NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

काठमाडौं उपत्यकामा रोकियो फिल्म ‘आदिपुरुष’को प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकामा भारतीय फिल्म ‘आदिपुरुष’को बिहानी प्रदर्शन रोकिएको छ । फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने गलत सूचनाले विवाद चर्किएपछि काठमाडौं उपत्यकामा यो चलचित्रको शुक्रबारको बिहानी शो स्थगित भएको हो ।

फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई पत्राचार गर्दै विकसित परिस्थितिको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिति हेरेर चलाउन निर्देशन दिएको छ । संघको यस्तो निर्देशनपछि क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले काठमाडौं उपत्यकामा शुक्रबार बिहानको शोलाई स्थगित गरेका हुन् ।

संघका अनुसार, सो फिल्म शुक्रबार बिहान हेर्नका लागि उपत्यकाभरका ६ हजार दर्शकले टिकट काटेका छन् । तर उनीहरूको शुल्क के गर्ने भन्नेबारे ठोस निर्णय लिइएको छैन ।

काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) बालेन शाहले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै फिल्म आदिपुरुषको जानकी भारतकी छोरी हुन् भन्ने गलत संवाद सबैतिर नहटाएसम्म महानगरपालिका क्षेत्रभित्रका हलमा प्रदर्शन गर्न नदिने अभिव्यक्ति दिएका थिए । शाहको यस्तो अभिव्यक्तिपछि तीव्र तरंग उत्पन्न भएको छ ।

यहीबीच चलचित्र संघले शुक्रबार बिहान यसबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । बैठकमा बालेनको अभिव्यक्तिबारे छलफल हुने र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष