NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पाकिस्तानमा महिला र बालबालिकाविरुद्ध चार महिनामा नौ सयभन्दा बढी हिंसाका घटना दर्ता

पाकिस्तान । पाकिस्तानमा यो वर्षको पहिलो चार महिनामा सिन्ध प्रहरीमा महिला र बालबालिकाविरुद्ध हिंसाका ९०० भन्दा बढी घटना दर्ता भएका सस्टेनेबल सोसियल डेभलपमेन्ट अर्गनाइजेसन (एसएसडीओ) को एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनले यस्ता घटनाको रिपोर्टिङ गर्ने सामाजिक निषेधका कारण यो सङ्ख्या अझ बढी हुन सक्ने उल्लेख गरेको छ । विशेषगरी यस अवधिमा ५२९ महिला अपहरणमा परेका छन् भने घरेलु हिंसाका घटना ११९ पुगेका छन् ।

यसबाहेक बलात्कारका ५६ र पारिवारिक प्रतिष्ठाका लागि भएका हत्या (अनर किलिङ) का ३७ घटना भएका छन् । कराँची, हैदरावाद र केमारी जिल्लाहरू महिलाविरुद्ध हिंसात्मक अपराधका लागि हटस्पटका रूपमा देखा परेका छन् ।

बालबालिकामाथि हुने हिंसाको सन्दर्भमा, यौन हिंसा सबैभन्दा बढी प्रचलित छ र यसमा ६७ घटनाहरू रिपोर्ट गरिएका थिए । प्रतिवेदनले सबै नागरिक, विशेषगरी महिला र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकार, प्रहरी र न्यायपालिकाको ध्यान र कारबाहीको आवश्यकतामा जोड दिएको छ ।