NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

म्याग्दीमा जोखिमपूर्ण सडक स्तरोन्नति

बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतस्थित जोखिमपूर्ण सडकलाई ढलान गरेर स्तरोन्नति गरिएको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजन भएको ५० लाख बजेटबाट ताराखेत–सल्यान–भर्जुला–हिदी सडकअन्तर्गत ताराखेतका उकालोको जोखिमपूर्ण सडक स्तरोन्नति गरिएको हो ।

बेनी–बाबियाचौर सडकखण्डको ताराखेतकोको चोक नजिकैबाट उकालोमा २०५ मिटर सडक ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष सुसन किसानले जानकारी दिए ।

उनका अनुसार सडकमा मेसिनरी पर्खाल र नालीसमेत निर्माण गरिएको छ भने घुम्तीमा जोखिम न्यूनीकरण गर्न पर्खाल लगाइएको छ । सडकलाई छ देखि सात मिटर फराकिलोमा ढलान गरेपछि गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि सल्यान, भर्जुला, हिदीलगायत स्थानका सर्वसाधारणलाई राहत भएको छ ।

यो सडक मङ्गलाको वडा नं १ र २ का गाउँबस्तीलाई गाउँपालिकासँग जोड्ने सडकको रुपमा चिनिन्छ । पहिले सडक जीर्ण हुँदा दुर्घटनासमेत हुनेगरेको ठाउँमा ढलान गरेपछि  सहजरूपमा सवारीसाधन आवतजावत गर्नसक्ने भएको वडासदस्य ओमकार शेरपुञ्जाले जानकारी दिए ।

यो सडकखण्डबाट करिब पाँच सय घरधुरी लाभान्वित हुँदै आएका छन् । सडकखण्डको अन्य ठाउँमासमेत स्तरोन्नतीका लागि गाउँपालिकामा पहल गरिएको वडा सदस्य शेरपुञ्जाले बताए।