बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई समावेश गरिएको भन्दै प्रतिपक्षको विरोध
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै विरोध गरेका छन् ।
पूर्वनिर्धारित समयभन्दा तीन घन्टापछि सुरु भएको बैठकको सुरुमै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध गर्न थालेपछि सभामुखले नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए ।
प्रमुख सचेतक गिरीले करका दरहरु परिवर्तन गर्ने कार्यमा त्यस्ता व्यक्तिहरुलाई राखेर व्यापारिक घरानालाई लाभ हुने गरी काम भएको पाइएकाले सदनमा अर्थमन्त्रीले यसमा चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरे । उनले करका दर परिवर्तन हुने सूचना चुहाएर रातारात ठूलो सङ्ख्यामा चारपाङ्ग्रे विद्युतीय गाडी नेपाल ल्याइएको आरोप लगाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले गत वर्षको बजेट निर्माणका समयमा यस्तै घटना भएपछि तत्कालीन अर्थमन्त्रीले राजीनामा दिएको सन्दर्भमा उल्लेख गर्दै नीतिगत भ्रष्टाचारको डरलाग्दो जालो तोड्नुपर्ने बताए ।
उनले अपारदर्शीरुपमा करका दर परिवर्तन गरिएको हो कि होइन ? भन्ने विषयमा स्पष्ट जवाफ दिन माग गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विधि र प्रक्रिया मिलाएर भ्रष्टाचार गरिएको सुनिएकाले जेठ १४ गते राति आर्थिक विधेयकलाई अन्तिम रुप दिने कार्यमा अर्थ मन्त्रालयमा असम्बन्धित व्यक्ति समावेश भएको हो कि होइन भन्ने प्रश्न गरे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया