NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

‘थप अन्य उच्चपदस्थविरुद्ध स्वतन्त्र प्रमाण भेटिएनन्’ 

काठमाडौं । यो मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको ४८ दिन बितेको छ । प्रहरीले दक्ष अधिकृतहरूको टिम बनाएर अनुसन्धान गरिरहेको छ । तर, केही उच्चपदस्थविरुद्ध भने स्वतन्त्र प्रमाण जुट्न नसकेको प्रहरी स्रोत बताउँछ ।

केही पीडित तथा अभियुक्तहरूले कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाण तथा पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपानेको नामसमेत लिएका छन् । तर, उनीहरूविरुद्ध अहिलेसम्म स्वतन्त्र प्रमाण भेटिएको छैन । ‘पीडितहरूले बताएअनुसार आरजु र मञ्जुले प्रत्यक्ष पैसा लिएको भन्ने पुष्टि हुन सकेको छैन,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने, ‘अब पूर्वगृहमन्त्रीज्यूको बयानबाट केही कुरा आयो भने मात्र पत्ता लाग्ला ।’

केही परीक्षण रिपोर्ट आइनसकेकाले प्रहरीले खाणको बयान सुरु गर्न सकेको छैन । शुक्रबारदेखि बिचौलिया समूहका रामशरण केसी र गोविन्द चौधरीको बयान सुरु भएको छ ।

त्यतिखेर गृह मन्त्रालय मिलाउने भन्दै इन्द्रजितले बिचौलियाहरूसँग साढे पाँच करोड रुपैयाँ लिएका थिए । त्यो पैसा क–कसलाई बुझाए भन्ने खुल्न सकेको छैन । बयानमा उनले एकदमै असहयोग गरेको प्रहरी अधिकारीहरू बताउँछन् । ‘उनी त पेसेवर अपराधीजस्ता देखिन्छन्,’ अनुसन्धानमा आबद्ध एक प्रहरीले भने, ‘कार्यदल गठनमै उनले बिचौलिया समूहको स्वार्थअनुसार काम गराएका थिए, तर अहिले पक्राउ परेपछि केही बोलेका छैनन् ।’

प्रहरीको पछिल्लो अनुसन्धान गृह मन्त्रालयमाथि केन्द्रित छ । तत्कालीन मन्त्री खाण र सचिव पाण्डेको मिलेमतोमा पूर्वसहसचिव बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन किर्ते गरेर आठ सय ७५ नेपालीको नाम प्रमाणीकरणमा छुट शरणार्थी भनेर थपिएको थियो । गृहको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा रहेको प्रतिवेदन किर्तेमा अन्य कर्मचारीको पनि संलग्नताको आशंका गरिएको छ । त्यतिवेला सो शाखामा कार्यरत कर्मचारीलाई बोलाउने प्रहरी तयारी छ ।

हालसम्म यो मुद्दामा १२ जना हिरासतमा छन् । जसमध्ये नौजनाको बयान सम्पन्न भइसकेको छ । प्रहरीले हाल संगठित अपराध तथा ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । किर्ते मुद्दा पनि चलाउन प्रहरीले प्रमाण संकलन गरिरहेको छ । उनीहरूमाथि मानवतस्करीको मुद्दासमेत चलाउनुपर्ने कानुन व्यवसायीले बताएका छन्, तर हालसम्मको अनुसन्धानमा मानवतस्करी मुद्दा चल्ने आधार नभएको प्रहरी अधिकारी बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष