कोशीमा मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत
बिराटनगर । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएसँगै एमालेको सरकार ढलेको हो ।
कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ मत प्राप्त गरे । उनको विपक्षमा भने ४३ मत परेको छ ।
प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ४७ मत आवश्यक हुन्छ । प्रदेशसभामा आजको बैठकमा कुल सङ्ख्या ९३ मध्ये ८९ प्रदेशसभा सदस्य उपस्थित थिए ।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ (४) बमोजिम मुख्यमन्त्री कार्कीले प्रदेशसभामा बिहीबार उक्त प्रस्ताव पेश गरेका थिए ।
विश्वासको मत प्रस्तावमाथि बिहीबारको बैठकमा प्रदेशसभा सदस्यहरुले आफ्ना भनाइ राखेका थिए । आजको बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिँदै जनताले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएको र दलहरु मिलेर नै सरकार बनाउनुको विकल्प नभएको बताए । उनले त्यसअघि आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको विश्वासको प्रस्ताव उपर तटस्थ बस्ने निर्णय गरेकाले पार्टीका एक मात्र प्रदेशसभा सदस्य निर्मला तावा लिम्बू आजको बैठकमा उपस्थित भएनन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया