NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

शरणार्थी प्रकरण : दुई दर्जनभन्दा बढीलाई मुद्दा, २६ करोड बिगो

काठमाडौं । उच्चपदस्थ संलग्न नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान टुंग्याएको छ । पक्राउ परेका १६ सहित दुई दर्जनभन्दा बढी अभियुक्तविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ ।

१०६ जना पीडित रहेको यो मुद्दामा २६ करोड ८८ लाख ५७ हजार बिगो कायम गरी मुद्दा दायर गर्नुपर्ने प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

प्रहरीका अनुसार उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगी गरी कम्तीमा तीन मुद्दा चलाउनुपर्ने प्रहरी राय छ । केही अभियुक्तविरुद्ध लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा पनि दायर हुने सम्भावना छ ।

यद्यपि, यससम्बन्धी अन्तिम निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजाल संलग्न अभियुक्तविरुद्ध आकर्षित हुनेजति सबै मुद्दा चल्ने बताउँछन् । उनले भने, ‘अनुसन्धान प्रतिवेदन भोलि सरकारी वकिल कार्यालयमा पेस हुनेछ । पक्राउ अभियुक्तविरुद्ध कानुन आकर्षित हुनेजति सबै मुद्दा चलाइनेछ । यसको विस्तृत विवरण भोलि नै थाहा होला ।’

पक्राउ अभियुक्तविरुद्ध मुद्दा चलाउने सन्दर्भमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका उच्च अधिकारीबीच शनिबार पटक–पटक बैठक भएको थियो । बैठकमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका उच्च अधिकारी पनि सहभागी थिए । अपराधको प्रकृति हेर्दा राज्यविरुद्धको कसुर पनि आकर्षित हुने देखिएकाले अभियुक्तविरुद्ध उक्त मुद्दा पनि चलाउनुपर्ने पक्षमा सबै उच्च अधिकृत सहमत भएका थिए ।

बैठकमा सहभागी उच्च अधिकृतले भने, ‘अभियुक्तविरुद्ध कस्तो मुद्दा चलाउने विषयमा दिनभर बैठक भयो । अहिले उनीहरूविरुद्ध संगठित अपराध र ठगी कसुरअन्तर्गत कारबाही अघि बढेको छ । त्यसबाहेक राज्यविरुद्धको अपराधअन्तर्गत पनि मुद्दा चलाउने हो कि भन्नेमा सबै सहमत छन् । यद्यपि, अन्तिम डिसिजन भोलि मात्रै हुनेछ । यही सन्दर्भमा भोलि बिहानै बैठक बस्नेछ ।’

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरेको ५७ दिन भएको छ । यसबीचमा १६ व्यक्ति पक्राउ परेका छन् भने १४ फरार छन् । बुधबारभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्ने हदम्याद छ । गत १२ चैतदेखि प्रहरीले यस प्रकरणमा अनुसन्धान थालेको थियो ।

यसक्रममा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता हाई प्रोफाइललाई पक्राउ गरेको छ । त्यसबाहेक धन्दामा संलग्न सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ । प्रतीक थापा, नीरज राईलगायत १४ अभियुक्त भने फरार छन् । उनीहरूलाई फरार प्रतिवादीका रूपमा मुद्दा चलाउन लागिएको छ । केही प्रमाण भेटिएका तथा संलग्नता पुष्टि हुन नसकेकाको हकमा भने पछि अनुसन्धानमा थप प्रमाण भेटिए पूरक अभियोग लैजाने गरी पहिलो चरणको अनुसन्धान प्रहरीले टुंग्याएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।