दश महिनामा साढे ६ हजार युवा शक्ति बाहिरिए
रामेछाप । चालु आर्थिक वर्षको १० महिनामा रामेछाप जिल्लाबाट ६ हजार तीन सय ४९ युवा जनशक्ति बाहिरिएका छन् ।
नेपालमा रोजगारीका अवसर नभएपछि उनीहरू रोजगारीका लागि विदेश पलायन भएका हुन् । मन्थली नगरपालिकालगायत विभिन्न गाउँपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका अनुसार चालु आव २०७९/८० को साउनदेखि वैशाखसम्म रामेछापबाट ६ हजार तीन सय ४९ रोजगारीका लागि विदेश गएका हुन् ।
दश महिनाको तथ्यांकलाई हेर्दा रोजगारी गर्न रामेछापबाट झन्डै साढे ६ हजार मानिस विदेश गएको देखिन्छ । रोजगारीका लागि मलेसिया, युएई, कतार, बहराइन, कुवेत, साउदी अरब र ओमानलगायत देशमा गएको तथ्याङ्कमा उल्लेख छ । सामी कार्यक्रम अधिकृत दीपक केसीका अनुसार चालु आव २०७९/८० को साउनदेखि वैशाखसम्म जिल्ला प्रशासन कार्यालय रामेछापबाट आठ हजार आठ सय ५९ जनाले राहदानी लिएका छन् ।
यो अवधिमा रामेछापका दुई नगरपालिका र छ गाउँपालिकाबाट एक हजार दुई सय ५० महिला र पाँच हजार ९९ पुरुष वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रामेछापका अधिकृत दीपक केसीले बताए । मन्थली नगरपालिकाले आज मन्थलीमा आयोजना गरेको एक कार्यक्रममा सो कुराको सर्वाजनिक गरिएको थियो ।
मन्थली नगरपालिकाले वैदेशिक रोजगारीमा जाने आफ्ना नागरिकको वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउन सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गरिरहेको छ । मन्थली नगरप्रमुख लव श्रेष्ठले यो कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जाने नागरिकलाई आवश्यक सीप प्रदान गर्ने, विदेश गएकाको परिवारलाई पठाएको पैसालाई उत्पादनको क्षेत्रमा परिचालन गर्न प्रेरित गर्ने, विदेश गएपछि विभिन्न समस्यामा परेका र उनका परिवारलाई आवश्यक परामर्श तथा सहयोग जस्ता कार्यक्रम सञ्चालन भइरहेको बताए ।
रामेछापको मन्थली नगरपालिका, सुनापति गाउँपालिका, उमाकुण्ड गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकामा अहिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनमा ल्याएका छन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया