NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

ओलीले संवाद गर्न नचाहेको भीम रावलको गुनासो : कहाँ पुग्यो वार्ता ?

सुझावलाई बेवास्ता गरिएकाेमा ओलीसँग नेताहरू नै असन्तुष्ट

काठमाडौं । पार्टीसँग पूर्वउपाध्यक्ष डा. भीम रावलको दुरी बढ्दै गएपछि १८ चैत, २०७९ मा बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गर्यो ।

मिसन ग्रासरुढ अभियानका क्रममा उपाध्यक्ष विष्णु पौडेल अछाम जाँदा रावल जिल्लामै नबसेपछि असहज स्थिति बनेको थियो । कार्यक्रममा रावलले पार्टीहितविपरित काम गरेको आरोप लगाउँदै पौडेलले उनलाई कारवाही गर्ने चेतावनी दिएका थिए । उनको चेतावनीपछि रावलका समर्थकहरू समर्थकले एमाले सभामा कुर्सीसमेत फालेका थिए ।

रावललाई बिच्क्याउँदा सुदूरपश्चिमा एमालेले ठूलो धक्का खाने देखिएपछि विवाद समाधानका लागि एमालेले उपाध्यक्ष पौडेलको संयोजकत्वमा सचिवसमेत रहेका सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीले रावलसँग छलफल गरी सुझावसहितको प्रतिवेदन नेतृत्वलाई बुझाइ सकेको छ । तर अहिलेसम्म अध्यक्ष केपी ओलीले असन्तुष्ट नेता रावलसँग वार्ता गर्न चाहेका छैनन् । दुई पक्षबीच संवाद नहुँदा टोलीले दिएको प्रतिवेदन अलपत्र परेको छ । चितवनको सौराहमा २०७८ मंसिरमा भएको एमालेको १० औं महाधिवेशनमा ओलीविरूद्ध अध्यक्षमा उम्मेदवारी दिएपछि रावलसँग ओली चिढिएका हुन् । त्यसयता ओली र रावलबीच संवाद हुन नसक्दा विवाद तन्किरहेको छ ।

एमालेभित्र वौद्धिक तथा अध्ययनशील नेताका रूपमा चिनिने रावल राष्ट्रियताका पक्षमा खरो बहस गर्दै आएका छन् । विपक्षीमाथि कडा शब्द प्रहारका कारण उनी सँधै चर्चामा छन् । रावल एमालेका पुराना अनुभवी नेता हुन् । उनी पटक पटक मन्त्री र उपप्रधानमन्त्री भइसकेका छन् । १० औं महाधिवेशनपछि उनले पार्टीको कुनै जिम्मेवारी लिएका छैनन् ।

बैशाख(२८–३०)सम्म केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेलाई पार्टी प्रवेश गराउन विधानको धारा ६४ नै निलम्बन गर्ने निर्णय गर्यो । तर रावललाई जिम्मेवारी दिने विषयमा कुनै निर्णय गरेन । केन्द्रीय समिति, स्थायी कमिटी र सचिवालयको निर्णय समेटेर जेठ २२ मा जारी गरेको अन्तरपार्टी निर्देशन(अपानी)–७ पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको जिम्मेवारी र कार्यविभाजन हेरफेर गर्दासमेत रावल अटाएनन् ।

ओलीसँग किन भएन रावलको संवाद ?

पार्टीका लागि लामो समय त्याग र तपस्या गरेका क्षमतावान नेतालाई पाखा लगाएकोमा नेताहरूले नै नेतृत्वको आलोचना गरेका छन् । स्थायी कमिटी सदस्य एवं वार्ता टोली सदस्य कर्णबहादुर थापाले रावलमाथि नेतृत्वले अन्याय गरेको आरोप लगाए । पार्टी छाडेर गएका न्यौपानेलाई प्रवेश गराउन विधानको धारा नै निलम्बन गर्ने तर पार्टीभित्रै रहेका नेतालाई जिम्मेवारी नदिँदा पार्टी अप्ठ्यारोमा पर्ने उनको चिन्ता छ ।

‘भीमजी पार्टी छाडेर गएका नेता होइनन् । पार्टीभित्र उहाँले कुनै भाग खोज्नुभएको पनि छैन । पार्टीले जुन जिम्मेवारी दिन्छन्, त्यो जिम्मेवारी लिन आफू तयार रहेका भन्दै आएका छन्’, उनले भने, ‘उहाँसँगको छलफल र भेटवार्तापछि हामीले सुझावसहित नेतृत्वलाई प्रतिवेदन बुझाइ सकेका छौं । तर अहिलेसम्म वार्ता गर्न नेतृत्व तयार देखिएको छैन । समस्य भीममा होइन नेतृत्वमा छ । पूर्वाग्रही सोचले पार्टी झन भँड्खालोमा पर्छ ।’

रावलसँग तत्काल वार्ता गरी उचित जिम्मेवारी दिएर काममा लगाउन नेतृत्वको पटक पटक ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएकोमा उनले गुनासो पोखे । पार्टीभित्रका अनुभवी र क्षमतावान व्यक्तिलाई लामो समय जिम्मेवारी बाहिर राख्दा, त्यसले पार्टीलाई दूरगामी असर पर्ने उनको चिन्ता छ । पार्टीभित्र यस्तै अवस्था कायमै रहेका आगामी निर्वाचनमा पार्टीले ठूलो धक्का खाने थापाको बुझाइ छ ।

पार्टीको जिम्मेवारी नलिएको विषयमा नेपालवाचले प्रश्न गर्दा त्यो प्रश्न आफूलाई नभइ नेतृत्वलाई सोध्न आग्रह गरे । पार्टीभित्र आफूले कुनै भाग नखोजेको भन्दै उनले नेतृत्वले संवाद गर्न नचाहेको आरोप लगाए ।

‘म अहिले एकालेको सदस्य हुँ । त्योबाहेक मैले कुनै जिम्मेवारी लिएको छैन । वार्ता र संवादका लागि नेतृत्वबाट कुनै पहल भएको छैन । मप्रति किन पूर्वाग्रही व्यवहार देखाउनुभएको छ, त्यसबारे अध्यक्ष र महासचिवलाई सोध्नोस्’, उनले भने ।

रावलले आफू कुनै स्वतन्त्र पार्टी खोल्ने वा अन्य कुनै पार्टीमा जाने कुनै सोच नबनाएका र एमालेको सदस्यको रूपमा पार्टीभित्रै रहेको उनले बताए । अहिले पार्टीको गतिविधिमा संलग्न नभइ अध्ययनतर्फ लागेको उनले बताए ।

‘पार्टीले मलाई कुनै जिम्मेवारी दिएको छैन’, उनले भने, ‘म अहिले अध्ययनमा छु । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा अध्ययन गरिरहेको छु ।’

तर रावलको गुनासोबारे उपमहासचिव प्रदीप ज्ञवालीले अनविज्ञता प्रकट गर्दै प्रतिक्रिया दिएका छन् । रावलसँग भएका समस्या समाधानबारे साथीहरूले पहल गरिरहेकाले वार्ता के कति प्रगति भएको छ, त्यसबारे सोधेर मात्र प्रतिक्रिया दिन सक्ने उनले बताए ।

‘भीमजीसँग समस्या समाधानबारे साथीहरूले पहल गरिरहेकाले पहल गरिरहुनुभएको छ । पहिला उहाँले आफ्ना समस्या नेतृत्वसँग भन्नु पर्छ, त्यसपछिमात्र समाधान निकालेर जिम्मेवारी दिन सकिन्छ’, उनले भने ।

यस्तो छ ओली र रावलबीच अन्तसंघर्ष

एमालेभित्र माधव–झलनाथ समूहका नेताका रूपमा चिनिएका रावल २०६५ बुटवलमा भएको ८ औं महाधिवेशन ओली प्यानल रोजे । कारण थियो, झलनाथ प्यानलबाट उनी उपाध्यक्ष बन्न चाहेका थिए । तर झलनाथले रावलाई नरोजी वामदेव गौतमलाई उपाध्यक्षको उम्मेदवार बनाए । त्यसपछि आक्रोसित भएका भएका रावलले तुरून्त गुट परिवर्तन गरी ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवार बने ।

निर्वाचनबाट विद्यादेवी भण्डारी र अशोक राई विजयी हुँदा उनी पराजित भए । पराजयको पीडाका कारण उनले केन्द्रीय सदस्यको शपथ नै लिएनन् । एमाले छाडेर खस पार्टी बनाउने अभियानमा लागे । २०६६ मा तत्कालीन प्रधानमन्त्री माधव नेपालले उनलाई गृहमन्त्री बनाएपछि पार्टी काममा फर्किएका थिए । २०७१ मा काठमाडौंमा भएको ९ औं महाधिवेशनमा आइपुग्दा उनी माधव–झलनाथ समूहमै फर्किए । अध्याधिक मतसहित उनी उपाध्यक्षमा विजयी भए । फरक प्यानलबाट विजयी भएपनि ओलीसँग रावलको सम्बन्धमा कुनै चिसोपना आएको थिएन ।

संविधानसभाबाट संविधान जारी हुँदाको बखतसम्म पनि सहकार्य राम्रै थियो । २०७२ मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी दिएका थिए । २०७५ सालको निर्वाचनपछि एमाले र माओवादी मिलेर बनेको नेकपामा ओलीले रावललाई कुनै जिम्मेवारी दिएनन् । नेकपाको महासचिव बन्ने इच्छा देखाएका रावलाई पन्छाएर पौडेललाई बनाए । सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारीसमेत खोसेर लेखराज भट्टलाई दिए । रावलाई सरकारमा समेत नलगेर ओलीले बालुवाटारको ढोकासमेत बन्द गरिदिएका थिए । त्यसपछि उनी ओलीसँग चिढिए ।

नेकपाभित्र ओली र प्रचण्ड–माधव समूहबीच अन्तर्विरोध बढ्दै जाँदा रावलले प्रचण्ड–माधवलाई साथ दिए । ओलीलाई पार्टी र सरकारबाट हटाउने अभियानदेखि सर्वोच्च अदालतमा हस्ताक्षर बुझाउनसम्म उनले प्रमुख भूमिका खेले । २८ असार, २०७८ मा सर्वोच्चको परमादेशबाट ओली सरकार ढल्यो । एमालेसमेत विभाजन भयो । यद्यपि विभाजनपछि माधव समूहमा नलागेका भएपनि रावल र ओलीबीच सम्बन्धमा कुनै सुधार आएन । १० औं महाधिवेशनमा ओलीविरूद्ध अध्यक्षमा उम्मेदवारी नै दिएपछि अध्यक्ष ओली रावलसँग कुनै संवाद गर्न चाहेका छैनन् ।

उनीसँग ओली यति चिढिए कि मंसिरमा भएको निर्वाचनका लागि अछाम–१ बाट टिकट नदिइ झपट बोहरालाई दिएका थिए । ताकि रावलाई झपटसहित क्षेत्रीय कमिटीले सर्वसम्मत उम्मेदवार छनोट गरेर पठाएका थिए । ओलीको निर्णयबाट थप चिढिएका रावल र उनका समर्थकले सुदूरपश्चिममा एमालेलाई हराउन निर्णायक भूमिका खेले । व्यक्तिगत इगोको कारण रावलाई चिढाउँदा एमालेले ठूलो क्षति व्यहोर्यो ।

को हुन् रावल ?

४ साउन, २०१३ मा अछामको साँफेबगर नगरपालिका ६ कालाआम गाउँमा जन्मिएका उनले राजनीति शास्त्रमा विद्यावारिधी र कानूनमा स्नातक गरेका छन् । २०३० सालबाट प्रगातिशील विद्यार्थी राजनीतिमा प्रवेश गरेका हुन् । २०३५ सालमा मालेको सदस्यता प्राप्त गरेका रावल अनेरास्ववियु (एकताको पाँचौं) को संस्थापक नेता हुन् ।

२०३९ सालपछि नेकपा (माले) को काठमाण्डौ बुद्धिजीवी कमिटीको सचिव, २०४८ सालपछि नेकपा एमालेको प्रचार विभागको सदस्य बने । २०५० सालदेखि विदेश विभागको सदस्य र सचिवका रुपमा उनले लामो समय काम गरे । २०५४ सालमा छैठौं र २०५९ सालमा सातौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीकोे सदस्यमा निर्वाचित भए ।

२०६५ सालमा आठौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भए । २०७१ सालमा नवौं राष्ट्रिय महाधिवेशनबाट सर्वाधिक मत प्राप्त गरी केन्द्रीय कमिटीको उपाध्यक्ष्मा निर्वाचित भए । २०७३ मा राज्य पुर्नसंरचनापछि बनेको संघीय व्यवस्थामा उनी सुदूरपश्चिम प्रदेश कमिटीको संयोजक भए । २०७५ सालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच एकीकरण भएपछि स्थायी कमिटीको सदस्य भए ।

राजकीय जिम्मेवारी

उनी २०४७ सालमा मन्त्री बनेका झलनाथ खनालको राजनीतिक सल्लाहकार बने । २०४८ सालमा अछाम–१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भए । २०५१ सालमा भने सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका उनी २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा पर्यटनराज्यमन्त्री बने । २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटनमन्त्री बने । २०५६ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछामबाट उनी पराजित भए ।

२०६४ सालमा संविधानसभा निर्वाचनमा समानुपातिकतर्फका सदस्य भए । २०६६ सालसम्म उनी गृहमन्त्री बने । २०७२ सालमा उपप्रधान तथा रक्षामन्त्री भए । रावल २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचित र २०७४ को संघीय प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ बाट विजयी भए । सुदूरपश्चिम र कर्णाली क्षेत्रमा रावलको बलियो पकड रहेको छ ।