NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

७५३ पालिकामध्ये वर्षभरी बालेन र हर्कको मात्र चर्चा

काठमाडौं । ३० बैशाख, २०७९ मा ७५३ वटा स्थानीय तहमा एकसाथ निर्वाचन भयो । तीमध्ये काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकामा कांग्रेस–एमालेका प्रभावशाली उम्मेदवारलाई पराजित गरी स्वतन्त्र उम्मेदवारले सानदार जित निकाले ।

काठमाडौंमा बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमाल फराकिलो मतान्तरसहित विजयी भए । राजनीतिमा आउनुअघि पृथक पेशामा रहेका शाह, हमाल र साम्पाङ विजयी हुनेमा कसैले अनुमान गरेका थिएनन् । लगभग गुमनाम अवस्थामा रहेका उनीहरूले चिरपरिचित बलिया प्रतिस्पर्धीलाई पराजित गरेपछि लोकप्रियता ह्वात्तै बढ्यो ।

वर्षौंसम्म काठमाडौं महानगरपालिकामा रजगज गरेका कांग्रेस–एमालेको गढ मानिएकै क्षेत्रमा बालेनले अत्याधिक मत पाए । पूर्वमेयरसमेत रहेका एमालेका बलिया र अनुभवी उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा सिमित भए । कांग्रेसका उम्मेदवार सिर्जना सिंहले फराकिलो मतान्तरसहित दोस्रो स्थानमा चित्त बुझाइन् ।

त्यस्तै सामाजिक अभियानका रूपमा सडकमा एक्लै हिडिरहेका साम्पाङले नसोचेको मत पाए । कम्युनिस्टको गढ रहेको धरानमा एमालेका उम्मेदवार मञ्जु भण्डारी तेस्रो स्थानमा सिमित भइन् । कांग्रेसको उम्मेदवार किशोर राई फराकिलो मतसहित साम्पाङसँग पराजित भए । धनगढीका हमालले कांग्रेसका उम्मेदवार नृपबहादुर ओडलाई झण्डै दोब्बर  मतले पराजित गरे ।

त्यहाँपनि एमालेका उम्मेदवार रणबहादुर चन्द तेस्रो स्थानमा खुम्चिए । निर्वाचनअघि गुमनाम रहेका स्वतन्त्र उम्मेदवारले परम्परागत दलहरूको गढ ढालेपछि सबैको हाईहाई भएका यी मेयरले कसरी नेतृत्व गर्लान् भन्नेमा सबैको चासो थियो ।

प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएपनि वडाध्यक्षमा कांग्रेस र एमालेकै वर्चश्व रहेको थियो । तर निर्वाचित भएको एक वर्ष पुरा भइसक्दा ७५३ पालिकाका प्रमुख/अध्यक्षमध्ये बालेन र हर्कमात्र चर्चा छन् । कुल पालिकामध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपलिका छन् ।

बालेन शाह

काठमाडौंलाई स्विजरल्यान्ड र सिंगापुर होइन काठमाडौं जस्तै बनाउनुपर्छ भन्दै आएका ३३ वर्षीय प्रमुख शाह भक्तपुर नगरपालिकाबाट निकै प्रभावित भएका थिए । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई उनी आदर्श मान्छन् ।

शाहले विभिन्न सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामासमेत भक्तपुरको विकास र महर्जनको कार्यशैलीको प्रशंसा गरेका छन् । उनी निर्वाचित हुनुअघि भक्तपुर र ललितपुरको अवलोकन गरेका थिए । काठमाडौंलाई पनि भक्तपुर र ललितपुर जस्तै सांस्कृतिक, ऐतिहासिक र मौलिक शहरको रूपमा विकास गर्ने उनले प्रण गरेका थिए ।

भारतको कर्नाटकबाट स्टकचरल इन्जिनिरिरिङको अध्ययन पूरा गरेका शाह ¥याप ब्याटल गायक पनि हुन् । दलीय नेतृत्वबाट असन्तुष्ट देखिएका उनी निर्वाचनको समयमा जति सन्तुलित र संयमित अभिव्यक्ति दिएका थिए निर्वाचन पछि उग्ररूपमा प्रस्तुत भएका छन् । व्यवस्थापकीय कमजोरीका कारण मेयरहरुले राम्रोसँग काम गर्न नसकेको दाबी गर्दै आएका उनी अहिले वडाध्यक्ष, सल्लाहकार, विषय विज्ञ कसैको पनि कुरा नसुन्ने मेयरका रूपमा परिचित छन् ।

पछिल्लो समय पदीय दायित्वभन्दा पर गएर प्रमुख शाहले आफ्ना अभिव्यक्ति दिने गरेको आरोप लागेको छ । प्रमुखको पदभार ग्रहण गरिसकेपछि काठमाडौंको सडक विस्तार, मापदण्डविपरित बनेका घरटहरा हटाउने, बागमती किनारका सुकुम्बासी बस्ती हटाउने, सडकका साना व्यवसायीहरूमाथिको धरपकटका कारण उनी अहिले आलोचना/प्रशंसा कमाइरहेका छन् ।

