NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मेयर बालेनका शैक्षिक मामिला सल्लाहकार अर्यालले किन दिइन् राजीनामा ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् ।

उनले महानगरका प्रमुख (मेयर) बालेन शाहका पछिल्ला गतिविधिहरूप्रति असहमति जनाउँदै राजीनामा दिएकी हुन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै राजिनामा दिएको बताएकी हुन् ।

स्टाटसमा उनले बालेनका पछिल्ला गतिविधि र निर्णयहरू आफ्नो भावना, मूल्यमान्यता विपरित भएको उल्लेख गरेकी छिन् ।

उनलाई मेयर बालेनले मेयर भएलगत्तै  अर्थात १० महिना अघि सल्लाहकार नियुक्त गरेका थिए । राजीनामापछि उनले विगत १० वर्षदेखि गर्दै आएको सार्वजनिक शिक्षा सुधार र उदारवादी लोकतन्त्रको लागि गर्दै आएको कामलाई निरन्तरता दिने बताएकी छिन् ।

यस्तो छ उनको स्टाटस :

म १० महिनाअघि शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा काठमाडौंका मेयरको सल्लाहकारको रूपमा केएमसीमा आबद्ध भएँ । काठमाडौंको युवा नेतृत्वलाई सुधारका लक्ष्यहरू प्राप्त गर्न सक्षम बनाउन स्वयंसेवकको हैसियतमा सकेसम्म राम्रो सेवा गरेको छु ।

तर, दुर्भाग्यवश केही हालका कार्यहरू, निर्णय लिने दृष्टिकोण र उहाँको प्रत्यक्ष निर्देशनमा गरिएका निर्णयहरू मेरो मूल्यमान्यताको विरुद्धमा छन् , स्वार्थको द्वन्द्वको स्थिति सिर्जना गरेको छ,  त्यसैले मैले उहाँको सल्लाहकारको पदबाट राजीनामा दिएको छु।

यस नगरको नागरिक, यसका मतदाताको हैसियतले सँधै परामर्शमूलक लोकतान्त्रिक अभ्यास,  उचित लगनशीलता, विधिको शासन, स्थानीय सरकारका सीमितताहरूको पालना गर्न, मामिलाहरूको गहिरो छानबिन गर्न आग्रह गर्दै मैले पद त्यागेको छु।

म विगत १० वर्षदेखि गर्दै आएको सार्वजनिक शिक्षा सुधार र उदारवादी लोकतन्त्रको लागि जुन मैले जीवनभर गर्दै आएको छु, त्यसैलाई निरन्तरता दिनेछु।