NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

नेकपा ब्यूँताउने प्रयास जारी छ, समाजवादी मोर्चा केही दिनमा घोषणा हुन्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी नेकपा ब्यूँताउने प्रयास भइरहेको बताएका छन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा हुँदै नेकपा ब्यूँताउने प्रयास भएको बताएका हुन् ।

समाजवादी मोर्चा केही दिनमा घोषणा हुने उनले दाबी गरेका छन् । तल्लो तहसम्म मोर्चा विस्तार हुने भन्दै अन्ततः समाजवादी मोर्चाले नै नेकपा ग्रहण गर्ने प्रचण्डको विश्वास छ ।

‘समाजवादी मोर्चाको दस्तावेज टुंगाएका छौं । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ’, उनले भने ।

नेकपा ब्यूँताउन एमालेका एकतापक्षधर सकारात्मक भएपनि नेतृत्व बाधक भएको उनले आरोप लगाए ।

‘एमालेमा पनि एकताका पक्षधरहरू रहेपनि नेतृत्व बाधक देखिएका छन्’, उनले भने, ‘समाजवादी मोर्चा हुँदै फेरि नेकपा बनाउने कोसिस भइरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले नेकपा जन्माउने विचार र प्रयोग पनि आफ्नो भएको जिकिर गरेका छन् ।