समाजिक सञ्जालमार्फत राजनीतिक दल, प्रशासक, सरकार प्रमुख, मन्त्रीहरूमाथि गरिएको छेडखानीले नयाँ नयाँ विवाद निम्तिएको छ । भारतले नयाँ संसद भवनमा अखण्ड भारतको म्युरल नक्सा राखेको विरोधमा शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाए । विवादास्पद भारतीय चलचित्र ‘आदिपुरूष’लाई काठमाडौं महानगरपालिकाभित्र चलाउन रोक लगाएपछि उनी थप विवादमा परे ।

शाहको निर्णयविरूद्ध परेको रिट निवेदनको पक्षमा बिहीबार पाटन उच्च अदालतले आदेश दिएपछि उनी झनै आक्रोसित भए । न्यायलयको हूर्मत लिने गरी अदालतको आदेश नमान्ने उनले चेतावनी दिए । न्यायलयको फैसलामाथि चित्त नबुझे न्यायिक निरूपणको विभिन्न विकल्प हुँदा हुँदै पदीय आचरणविपरित सरकार र न्यायलय भारतको गुलाम भएको आरोप लगाए ।

उनको अभिव्यक्ति वास्तविकता भन्दापनि भिडको मानसिकताबाट प्रभावित हुँदै गएको विश्लेषण हुन थालेको छ । प्रमुख शाहलाई सल्लाह र सुझाव दिनेहरूले पनि उनलाई अप्ठ्यारो पार्न उक्साइरहेको हुनसक्छ । प्रचलित कानुन र संविधानले दिएको अधिकार प्रयोग गरी महानगरको विकासका लागि ध्यान केन्द्रित हुन छाडेर लोकप्रियताका लागि विषयान्तर भए त्यसले शाहको राजनीति भविष्य नै समाप्त हुनसक्ने कानुन व्यवसायीहरूको भनाइ छ ।

हर्क साम्पाङ राई

निर्वाचनअघि धरानको गल्ली गल्लीमा एक्लै सामाजिक अभियान चलाउँदै आएका साम्पाङले चुनाव जित्नेमा कसैले पनि अनुमान गरेका थिएनन् । २०७४ को निर्वाचनमा समेत उम्मेदवार रहेका उनले जम्मा ४२२ मत पाएका थिए । कम्युनिस्टको गढ भत्काएर अत्याधिक मतसहित विजयी भएका उनी कार्यभार सम्हालेपछि श्रममा आधारित योजनालाई ध्यान केन्द्रित गरे । धरानबासीलाई पानी खुवाउने एक सुत्रीय एजेण्डामा अडिग रहे ।

विकासमा श्रमदानको अभियान नै चलाएपछि उनको लोकप्रियता ह्वात्तै बढेको छ । कुनै काम सुरू गरेपछि निरन्तर लागिरहने जिद्दी र विद्रोही स्वभाव उनमा देखिन्छ । हरेकहप्ता शनिबार उनी श्रमिकसँगै फिल्डमा खटिन्छन् । निर्वाचनको बेला धरानलाई पानी खुवाउने वाचा गरेका त्यो वाचा पुरा गरेका छन् ।

स्थानीय र मेयरको पहलमा श्रमदान शुरु भएको ९८ औँ ४२ किलोमिटर टाढा रहेको कोकाहाको पानी धरानमा झारेपछि उनी सबैको हाईहाई भएका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहेका उनले आफू लक्षित टिप्पणीको तुरुन्तै कडा जवाफ फर्काउँछन् । विपक्षीहरूको विरोधमा उनी गीतमार्फत ब्याङ्य गर्छन् ।  धरानलाई अर्गानिक र मौलिक शहर बनाउने अभियान चलाएका उनी जंगल, पखेरा, बगरमा विभिन्न जातजातिका फलफूल, विरूवा रोपेका छन् ।

कहिले वडाध्यक्षको राजीनमा त कहिले न्यायलयमाथि गरिएको टिकाटिप्पणीबाट आलोचना र प्रशंसा दुवै पाएका छन् । २०५५ सालतिर उच्च शिक्षा अध्ययनको लागि भोजपुरबाट धरान झरेका साम्पाङले महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् । साहित्यमा विशेष रुचि भएका उनी आफै गीत लेख्छन्, गाउँछन् ।

उनको श्रम अभियानबाट प्रभावित भएका देशभरीबाट श्रम गर्नका लागि धरान जाने गरेका छन् । भीडका मानसिकताबाट प्रभावित भएका उनी आफ्नो अडान, योजनामा निरन्तर क्रियाशिल छन् । कसैले आलोचना गरेमा मलाई धराने जनताले बनाएको मेयर हुँ कसैले आलोचना गर्दैमा आफू पछि नहट्ने प्रतिक्रिया दिन्छन् । यसरी ७५३ पालिकामध्ये वर्षभरी शाह र साम्पाङमात्र चर्चामा आएका छन् ।