NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते
नक्कली शरणार्थी प्रकरण

अभियुक्तहरूको हिरासत बसाईं लम्बियो, आदेश आउन कम्तिमा एक साता लाग्ने

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित पक्राउ परेका १६ र फरार रहेका १४ जनाविरूद्ध बुधबार मुद्दा दायर भएको थियो ।

आरोपीलाई राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध र किर्तेगरी गरी चार कसुरमा अभियोग लगाइएको छ । २८ करोड बराबर बिगो माग दाबीसहित दर्ता भएको मुद्दामा प्रतिवादीहरूको बयान शुक्रबारबाट मात्रै सुनुवाइ हुनेछ । बुधबार अबेर मुद्दा दायर भएको र बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेकाले भोलिबाट बयान लिन लागिएको हो ।

यसअघि प्रहरीले ५८ दिन लामो अनुसन्धान गरी सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । पक्राउ परेका १६ जनाको बयान सकिएपछि अदालतले प्रतिवादीलाई धरौटीमा छाड्ने वा पुर्पपक्षका लागि चेल चलान गर्ने भन्ने सम्बन्धमा आदेश दिनेछ । अधिवक्ता रामनारायण बिडारीका अनुसार १६ जना अभियुक्तको बयान सकिन समय लाग्ने भएकाले अभियुक्तहरूको हिरासत बसाई लम्बिने देखिन्छ ।
‘सरकारी वकिलबाट अभियुक्तविरूद्ध मुद्दा दायर भएको छ । आज उपत्यकामा सार्वजनिक बिदा भएकाले सम्भवतः शुक्रबारबाट उनीहरूको बयान लिने काम हुनेछ । अभियुक्त धेरै जना भएकाले बयान लिन कम्तिमा २/३ लाग्न सक्छ’, उनले भने, ‘वादी/प्रतिवादीका कानुन व्यवसायीबाट थुनछेक बहस हुनेछ । थुनछेक बहस सकिएपछि मात्रै न्यायाधीशले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्नेबारे आदेश हुनेछ ।’

मुद्दा दायर गरिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बाहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राई छन् । गिरोहका सदस्यहरूमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंकबहादुर गुरुङ छन् । यसैगरी सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, आङटावा शेर्पा, शमशेर मिँया, टेकनाथ रिजाल, लक्ष्मी महर्जन छन् । त्यस्तै केशव तुलाधर, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राई, दिपा हुमागाँई, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापा छन् ।

गत चैत १२ गते गिरोहका तीन जना सदस्य केशवप्रसाद दुलाल, सानु भण्डारी र टंकबहादुर गुरुङ पक्राउ परेपछि उनीहरूको बयान र तथ्य प्रमाणका आधारमा हाई प्रोफाइसमेत तानिएका हुन् । अहिलेसम्म नक्कली शरणार्थी प्रकरणा ११५ जनाले प्रहरीमा उजुरी दिएका छन् ।