NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

यसरी फन्दामा परे टाेपबहादुर

नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दामा संलग्नता देखिएका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । पक्राउ परेका बिचौलियाले पैसा बुझाएको बयान दिएपछि एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलविरुद्ध पनि प्रहरीले प्रमाण जुटाउँदै छ । पक्राउ पुर्जी जारी भएपछि उनका छोरा प्रतीक फरार भइसकेका छन् ।

पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझी ११औँ दिन आइतबार काठमाडौंको बुढानीलकण्ठबाट समातिएका हुन् । प्रहरीकै ‘सहयोग’मा २१ वैशाखदेखि फरार उनी अहिलेसम्म भारतमा लुकेका थिए । नयाँदिल्लीबाट पोखरा हुँदै काठमाडौं फर्किएको भोलिपल्टै रायमाझीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुढानीलकण्ठस्थित नारायण पौडेलको घरबाट पक्राउ गरिएको प्रहरी मुचुल्कामा छ ।

अर्घाखाँचीका पौडेल रायमाझीका निकट कार्यकर्ता हुन् । पक्राउ गर्न भारतमै प्रहरी टोली आएको जानकारी पाएपछि रायमाझी शुक्रबार मात्र नेपाल आएको र पछ्याउँदै पक्राउ गरिएको प्रहरी दाबी छ ।

स्रोतका अनुसार रायमाझी नयाँदिल्लीमा एक नेपाली मूलका व्यापारीको घरमा बसेका थिए । ‘उनका साढुदाइ पनि त्यहाँ रहेछन्, उनकै सहयोगमा बसेको देखियो,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘प्रहरीको टोली आएको जानकारी पाएपछि पक्राउ पर्ने डरले नेपाल फर्किएको बुझियो ।’

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ पर्दा औपचारिक रूपमा केही जानकारी नदिएको प्रहरीले रायमाझी पक्राउ पर्दा भने बुढानीलकण्ठबाट पक्राउ गरिएको भनेर प्रेस विज्ञप्ति निकालेको छ । गत २० वैशाखमा पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक हुँदा रायमाझी गृहजिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी थिए । त्यस दिन उनले आफू निर्दाेष रहेको र काठमाडौं फर्किएर प्रहरीलाई सघाउने बताएका थिए । भोलिपल्ट रायमाझीलाई पक्राउ गर्न प्रहरी टोली खटिएकोमा आफैँ उपस्थित हुने भन्दै पक्राउ नगरिदिन आइजिपी वसन्तबहादुर कुँवरलाई आग्रह गरेका थिए । सोही आधारमा आइजिपीले त्यति सुविधा दिन भन्दै टोलीलाई फर्काएकोमा उनी प्रहरीलाई झुक्याउँदै भारत भागेका थिए । आजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष