NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रचण्डलाई विष्णु रिमालको प्रश्न : तपाईंलाई प्रधानमन्त्री प्रीतमले बनाएको होकि नेपालको संसदले ?

काठमाडौं । एमालेका उपमहासचिव विष्णु रिमालले प्रचण्डलाई प्रीतम सिंहले बनाएको प्रधानमन्त्री भएको आरोप लगाएका छन् ।

सोमबार राजधानीको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार सिंहले पटक पटक दिल्ली गएको प्रशंग उल्लेख गरेका थिए ।

उनको सोही अभिव्यक्तिलाई लिएर रिमालले सधैंभरी काँक्रो आफूले खाएर बियाँ अर्काको गालामा टाँस्ने कला भएको प्रचण्ड योपटक आफ्नै गालामा टाँसिएको पत्तो नपाएको भन्दै ब्याङ्ग्य गरे ।

सधैंभरी आफूले काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने कलाका च्याम्पियन पुष्पकमल दाहालजीले यसपाली बियाँ पनि आफ्नै गालामा टाँसिएको पत्तो पाउनु भएन’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नै पर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ ? यसपाली चाहिँ तपाइँलाई प्रधानमन्त्री कसले बनाएको हो ?’

त्यसको जवाफ प्रधानमन्त्री प्रचण्डसँग बुधबार संसदले माग्नै पर्छ उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री स्वयंले प्रीतम सिंहले दिल्ली ओहोर दोहोर गरेर आफूलाई प्रधानमन्त्री बनाए भन्दा सार्वभौम संसदको शीर झुकेको उनको भनाइ छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति जननिर्वाचित प्रतिनिधिसभाको सर्वोच्चताको अपमान भएको एमालेले आरोप लगाएको छ । सोही विषयलाई लिएर बुधबार दिउँसो बस्ने संसद बैठकमा विरोध जनाउने रणनीति बनाएको छ ।