NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अनुसन्धान सामसुम पार्न शीर्ष नेताको दौडधुप

काठमाडौं ।  भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने संगठित गिरोहविरुद्ध प्रहरी अनुसन्धान जति गहिरो हुँदै छ, शीर्षस्थ राजनीतिक नेतृत्वमा बेचैनी उति नै बढ्दै छ ।

जनतालाई अनागरिक बनाएर मानव तस्करी गर्न पैसा उठाउने निकटस्थहरूलाई बचाउन शीर्ष नेताहरूले सार्वजनिक रूपमा एकअर्कालाई चेतावनी दिने र भित्री कोठामा भने खुसामद गर्ने प्रयास पनि गरिरहेका छन् ।

गिरोहमाथि प्रहरी हस्तक्षेप सुरु भएको डेढ महिनामा १० जना पक्राउ परेका छन् । यसमा सरकार र प्रतिपक्षी दलका शक्तिशाली व्यक्ति पनि मुछिएका छन् । सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई हिरासतमा छन् । पक्राउ पुर्जी जारी भएपछि पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी फरार छन् ।

सत्तारूढ कांग्रेसका पनि ‘शक्तिशाली’ पात्रको नाम यो प्रकरणमा मुछिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुलाई साढे दुई करोड र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुलाई ६ करोड घूस दिएको भन्दै गिरोहका एक सदस्यले भनेको मानिएको एक अडियो सार्वजनिक भएको छ । आरजु र मञ्जु दुवै सांसद पनि हुन् । अडियोको वैज्ञानिक परीक्षण भइरहेको प्रहरी अधिकारीहरूको भनाइ छ ।

मंगलबार पनि यो गिरोहका थप २ सदस्य गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । यसअघि पक्राउ परेका ८ जनाको बयान ‘करिब सकिएको’ प्रहरी अधिकारीहरूले बताएका छन् । आरोपितहरूले आफूहरूबाट पैसा लिएर पनि काम नगरेको भन्दै रायमाझी र पाण्डे मात्र होइन, आरजु र खाँणलगायतको नाम लिइसकेका छन् ।

बयान र अनुसन्धानबाट खुलेका तथ्य/प्रमाणको सिलसिला मिलाएर प्रहरी प्रतिवेदन लेखन अघि बढ्न थालेपछि शीर्षस्थ नेताहरू भने मुद्दा कमजोर बनाउने र समग्र अनुसन्धानलाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’ बनाउने प्रयत्नमा छन् ।

यो डरलाग्दो अपराधको गाँठो फुकाएर सर्वसाधारणबाट प्रशंसा पाएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सोमबार साँझ बालकोट पुगे । प्रहरी अनुसन्धान पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको शंका गर्दै आएका ओलीलाई गृहमन्त्रीले कुनै राजनीतिक कारणले भेटेका होइनन् । उनी आफैंले पनि कान्तिपुरसँग भने, ‘ओलीजीले नै जोड गरेपछि भेट भएको हो ।’

ओलीले पार्टी सचिव रायमाझीविरुद्धको पक्राउ पुर्जीबारे चासो र चिन्ता राखेको गृहमन्त्री श्रेष्ठको भनाइ छ । ‘नक्कली शरणार्थी मामिलामा उहाँले केही चासो र चिन्ता राख्नुभयो । खासगरी एमाले सचिव रायमाझीबारे बढी चासो राख्नुभयो, मैले आरोपितहरू कानुनी दायरामा आउनुपर्ने र त्यहीअनुसार अनुसन्धान भइरहेको बताएँ,’ उनले भने, ‘यो भ्रष्टाचार मात्र होइन, आफ्नै देशका नागरिकलाई शरणार्थी बनाउने यो धन्दा राष्ट्रघाती अपराध हो । यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसकेको छ । त्यसैले प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान गर्न दिनुपर्छ र तपाईंको पनि सहयोग चाहिन्छ भनेर आग्रह गरें, उहाँले सहयोग हुने बताउनु भएको छ ।’

अदालतबाट पक्राउ पुर्जी जारी हुँदा रायमाझी गत बुधबार अर्घाखाँचीको सन्धिखर्कमा सभामुख देवराज घिमिरेसहित सार्वजनिक कार्यक्रममा थिए । प्रहरी सुरक्षामा सन्धिखर्कबाट कपिलवस्तु हुँदै रूपन्देही आइपुग्दा पनि उनलाई पक्राउ गरिएको थिएन । रूपन्देहीबाट मात्र उनी फरार भएका हुन् । सुरुमा रायमाझीप्रति उदार देखिएको प्रहरी अहिले बल्ल कठोर देखिने प्रयासमा छ । उनी सार्वजनिक रूपमा सम्पर्कविहीन भएको एक सातापछि मंगलबार उनको सातदोबाटोस्थित निवासमा प्रहरीले छापा मारेको थियो । तर, त्यहाँ पनि उनी भेटिएनन् ।

पार्टीका जिम्मेवार पदाधिकारी, जनताबाट निर्वाचित सांसद् मानव तस्करीजस्तो गम्भीर मुद्दामा मुछिएपछि कानुनी निकायमा उपस्थित भएर आफ्ना भनाइ राख्नुपर्नेमा फरार हुँदा पनि उनको पार्टीले कुनै कारबाही गरेको छैन । बरु, उनको विषयमा ‘चासो र चिन्ता’ व्यक्त गर्दै एमाले अध्यक्ष ओलीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि दुई पटक भेटिसकेका छन् । एमाले र माओवादीको सत्ता समीकरण भत्किएपछि दाहाल–ओली सम्बन्धमा तिक्तता आएको थियो । तर, शरणार्थी प्रकरणमा एमाले सचिव फरार भएपछि दाहालसँग ओलीको भेटघाट बाक्लिएको छ ।

त्यतिमा होइन, प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्रीद्वय ओली र शेरबहादुर देउवाबीच पनि मंगलबार भेटघाट भएको छ । ‘मूल एजेन्डा अरू नै हो तर शक्तिमा भएका नेता–प्रशासकहरू पक्राउ परेको र फरार रहेको तथा अरू पनि तानिन सक्ने अवस्था बनेकाले नक्कली शरणार्थी प्रकरणमा उहाँहरूबीच छलफल नहुने कुरै भएन,’ बालुवाटारका एक अधिकारीले भने । यसरी मतदाताको सन्देशअनुसार सच्चिएर राजनीति जोगाउने भनेर केही दिन अघिसम्म सार्वजनिक अभिव्यक्ति दिएका नेताहरू अनुसन्धान फितलो बनाउने र आफन्त जोगाउने उद्यममा लागेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले त सुरक्षा र प्रशासनका उच्च अधिकारीलाई ‘विभिन्न माध्यम’ बाट कुराकानी गरेर आफ्ना मान्छे पर्ने विषयमा चासो राखेका छन् । ‘गिरोहका सदस्य भनिएका व्यक्तिले आरजुलाई साढे दुई करोड र मञ्जुलाई ६ करोड दिएको भनेको अडियो सार्वजनिक भएपछि उहाँको चासो बढेको छ । तर, यो प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नाम मुछिएको विषय उहाँलाई भित्री रूपमा पहिले नै थाहा थियो,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘तर उहाँले खासगरी आरजु म्याडमका विषयमा धेरै चासो राख्नुभएको छ ।’ यसरी ५ पटक प्रधानमन्त्री भइसकेका नेता आफ्नै परिवारका सदस्यलाई बचाउन सक्रिय हुँदा अनुसन्धान प्रभावित हुन सक्ने भन्दै गृहका अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

राजनीतिक नेतृत्व मात्र होइन, यो विषयमा प्रहरीकै उच्च अधिकारीहरू पनि आरोपितलाई संरक्षण गर्ने प्रयासमा लागेका छन् । गृह मन्त्रालयमा रहेका बेला गिरोहका लागि काम गरेको आरोपमा सचिव पाण्डे प्रहरीको सिंहदरबार हिरासतमा छन् । उनीसँग बयान चलिरहेको छ । तर, एआईजी श्याम ज्ञवालीले शनिबार र सोमबार उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा ‘आतिथ्यता’ दिएका छन् । ‘तोकिएको कारागारमा रहेका आरोपितलाई अदालत लग्न सकिन्छ तर माथिका प्रहरी हाकिमले आफ्नो कार्यालयमा बोलाएर सत्कार गर्न कसरी मिल्छ ? यस्तो प्रचलन हामीले देखेका थिएनौं,’ प्रहरीकै एक अधिकारी भन्छन् । यो विषयमा प्रतिक्रिया लिन खोज्दा ज्ञवालीसँग सम्पर्क हुन सकेन ।  कान्तिपुर दैनिकमा खबर छ ।