NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते
साहुकारको ज्यादति

गुन्डा लगाएर घर भत्काए, परिवारका सदस्यलाई बाँधेर कुटपिट गरे, लत्ताकपडा र अन्नपात इनारमा फालिदिए

काठमाडौं । साहुकारहरूको ज्यादतीविरुद्ध देशभरका पीडित आन्दोलित भएपछि सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग नै गठन गरेर छानबिन गरिरहेको छ । धेरै साहुकारको भागाभाग चलेको छ । तर, सप्तरीका साहुकार वेदनारायण यादवको अत्याचार थप बढ्दै छ । बिहीबार मात्रै उनले गुन्डा परिचालन गरेर महादेवा गाउँपालिका– ३ बथनाहाका विजय यादवको घर भत्काए, परिवारका सदस्यहरूलाई बाँधेर बर्बर यातना दिए र घरमा भएका लत्ताकपडा–अन्नपात इनारमा फालिदिए ।

गुन्डाहरूको कुटपिटबाट विजय, उनकी ६२ वर्षीया आमा जागोदेवी, पत्नी पुष्पा, भाइबुहारी रञ्जनकुमारी र १२ वर्षीया छोरी लक्ष्मी घाइते भएका छन् । गम्भीर अवस्थामा रहेकी जागोदेवीलाई राजविराजस्थित अस्पतालले थप उपचारका लागि धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । शरीरभर नीलडाम छन् । कुटपिटबाट विजयको शरीरमा पनि नीलडाम छन् ।

साहुकार वेदनारायणसँग विजयले करिब पाँच वर्षअघि चार लाख ऋण लिएका थिए । त्यसका लागि घरसहितको दुई कट्ठा जग्गा पास गरेका थिए । ऋण चुक्ता गरेपछि जग्गा फिर्ता गरिदिने प्रतिबद्धता साहुकारको थियो । विजयको परिवारले चार लाख ऋणको अहिलेसम्म ६ लाख तिरिसक्यो । तर, ‘अझै बाँकी छ’ भन्दै साहुकार वेदनारायणले ज्यादती गरिरहेका छन् । ऋण तिर्दातिर्दै विजयका बुबा भुवनेश्वरको गत दसैँको वेला निधन भएको थियो ।

बिहीबार दिउँसो ११ बजेतिर एक दर्जन गुन्डासहित विजयको घरमा पुगेर तोडफोड गर्नुका साथै परिवारका सदस्यलाई कुटपिट गरे । हथौडा, खुकुरी, लाठीलगायतका हतियारसहित आएका उनीहरूले सुरुमा आँगनमा रहेकी विजयकी पत्नीलाई कुटपिट गरे । विजय सन्चो नभएर सुतिरहेका थिए । उनलाई तानेर कुटपिट गर्दै हातखुट्टा आँगनकै पदमको बोटमा बाँधे । बाँधिसकेपछि पनि कुटपिट गरिरहे । केहीले घर भत्काउन थाले ।

‘रूखमा हातखुट्टा बाँधिसकेपछि पनि दनादन कुटपिट गरिरहे । म चिच्याइरहेँ, तर उनीहरू थप कुटे बेहोस बनाउने गरी,’ आमासँगै धरानमा उपचार गराइरहेका विजयले नयाँ पत्रिकासँग भने । विजयलाई कुटपिट गरेको र घर तोडफोड गरेको देखेर उनकी आमा जागोदेवीले प्रतिवाद गर्न खोजिन् । तर, गुन्डाहरूले उनलाई पनि कुटपिट गरे र बाँधे । विजयकी पत्नी पुष्पाका लुगा च्यातेर कुटपिट गरे । भाइबुहारी रञ्जन र छोरी लक्ष्मी छिमेकीसँग गुहार माग्दै चिच्याएपछि उनीहरूलाई पनि ढाडमा हिर्काए ।

केहीले घर तोडफोड गरिरहेका थिए । भित्र भएका लत्ताकपडा र गहुँ, चामलसहितको अन्नपात आँगनमै रहेको इनारमा फालिदिए । हात नबाँधीकनै नियन्त्रणमा लिइएका पुष्पा, रञ्जनदेवी र लक्ष्मी यो सबै टुलुटुलु हेर्न विवश भए । धेरै छिमेकी गाईगोरु चराउन खेतमा थिए, केही विजयको घरनजिक पनि पुगेका थिए । तर, हतियारसहितका गुन्डाहरूसँग उनीहरू डराए । यसअघि गत चैतमा पनि वेदनारायणले विजयको घर भत्काइदिएका थिए ।

केहीबेरपछि विजयका काका छिमेकीसँग गुहार माग्दै चिच्याए । त्यसपछि गाउँले जम्मा भए । त्यसपछि गुन्डाहरू भाग्न थाले । तर, वेदनारायणसहित सञ्जयकुमार यादव, विकेशकुमार मण्डल, धर्मदेव मण्डल र धीरजकुमार यादवलाई गाउँलेले समात्न सफल भए । बाँकी भाग्न सफल भए । समातिएकालाई गाउँलेले प्रहरीको जिम्मा लगाएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।