NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

वैदेशिक रोजगारीका सबै सेवा अनलाइनबाटै

काठमाडौं । श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारका लागि प्रदान गर्ने सबै खालका सेवा–सुविधालाई अनलाइनमार्फत नै प्रदान गर्ने व्यवस्था गरेको छ । श्रमिकले वैदेशिक रोजगारी विभाग र वैदेशिक रोजगार बोर्डबाट पाउने सबै खालका सेवा–सुविधा अनलाइनबाट नै प्रदान गर्ने व्यवस्था गरेको छ । मन्त्रालयले वैदेशिक रोजगार बोर्डले सञ्चालन गर्ने पूर्वप्रस्थान, अभिमुखीकरण तालिम पनि अनलाइनमार्फत नै सञ्चालन गर्ने तयारी गरेको छ । हरेक श्रमिकको हातमा मोबाइल र इन्टरनेटको सुविधा हुने भएकाले मन्त्रालयले अनलाइनबाट तालिम लिन सक्ने व्यवस्था गर्न लागेको हो ।

वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सेवालाई समेत अनलाइनमार्फत प्रदान गर्न थालिएको छ । वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा, अंगभंग र अशक्त बिरामी भएको अवस्थामा वैदेशिक रोजगार बोर्डबाट पाउने सबै खालको सुविधा अनलाइनबाट नै प्राप्त गर्न सकिने व्यवस्था गरिएको हो ।

पीडित कामदारका नेपालमा रहेका आफन्तले मृत्यु भएकोमा पाउने रकम, शव झिकाउने, उपचार गर्नेलगायतका सुविधाका लागि अनलाइनबाट नै आवेदन दिन र सोधपुछ गर्न सकिने व्यवस्था गरेको छ । साथै, बिमा कम्पनीले भुक्तानी गर्नुपर्ने रकम लिन पीडित कामदार वा कामदारका आफन्तले श्रम स्वीकृति लिएको–गएको भन्ने प्रमाणित गर्न विभाग धाइरहनुनपर्ने भएको छ । बिमा कम्पनीले बोर्डको अनलाइन सूचना व्यवस्थापन प्रणालीमार्फत कामदारले श्रम स्वीकृति लिएर गएको वा नगएको जाँचबुझ गर्न सक्ने विभागले व्यवस्था गरेको छ ।

त्यस्तै, मन्त्रालयले ०७९ जेठ ६ गतेदेखि श्रम कार्यालयका सबै सेवा अनलाइनबाट लिन सक्ने व्यवस्था गरेको हो । मन्त्रालयले सबै खालका श्रम स्वीकृतिलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाएको हो । कार्यालयले २ माघ ०७८ देखि पुनः श्रम स्वीकृति अनलाइनबाट नै लिन सकिने व्यवस्था गरेको थियो ।

त्यस्तै, २ वैशाख ०७९ देखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गर्न सकिने व्यवस्था गरेको थियो । त्यस्तै, जेठ ६ गतेदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट नै लिन सकिने व्यवस्था गरेको हो । नयाँ व्यक्तिगत श्रम स्वीकृतिका लागि भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, अनलाइनबाटै म्यादी जीवन बिमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण अनलाइनमा अपलोड गर्नुपर्नेछ ।

व्यक्तिगत श्रम स्वीकृति लिँदा सम्बन्धित देशको नेपाली राजदूतावासबाट कागजात प्रमाणीकरण आवश्यक पर्छ । यसअघि साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्सबाट प्रमाणीकरण गर्ने व्यवस्था थियो । ०७९ वैशाखदेखि सरकारले क्रोएसिया, पोल्यान्ड, रोमानिया, हंगेरी, बेलारुस, माल्दोभा, अल्बानिया र स्लोभाकियालाई पनि थप गरेको छ । प्रमाणीकरणका लागि नेपाली राजदूतावासमा रोजगारदाता कम्पनी वा स्पोन्सरले राहदानीको प्रतिलिपि, भिसाको प्रतिलिपि, करार वा सम्झौतापत्रको प्रतिलिपिलगायत विवरण पेस गर्नुपर्नेछ । रोजगारदाताले सबै कागजपत्र सम्बन्धित व्यक्ति र वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनुपर्नेछ । सम्बन्धित व्यक्तिले इमेलमा प्राप्त कागजात आफैँले प्रिन्ट गरी अनलाइनमा अपलोड गर्नुपर्नेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।