NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

समाजवादी मोर्चाबाट ‘आउट’ भएपछि यसरी खनिए बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले चारदलीय समाजवादी मोर्चा कांग्रेस र एमालेसँग  मोलमोलाइ गरेर सत्ता दोहन गर्न खोलिएको आरोप लगाएका छन् ।

समाजावदी मोर्चाका सुत्रधार मानिएका भट्टराई मोर्चामा नसमेटिएपछि उनी आक्रोसित भएका हुन् । मंसिरमा भएको निर्वाचनअघि नै भट्टराईसहितको समाजवादी मोर्चा गठन हुने प्रचार गरिएको थियो । भविष्यमा पार्टी एकता गर्ने गरी नेसपाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचमा माओवादीको चुनाव चिन्ह लिएको थियो ।

अन्तिम समयमा नेत्रविक्रम चन्द विप्लव मोर्चामा इन्ट्री भएपछि उनी आउट भएका थिए । माेर्चामा नेसपा नअटाएपछि माओवादीकै नेता तथा कार्यकर्ताहरूले उनीमाथि प्रश्न गरेका थिए । मोर्चा गठन भएको २३ दिनपछि शनिबार भट्टराईबिनै पहिलो बैठक बसेको थियो । आफ्नो सल्लाह र परामर्शबिना मोर्चा गठन भएको र बैठक बसेकोमा आक्रोसित भएका उनले अब नयाँ शक्ति बनाएर अघि बढ्ने बताएका छन् । साथै उनले मोर्चाबारे दुई बुँदे दृष्टिकोण अघि सारेका छन् ।

‘अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफल विनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो’, आइतबार उनले ट्वीटरमा लेखेका छन्, ‘नयॉ युगको नयॉ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलार्इ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो।’

यस्तो छ मोर्चाबारे बाबुरामको दुई बुँदे दृष्टिकोण :

धेरै शुभेच्छुकहरू विशेषतः माओवादी आन्दोलनमा लागेका साथीहरूले हामीलाई आफैंले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट किन अलग भएको भनेर र अन्य कतिपयले तपाईं पुराना शक्तितिर कि नयॉ शक्तितिर भनेर निरन्तर प्रश्न गरिरहनुभएकाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु आवश्यक भएको छ।

१. नेपालमा संविधानसभाबाट समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि ती उपलब्धीहरूको रक्षा गर्दै सुशासन र समृद्धिको जगमा समुन्नत समाजवाद निर्माण गर्न नयॉ ढंगको समाजवादी केन्द्र वा समाजवादी मोर्चा आवश्यक छ भन्ने प्रस्तावना हामीले अघि सारेकै हो।

सकेसम्म पुराना शक्तिहरूको रूपान्तरणबाटै त्यस्तो शक्ति बन्नसके सहज हुन्छ भन्ने इमान्दार प्रयत्न हामीले गरेकै हो।त्यसनिम्ति गम्भीर प्रकृतिको वैचारिक-राजनीतिक छलफलको आग्रह पनि गरेकै हो।

परन्तु पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक–राजनीतिक विषयप्रतिको अरूची/अनिच्छा र खालि तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफल विनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो। नयॉ युगको नयॉ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो।

२. जहॉसम्म हामी नयॉ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ हामी नै वास्तवमा वैचारिक रूपले गत एक दशकदेखि देशमा नयॉ वैकल्पिक राजनीति शक्तिका प्रमुख प्रवर्तक भएकाले हामी नयॉ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ।

बीचमा केही क्षेत्रीयतावादी शक्तिहरूसँग सहकार्य गर्दा हाम्रो छवी जनसमक्ष धमिलिन पुगेको कुरालाई स्वीकार्दै हामीले आत्मालोचना सहित त्यलाई सच्याउने कार्य गरिसकेका छौं । अतः नयॉ युगको र देशको आवश्यकता अनुरूप हामी देशमा उदाउॅदै गरेका सबै अग्रगामी नयॉ शक्तिहरूसँग सहकार्य गर्दै वृहत्त नयॉ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढंगले स्पष्ट पार्न चाहन्छौं।