NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रचण्डको आफ्नै अभिव्यक्तिले निम्त्याएको संकट, एमालेलाई खेल्ने मौका

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड केही दिनअघि आफैले दिएको विवादास्पद अभिव्यक्तिका कारण राजनीतिक र नैतिक संकटमा फसेका छन् ।

सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) पुस्तकको विमोचन कार्यक्रममा प्रचण्डले सिंहको प्रशंसा गरेका थिए ।

ट्रक चालकको रुपमा भारतको जम्मुबाट सन् १९५७ मा पहिलोपटक सरदार सिंह नेपाल आएका थिए । त्यतिबेला उनी २२ वर्षका थिए । नेपालमा यातायात क्षेत्र, सडक र शिक्षामा सम्भाव्यता देखेका उनको तत्कालीन राजा महेन्द्रसँग भेट हुन्छ । महेन्द्रले यातायात क्षेत्रमा लगानी गर्न प्रस्ताव गरेपछि सिंहले यातायात र शिक्षा क्षेत्रमा व्यवसायीक रूपमा काम अगाडि बढाए ।

नेपालको यातायात क्षेत्रमा उनको २५ प्रतिशत योगदान रहेको मानिन्छ । सोही क्रममा सिंहको सम्बन्ध राज दरबारदेखि राजनीतिक दलका शीर्ष नेतासम्म स्थापित भयो । साथै, माओवादी शान्ति प्रक्रियामा आएपश्चात् वर्तमान प्रधानमन्त्री प्रचण्डसँग उनको हिमचिम बढ्दै गएको देखिन्छ । सिंहसँग प्रचण्डको पारिवारिक भावनात्मक सम्बन्ध रहेको मानिन्छ । सोही कार्यक्रममा प्रचण्डले नेपाल र भारतका जनताबीच सम्बन्ध स्थापित गर्न सिंहको उच्च योगदान रहेको बताए । प्रचण्ड त्यतिमा मात्र सिमित रहेनन्, आफूलाई प्रधानमन्त्री बनाउन उनी नेपालदेखि दिल्लीसम्म पटक पटक पुगेको प्रशंग स्मरण गराए ।

‘यातायात, सामाजिक सेवा, शिक्षा क्षेत्रमा मात्र होइन, उहाँ राजनीतिमा पनि रूचि राख्नु हुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटी दिल्ली जानुभयो । काठमाडौंमा ठूल्ठूला पार्टीका नेताहरूसँग पनि उहाँले लगातार छलफल गर्नुभयो । उहाँ राजनीति सफा भयो भनेमात्र देश विकास हुन्छ भन्ने विश्वास गर्नुहुन्छ । म शान्ति प्रक्रियामा आएदेखि नै उहाँसँग राम्रो सम्बन्ध छ । हुन त पम्फा भुसालको घर नजिक उहाँको घर भएकाले पनि हामी एक अर्काबीच नजिकिने, बुझ्ने र सहकार्य गर्ने मौका मिल्यो’, सिंहको प्रशंसा गर्दै प्रचण्डले भनेका थिए ।

विपक्षीले मागे प्रधानमन्त्रीको राजीनामा

प्रचण्डको उक्त अभिव्यत्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार संसदीय दलको आकस्मिक बैठक बोलायो । बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति सार्वभौम संसद र देशको शीर झुकाउने खालको भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गर्यो ।

‘प्रधानमन्त्रीको अभिव्यक्तिले सार्वभौम संसद, देशको स्वाभिमानमाथि अपमान भएको छ । उहाँको अभिव्यक्ति कुनै हालतमा पनि क्षम्य छैन । उहाँले प्रधानमन्त्रीमा बस्ने राजनीति र नैतिक अधिकार गुमाइसकेका छन् । त्यसैले प्रधानमन्त्रीले राजीनामा माग्ने निर्णय गरेको छ’, बैठकपछि सचेतक महेश बड्तौलाले भने ।

बैठकको निर्णयसँगै दिउँसो बसेको संघीय संसदको दुवै सदनमा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै अवरोध गर्यो । प्रतिनिधिसभा बैठककोे सुरूमै बोलेका एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सार्वभौम र स्वाभिमानमा ठेस लागेको बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्ति लेण्डुप दोर्जेको नेपाली संस्करण भएको आरोप लगाउँदै राजीनामा नदिएसम्म संसद चल्न नदिने चेतावनी दिए ।

