असिनापानीले अन्नबालीमा क्षति

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा गत बुधबार दिउँसो आएको असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्याएको छ ।
हिउँदे बाली भित्र्याउन नपाउदै आएको असिनापानीले खेतबारीमै गहुँ, जौं सखाप पारेपछि किसानहरू चिन्तित बनेका छन् । अहिले उनीहरु भोकै परिने हो कि भन्ने चिन्तामा छन् ।
कम उत्पादन हुने र हिउँदभरि दुःख गरेर लगाएको खेती असिनापानीले सखाप पारेपछि बालबच्चा कसरी पाल्ने भन्ने चिन्ता बढेको खप्तड छेडेदह गाउँपालिका-७ बुढाबाडाकी भीम्ला बुढाले दुःखेसो पोखे। उनले भने ‘असिनापानीले गहुँ, जौं, तरकारीमा आलु प्याज, लसुन, फलेको फलफूलमा क्षति पुग्यो ।’
खप्तड छेडेदह -६ र ७ वडाका करिब सात हजार रोपनी जग्गाको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुगेको असिनापीडित किसानले जनाएका छन् । असिनाबाट पीडित बनेका किसानले बिहान खेतबारी गएर टुलुटुलु पाकेको गहुँ र जौँ हेर्नुबाहेकको विकल्प नरहेको ओलीका कृषक बिर्ख ओलीले बताए । उनले असिनाबाट पीडित किसानलाई राहतभन्दा पनि क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
असिनापानीले वडा नं ६ को मैतोला, नाइना र सुदाडामा अन्न बाली, तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको छ भने वडा नं ७ को बुढाबाडा, लम्गाउँ, गुम्लागाउँ, कठायतबाडा, ओलीगाउँ र दानीगाउँमा नोक्सानी गरेको वडा नं ७ का वडाध्यक्ष खगेन्द्र रावतले बताए ।
क्षतिको विवरण संकलनमा सुरसार छैन
असिनापानीले खप्तड छेडेदह-६ र ७ वडाका किसानले खेतबारीमा लगाएको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको भए पनि स्थानीय सरकार पालिका र कृषि ज्ञान केन्द्र बाजुराले विवरण संकलनमा कुनै सुरसार नगरेको पीडित किसानले गुनासो गरेका छन् ।
असिनापानीले वडा नं ६ का तीन सय ८० र ७ का पाँच सय २५ परिवार गरी नौ सय पाँच परिवार प्रभावित भए पनि गाउँपालिकाले क्षतिको विवरण संकलनमा चासो नदेखाएको पीडित कृषक गौरी ओलीले बताए।
क्षतिको विवरण संकलन गर्न पालिका र कृषि ज्ञान केन्द्र बाजुराले चासो नदेखाएपछि क्षतिपूर्ति नपाउने चिन्ता कृषकमा परेको छ । असिनापानीबाट प्रभावित बनेका किसानको क्षतिको विवरण संकलनका लागि गाउँपालिका र कृषि ज्ञान केन्द्र बाजुरालाई आग्रह गरेको भए पनि कुनै चासो नदेखाएर बेवास्ता गरेको वडा नं ७ का वडाध्यक्ष खगेन्द्र रावतले बताएका छन् ।
खप्तड छेडेदह-६ र ७ वडाका नौ सय पाँच परिवारले लगाएको अन्नबाली, तरकारी र फलफूल खेतीमा करिब दुई करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । गाउँपालिका–७ का वडाध्यक्ष रावतका अनुसार वडा ६ र ७ का उक्त परिवारले करिक सात हजार पाँच रोपनीमा लगाएको अन्न, तरकारी र फलफूल खेती नोक्सानी पु-याएकाले वडा कार्यालयले प्रारम्भिक अनुमान गरेको बताए । वडा कार्यालयको अनुगमन गर्दा प्रारम्भिकरूपमा दुई करोड बढीको क्षति भएको अनुमान गरिएको उनले बताए ।
प्रतिक्रिया