दोस्रो नम्बरमा भनिएको छ, ‘सो विषयमा (भुटानी शरणार्थी) पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठिन समितिले पेस गरेको प्रतिवेदनसमेत अध्ययन गरी छुट शरणार्थीहरूसमेतका सन्दर्भमा दीर्घकालीन रूपमा समस्या समाधान, तर व्यवस्थापनका लागि राय एवं सुझावसहित पेस गर्ने ।’

यो बुँदाबाट बिचौलिया समूहकै स्वार्थमा पत्राचार भएको पुष्टि हुन्छ । त्यति निर्णय गराउन पनि गृहको नेतृत्वलाई पैसा बुझाउनुपरेको बयान पक्राउ परेका भण्डारीले दिएका छन् । तर, अहिलेसम्मको प्रमाणले नीतिगत निर्णय मात्र देखिएको र लेनदेन पुष्टि नभएकाले खाणविरुद्ध प्रहरीले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाउने आँट गरेको छैन । नेता खाणले भने शनिबार विज्ञप्ति निकाल्दै आफूमाथि लागेको आरोप आधाररहित र तथ्यहीन भएको दाबी गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीको हकमा भने छोराको खातामा पटक–पटक पैसा हालेको पुष्टि भएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । सहजीकरण गरिदिएको भनेर पत्रिकामै बोलेको कुरा र अभियुक्तसँग सँगै हिँडेको फोटोलाई पनि प्रहरीले उनीविरुद्धको प्रारम्भिक प्रमाण मानेको छ । गत बुधबार गृहजिल्ला अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रममा आफू निर्दाेष रहेकाले प्रहरीलाई सघाउने बताएका रायमाझी अझै फरार छन् ।

उता पैसा उठाउने बिचौलिया र पीडितबीच भएको कुराकानीमा कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाणलाई पनि पैसा बुझाएको भन्ने अडियो सार्वजनिक भएको छ । सो अडियोमाथि समेत छानबिनको माग गरी पीडितहरूले प्रहरीमा निवेदन दिएका छन् । तर, त्यसलाई पुष्टि गर्ने आधार हालसम्म नभेटिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । हालसम्म सो मुद्दामा आठजना थुनामा छन् । उनीहरूलाई थप सात दिन थुनामा राख्न आइतबार जिल्ला अदालतले म्याद दिएको जिल्ला परिसरका प्रवक्ता एसपी रिजालले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।