‘प्रधानमन्त्रीको अभिव्यक्ती गम्भीर, नेपाली स्वाभिमान र सार्वभौम संसदको गरिमामा ठेस पुर्याउने खालको छ । उहाँलाई नेपाली संसदले प्रधानमन्त्री बनाएको हो कि प्रीतम सिंहले ?’, उनले भने, ‘सभामुख महोदय प्रधानमन्त्रीको अभिव्यक्ति लेण्डुप दोर्जेको नेपाली संस्करण हो । उहाँलाई प्रधानमन्त्रीको पदका बस्ने कुनै राजनीति र नैतिक आधार छैन । तत्काल राजीनामा दिनुपर्छ ।’

यसैगरी राष्ट्रिय सभा बैठकमा पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरोध गर्दा बैठक स्थगित भएको छ । संसदको सुरूमै बोलेका एमाले संसदीय दलको नेता देवेन्द्र दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र सार्वभौम संसदको अपमान भएकाले तत्काल राजीनामा दिन माग गरे ।

तर आफ्नो अभिव्यक्तिको बचाउ गर्दै प्रधानमन्त्रीले सिंहले बोलेको कुरा आफूले बोल्दा एमालेले बबण्डर गर्न खोजेको गुनासाे गरे ।

‘मैले बोलेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन’, उनले भने, ‘त्यसले के देखिन्छ भने हाम्रा विपक्षीहरुमा कति धेरै पूर्वाग्रह र विक्षिप्त छ भन्ने कुरा देखिन्छ । तर, हामी दृढताका साथ आफ्नो मिसनमा अगाडि बढेका छौं’, उनले भने ।

हतारमा अभिव्यक्ति दिने फुर्सदमा पछुताउने प्रचण्डको पुरानै बानी

यसरी हतारमा प्रतिक्रिया दिने र फुर्सदमा पछुताउँदै आएका प्रचण्ड पटक पटक आफ्नै अभिव्यक्तिले विवादमा तानिँदै आएका छन् । शान्ति प्रक्रियामा आएको केही समयमै सरकारलाई झुक्याएर क्यान्टोन्टमेन्टमा माओवादी लडाकु संख्या बढाउन सफल भएको अभिव्यक्तिले उनी विवादमा तानिए ।

२०६४ मा चितवनको शक्तिखोर शिविरको आन्तरिक प्रशिक्षणमा प्रचण्डले ७/८ हजारको हाराहारीमा पुगिसकेको लडाकुलाई बढाएर ३५ हजार पुर्याउन सफल भएको अभिव्यक्ति दिएका थिए । उक्त टेप उनी पहिलोपटक प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सार्वजनिक भएको थियो । लडाकु शिविर काण्डले चर्चित रहेको विवाद अहिले अख्तियारमा पुगेको छ । यसैगरी १ माघ, २०७६ मा जनयुद्धमा मारिएका ५ हजारको जिम्मा आफूले लिने उनको सार्वजनिक अभिव्यक्ति विवादमा तानियो । उनको अभिव्यक्तिलाई लिएर सर्वोच्चो अदालतमा अहिले मुद्दा विचाराधिन रहेको छ ।

त्यस्तै एमसिसी सम्झौतामा प्रचण्डले नेपाली जनतालाई ढाँटेर राष्ट्रघात गरेको आरोप लागेको छ । यी लगायत प्रचण्डको धेरै सार्वजनिक अभिव्यक्तिले उनी लगायत पार्टीलाई समेत गम्भीर क्षति पुर्याएको छ ।

एमालेका उपमहासचिव विष्णु रिमालले काँक्रा खाएर सँधै अर्काको गालामा बिउ टास्न च्याम्पियन रहेका प्रचण्ड योपटक आफ्नै गालामा बिउ टाँसिएको पत्तै नपाएको भन्दै उनलाई ब्याङ्ग्य गरेका छन् । बाहिर एउटा र भित्र अर्को गतिविधि गरेर दोहोरो चरित्र देखाउँदै आएको आरोप लागेका उनी आफ्नो अभिव्यत्तिलाई सन्तुलित राख्न नसक्दा पटक पटक समस्यामा पर्दै आएका छन् ।