NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नेतृत्व पुस्तान्तरणमा एमालेको छेकबार

कार्यकारी जिम्मेवारीमा ७० वर्षे उमेरहदको विधानको व्यवस्था निलम्बन गर्ने निर्णयले एमालेको आन्तरिक जीवनमा तरंग पैदा गरेको छ । १५ वर्षदेखि लागू यो व्यवस्थाबारे अन्तरिमकालका लागि मात्रै निर्णय लिइएको नेताहरूको दाबी छ । तर, साढे तीन वर्षपछि हुने ११औँ महाधिवेशनले यसलाई निरन्तरता दिए एमालेमा नेतृत्व विकास र हस्तान्तरणमा धक्का लाग्नेछ । राजनीतिमा युवाको सक्रियता बढाउने प्रयासलाई पनि बाधा पुर्‍याउनेछ ।

अहिले एकीकृत समाजवादीबाट फर्किएका मुकुन्द न्यौपानेलाई केन्द्रीय समितिमा ल्याउन सचिवालयबाट विधानको व्यवस्था निलम्बन गरिए पनि यसलाई केन्द्रीय समिति हुँदै महाधिवेशनबाट अनुमोदन गराउने योजना शीर्ष नेतृत्वको रहेको स्रोतको भनाइ छ । त्यस्तो हुँदा केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बन्ने बाटो खुला हुनेछ । ७० वर्ष पार गरिसकेकाले हालको विधानअनुसार ओली पुनः अध्यक्ष बन्न पाउँदैनन् ।

त्यस्तै, उमेरहदका कारण आगामी महाधिवेशनबाट बिदा हुन लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापालगायतका नेता पनि पार्टीको सक्रिय नेतृत्वमा रहने बाटो खुल्नेछ । अहिले पोखरेल, शाक्य र ज्ञवाली ७०, नेम्वाङ ७१, थापा ६८ वर्षका छन् । यस्तो निर्णयले अहिले एमालेमा ‘पहिलो पुस्ताको विकल्प तयार छैन’ भन्ने सन्देश दिनेछ ।

पार्टी विभाजनबाट बाहिरिएका नेतालाई भित्र्याएर सम्मानजनक जिम्मेवारी दिने र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग सम्भावित एकताको ढोका खुला गर्ने नीतिअनुसार उमेरहदसम्बन्धी व्यवस्था तत्कालका लागि निलम्बन गरेको पार्टी नेताहरूको दाबी छ । यो निर्णयसँगै १९ जेठमा सम्पन्न केन्द्रीय सचिवालय बैठकपछि एकीकृत समाजवादीबाट प्रवेश गरेका ७३ वर्षीय मुकुन्द न्यौपाने केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

त्यस्तै, पार्टी एकता अभियान सञ्चालन गर्दै आएका ७४ वर्षीय पूर्ववरिष्ठ उपाध्यक्ष वामदेव गौतमसहित उनको समूह र एकीकृत समाजवादीमा रहेका केही नेता एमालेमै फर्किएर क्रियाशील हुन तयार भएका छन् । गौतम अहिले ७४ वर्षका छन् । एकताको ढोका खोलेर पार्टी बलियो बनाउने उद्देश्यले उमेरहद निलम्बनसम्बन्धी निर्णय गरिएको दाबी गरे पनि साढे तीन वर्षपछिको एघारौँ महाधिवेशनले पनि स्वीकार गरे एमालेभित्र नेतृत्व विकास र हस्तान्तरणको प्रणाली खलबलिनेछ ।

एमालेभित्र उपाध्यक्षद्वय विष्णु पौडेल (६४) र सुरेन्द्र पाण्डे (६३) तथा महासचिव शंकर पोखरेल (६१) लाई भावी अध्यक्षका रूपमा हेरिएको छ । त्यस्तै, उपमहासचिवहरू प्रदीप ज्ञवाली (६१), पृथ्वीसुब्बा गुरुङ (६६) र विष्णु रिमाल (६१) वर्षका छन् । सचिवहरू योगेश भट्टराई (५७), गोकर्ण विष्ट (५८), रघुवीर महासेठ (६२), छविलाल विश्वकर्मा (६१), पद्मा अर्याल (५५) र लेखराज भट्ट (६४) वर्षका छन् । अर्को महाधिवेशनले उमेरहद हटाए भट्टराई, विष्ट, महासेठसहित महासचिव र उपाध्यक्षका दाबेदार सचिव तहका नेताहरूको नेतृत्व विकासमा समेत असर पर्नेछ । नयाँ पत्रिका दैनिकमा खबर छ ।