NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर २८ गते

सुरक्षा परिषद्को परिचय र बहुस्तरीय शासनको रूपमा संयुक्त राष्ट्र संघ

काठमाडौं । जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपसचिव डिजन भट्टराई(पिएचडी) ले सुरक्षा परिषद् र संयुक्त राष्ट्र संघको बहुस्तरीय शासनबारे प्रश्नको समाधान सुझाउनुभएको छ ।

संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद्को संरचना र प्रमुख कार्यहरु उल्लेख गर्दै बहुराष्ट्रिय शासनको नमूनाको रुपमा संयुक्त राष्ट्र संघको समीक्षा गर्नुहोस । ५+५=१०

१. विषय प्रवेश

विश्व शान्तिको आकांक्षालाई परिपूर्ति गर्न सन् १९४५ मा तत्कालीन समयमा विश्वका ५१ वटा मुलुक र हाल विश्वका लगभग सबै मुलुकहरु सदस्य रहेको संयुक्त राष्ट संघ परराष्ट्रिय स्तरको शासकीय गतिबिधि सञ्चालन गर्ने निकाय हो । यसका विभिन्न अंग मध्ये सुरक्षा परिषद् एउटा शक्तिशाली अंगको रुपमा रहेको छ । विश्वका सबैजसो राष्ट्रहरु यसका सदस्य रहने र यसले गरेका निर्णयहरुको मान्नु पर्ने नैतिक दायित्व भएकाले यो बहुस्तरीय शासन सञ्चालनको नमूनाका रुपमा रहेको पाइन्छ ।

२. संयुक्त राष्ट संघ, सुरक्षा परिषद्को संरचना र प्रमुख कार्यहरु :

संयुक्त राष्ट संघ, सुरक्षा परिषद्को संरचना देहाय बमोजिम रहेका छन् :

  • संयुक्त राष्ट संघ, सुरक्षा परिषद्मा ५ स्थायी र १० अस्थायी गरी जम्मा १५ राष्ट सदस्य रहेका हुन्छन् । यस मध्ये चीन, फ्रान्स, रुस, बेलायत र संयुक्त राज्य अमेरिका स्थायी सदस्य राष्ट्र हुन भने अन्य १० वटा अस्थायी सदस्यको निर्वाचन २ वर्षका लागि महासभाले गर्छ ।
  • निर्णयका लागि प्रक्रियागत विषयमा १५ मध्ये जो कोही ९ सदस्यको सकारात्मक मत र सारवान विषयमा सबै स्थायी सदस्यसहित ९ मत आवश्यक पर्दछ । स्थायी सदस्यहरुमा निषेधाधिकार (Veto Power) को अधिकार रहन्छ, अर्थात् भिटो पावर भएको मुलुकले कुनै पनि विषयमा आफ्नो फरक मत राखेमा त्यो विषय निर्णय हुन सक्दैन् ।

प्रमुख कार्यहरु

  • अन्तर्राष्टिय शान्ति सुरक्षा कायम गर्नु,
  • शस्त्रास्त्र नियन्त्रण र विवाद समाधान,
  • शान्तिका लागि जोखिम पहिचान र कारवाही,
  • परिषद्का निर्णयहरुको कार्यान्वयन,
  • महासचिव र अन्तराष्ट्रिय न्यायलयका न्यायधीश सिफारिस गर्नु,
  • नयाँ सदस्य राष्ट्रको सिफारिस गर्नु यसका प्रमुख कार्य हुन् ।

३. बहुराष्ट्रिय शासनको नमूनाको रुपमा संयुक्त राष्ट्र संघ

बहुराष्ट्रिय शासनको नमूनाको रुपमा संयुक्त राष्ट्र संघलाई देहाय बमोजिम समीक्षा गर्न सकिन्छ :

  • संयुक्त राष्ट्र संघ शासनको पराराज्यीय तहको सबैभन्दा माथिल्लो तह हो । यसमा विश्वका सबै मुलुक सदस्य रहेका छन् ।
  • यसले प्रयोग गर्ने अधिकार सदस्य राष्ट्रहरुले यसको बडापत्रलाई स्वीकार गरी त्यसमार्फत् प्रदान गरेका हुन्छन् ।
  • संयुक्त राष्ट्र संघको खर्च प्रत्येक सदस्य राष्ट्रहरुले गर्ने योगदानबाट जुटाउने गरिन्छ ।
  • यसको कर्यक्षेत्र समग्र विश्व (विश्वका सबै मुलुकहरु) भएको हुँदा संयुक्त राष्ट्र संघको शासनलाई विश्व शासन (Global Governance) पनि भनिन्छ ।
  • यो विश्वव्यापी स्तरका साझा समस्याहरुको छलफल, अन्तरक्रिया तथा वार्ता एवं सम्झौता मार्फत् समाधान खोजी गर्ने अन्तराष्ट्रिय फोरम हो ।
  • संयुक्त राष्ट्र संघको निर्णयहरु सदस्य राष्ट्रहरुले पालना गर्नु उनीहरुको नैतिक दायित्व हुन्छ तर त्यस्ता निर्णयहरु बलपूर्वक (वाध्यकारी तवरले) कार्यान्वयन गराउन सकिन्न ।
  • यसका निर्णयहरु कार्यान्वयन गराउने आप्mनै कुनै प्रशासन, प्रहरी, बन्दीगृह वा अन्य संयन्त्रहरु हुँदैनन् ।
  • त्यसैले संयुक्त राष्ट्र संघको शासन प्रणाली अनौपचारिक शासनको मान्यतामा आधारित हुन्छ भन्न सकिन्छ ।

४. निष्कर्ष

विश्वमा शान्ति कायम गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट संघको महत्वपूर्ण अंगको रुपमा सुरक्षा परिषद् रहेको छ । विश्वका शक्ति सम्पन्न मुलुकहरु बीच आपसी समन्वय र समझदारीमा कार्य गर्ने गरी संरचित यस परिषद्ले विश्व शान्ति कायम गराउने सन्दर्भमा ठूलो भूमिका खेल्छ । विश्वका सम्पूर्ण राष्टहरु सदस्य भएका र यसले बनाएका कानुनहरुलाई मान्नु पर्ने नैतिक दायित्व बोकेकाले नै यसलाई बहुस्तरीय शासनको नमूनाका रुपमा लिन सकिन्छ ।

हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

लोक सेवा परीक्षा तयारीसँग सम्बन्धित यसअघि प्रकाशिन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्