NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कुन आधारमा पठाइयो टोपबहादुरदेखि बालकृष्णसम्मलाई थुनामा ?

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नको आरोपमा पक्राउ परी मुद्दा दायर भएकामध्ये १६ जनालाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

वादी र प्रतिवादीतर्फका वकिलहरूको बहस सुनेपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले शुक्रबार अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् । दुई जनालाई भने धरौटीमा छाड्न आदेश दिइएको छ ।

१६ अभियुक्तलाई कारागार चलान गर्ने आदेश दिँदा विभिन्न प्रमाणहरूलाई आधार बनाइएको छ ।

बालकृष्ण खाण : विवादित नाम समावेश बालकृष्ण पन्थी प्रतिवेदन कार्यान्वयनको प्रस्ताव मन्त्रिपरिषद्मा लान स्वीकृति दिएको । पुनः छुट शरणार्थीका लागि भन्दै कार्यदल गठन गरेको र कार्यदलको म्याद थप गरेको । मन्त्री हुँदाका बखत नक्कली, समानान्तर प्रतिवेदन तयार भएको । केशव दुलाल र गृहसचिव टेकनारायण पाण्डेबीचको संवाद तथा पाण्डेको मौकाको बयान ।

टोपबहादुर रायमाझी : प्रतिवादीहरू सानु भण्डारी, केशव दुलाल र टेकनाथ रिजालको बयानबाट संलग्नता देखिएको । सानु भण्डारीको घरबाट बरामद डायरीमा रकम दिएको उल्लेख रहेको । जाहेरीमा उल्लिखित विषय ।

टेकनारायण पाण्डे : छुट शरणार्थीको विवरण पेस गर्न सचिवस्तरीय निर्णयबाट कार्यदल गठन गरेको तथा म्याद थप गरी थप कार्यादेश दिएको । गृहमा समानान्तर तथा नक्कली प्रतिवेदन उनकै कार्यकालमा तयार भएको । प्रतिवेदनबारे अस्वाभाविक चासो राखेको र ४–५ वटा प्रतिवेदन आफैँसँग राखेको । केशव दुलालसँग भएको संवाद । जाहेरीमा उल्लिखित विषय ।

टेकनाथ रिजाल : अब नेपालीलाई शरणार्थी बनाई अमेरिका लैजाने भनी विश्वास दिलाएको । ३४ नेपालीलाई शरणार्थीको कार्ड वितरण गरेको भनी आफैँले र सहप्रतिवादी रामशरण केसीले बयान गरेको । रामशरण केसीले आफूले ११ लाख बुझाएको बयान दिएको तथा त्यसैलाई समर्थन हुने विवरण सानु भण्डारीको डायरीमा भेटिएको ।

इन्द्रजित राई : व्यक्तिगत सुरक्षा अधिकृतले इन्द्रजित राईको कार्यकक्षमा हात हालाहाल हुँदा आफूले छुट्टाएको कागज गरेको । सानु भण्डारीको कोठाबाट बरामद डायरीमा नाम रहेको । टेकनाथ रिजाल र टोपबहादुर रायमाझीको बयानबाट कसुरमा संलग्नता देखिएको ।

आङटावा शेर्पा : किटानी जाहेरी परेको । हिरासतमा रहेका प्रतिवादीलाई भेटेर पीडितको रकम फिर्ता गराउन चाहेको । बालकृष्ण खाणलाई पोल नगर्ने सहमति भएको भनी बोलेको भिडियो । पोलिग्राफ परीक्षणमा इन्कारी बयान झुटो देखिएको । सानु भण्डारीको घरबाट बरामद डायरीमा हस्ताक्षर शेर्पाकै रहेको । अनुसन्धान अधिकारीसमक्ष गरेको कागजको भिडियो रेकर्डका कारण कसुरमा संलग्नता देखिने ।

शमशेर मियाँ : सरकारले उपलब्ध गराएको गाडी प्रतिवादी सन्देश शर्मालाई उपलब्ध गराएको । एक दिन नभई सात दिनसम्म गाडी प्रयोग गर्न दिई सरकारी सुविधाको चरम दुरुपयोग गरी आरोपित कसुरमा सहयोग गरेको ।