NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

काठमाडाैं महानगर : कुन-कुन क्षेत्रलाई कति बजेट ? 

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आइतबार आयोजित महानगरको १३ औं नगर सभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि सो बराबरको बजेट विनियोजन गरेकी हुन् ।

विनियोजित बजेटमध्ये चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार अर्थात ३३.७२ प्रतिशत  र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार अर्थात ६६.२८ प्रतिशत छुट्याइएको छ ।

कुन क्षेत्रका लागि कति बजेट ?

पूर्वाधार

काठमाडाैं महानगरपालिकाले आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिता साथ बजेट विनियोजन गरिएको छ । जसअन्तर्गत पूर्वाधारमा सबैभन्दा धेरै सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ ।

महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये डिपिआर भएका पेटी तथा सडकहरू मर्मत तथा निर्माण गरी धुलोरहित काठमाडौं योजनालाई कार्यान्वयन गरिने जनाएको छ । यस योजनाका लागि महानगरले एक सय करोड रकम छुट्याएको छ ।

त्यस्तै सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापनासहित पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारी रुपमा सञ्चालन गर्न २५ करोड रुपैयाँ विनियोजन गरेको छ । महानगर क्षेत्रभित्रका प्रमुख सडकहरुमा फाइबर तथा अन्य केवल विस्तारको लागि आफ्नो युटिलिटी डक्ट निर्माण गरी सेयरड इन्फ्राक्चर अवधारणाअनुरुप कार्य अगाडि बढाउन १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सुन्दर महानगर योजनाको लागि कामपाले ३० करोड रकम विनियोजन गरेको छ ।

शिक्षा

महानगरले शिक्षा क्षेत्रका लागि  एक अर्ब ३२ करोड रकम विनियोजन गरेको छ । जअन्तर्गत महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरुको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरुमा आधारभूत प्राविधिक ज्ञान र सीपको प्रर्वद्धन गर्न ‘गरिखाने शिक्षा महानगरको इक्षा’ योजनाको लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ । विद्यालय परिसर भित्रको हराभरा सरसफाई र सौन्दर्यकरणलाई नियमित स्वचालित बनाई विद्यालय क्षेत्र सुन्दर र हराभरा बनाउन ५ करोड रुपैयाँ रकम छुट्याएको छ । यसैगरी महानगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको तलब तथा मासिक भुक्तानी गर्न ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

स्वास्थ्य

काठमाडौं महानगरपालिकाले स्वास्थ्य क्षेत्रको लागि ९२ करोड ६६ लाख ४४ हजार बजेट विनियोजन गरिएको छ ।

जसअन्तर्गत सुलभ स्वास्य सेवा नागरिकलाई टेवा योजनाको लागि ३५ करोड रुपैयाँ छुट्याएको छ । महानगरबासीलाई सहुलियत रुपमा औषधी उपलब्ध गराउन सुलभ फार्मेसी योजनाको लागि ६ करोड रुपैयाँ, बालबालिकाको स्वास्थ्य उपचारको लागि सरकारी सामुदायिक वा निजी अस्पतालको सहकार्यमा निर्दिष्ट नगर अस्पताल सञ्चालनमा ल्याउन १० करोड रकम छुट्याएको छ ।

३५ वटा एम्बुलेन्स खरिदका लागि ७ करोड, महानगरभित्र निशुल्क एम्बुलेन्स सञ्चालन गर्न १ करोड ४४ लाख रुपैयाँ बजेट छुट्याएको महानगरले जनाएको छ । यस्तै ‘स्वच्छ भान्छा’ कार्यक्रमको लागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संस्कृति सम्पदा तथा पर्यटन

महागनरले संस्कृति सम्पदा तथा पर्यटन क्षेत्रको लागि २ अर्ब १३ करोड ७६ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । जसअन्तर्गत संस्कृति सम्पदा तथा पर्यटन, महानगरको धन योजनामार्फत कार्यक्रम सञ्चालन गर्न ५० करोड रुपैयाँ छुट्याएको छ । महानगरभित्रका पोखरी नियमित मर्मत सम्भार र संरक्षण कार्यक्रमको लागि २६ करोड, पर्यटन विकास कार्यक्रमको लागि २ करोड ५० लाख र स्थानीय जात्रालाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि १ करोड ८८ लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

वातावारण व्यवस्थापन

महानगरले वातावारण व्यवस्थापनमा ८७ करोड ९३ लाख रुपैयाँ रकम छुट्याएको छ । जसअन्तर्गत सरसफाईका लागि आवश्यक उपकरण किन्नको लागि २७ करोड रुपैयाँ, महानगर क्षेत्रभित्रको नदीहरुको नियमित सरसफाई कार्यक्रमलाई महानगर स्वर्णिम योजनाको रुपमा सञ्चालन गर्न ७ करोड रुपैयाँ रकम विनियोजन गरको छ ।

सहरी यातायात

महानगरपालिकाले पैदल यात्री सहज आवागमण एवं सुरक्षासम्बन्धी विभिन्न कार्यक्रमको लाग १० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

कानुन तथा मानवअधिकार

महानगरभित्रको नगरबासीहरुको लागि न्याय,कानुन तथा मानवअधिकार क्षेत्रमा परमामर्शको लागि न्याय चौतारी कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । निशुल्क कानुनी सेवा प्रवाह गर्न ६८ लाख र वडा महिला सञ्जाललाई प्रभावकारित कार्यक्रमको लागि ३२ लाख रकम विनियोज गरेको छ ।

कृषि तथा पशुपन्छी

महानगरपालिकाले कृषि तथा पशुपन्छी क्षेत्रअन्तर्गत एग्रोपुलिङ कार्यक्रमको लागि १ करोड र विषादी परिक्षण प्रयोगशाला स्थापनाको लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

विपद् व्यवस्थापन

विपद् व्यवस्थापनअन्तर्गत  ‘डुबान’ समधान कार्यक्रमको लागि ४ करोड रुपैयाँ र विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम तथा उपकरण खरिदका लागि ३ करोड ५० लाख रुपैयाँ रकम छुट्याएको छ ।

सूचना तथा प्रविधि

महानगरले सुशासनको लागि अनलाइन सेवा योजनाअन्तर्गतका कार्यक्रमको लागि १५ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । त्यस्तै ‘महानगरले देख्छ’ कार्यक्रमको लागि २० करोड रुपैयाँ छुट्याएको छ । महानगरले टेलिभिजन स्थापनको लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसबाहेक सामाजिक विकासअन्तर्गत ‘रोजगारी र अभिवृद्धि महानगरको समृद्धि’ कार्यक्रमको लागि १० करोड, ‘साथी महानगर ‘कार्यक्रमको लागि २ करोड रुपैयाँ , ‘एक टोल एक नमुना उद्यम’ कार्यक्रमका लागि १ करोड र एक टोल एक खेलकुद पूर्वाधार कार्यक्रमको लागि १० करोड ५० लाख रुपैयाँ छुट्याएको छ।