बागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान
बागमती । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई ३० करोड रूपैयाँ अनुदान दिएको छ । प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ पैसाका दरले अनुदान दिएको हो ।
मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार गत आर्थिक वर्षमा १६ करोडमात्रै प्रतिलिटर एक रुपैयाँ ६३ पैसाका दरले वितरण गरिएको थियो । प्रदेशले आव २०७५/७६ मा कार्यविधि बनाएर दुग्ध उत्पादक किसानलाई अनुदान दिन सुरु गरेको हो । कार्यविधिमा दोहोरो नपर्ने गरी अनुदान दिन सकिने व्यवस्था रहेको छ ।
यसै कारण स्थानीय पालिकाले अनुदान दिएका चितवनका तीन पालिकाका किसानलाई अनुदान दिन नसकिएको उनले जानकारी दिए । भरतपुर, राप्ती र माडी नगरपालिकाका ७० वटा सहकारीका किसानलाई अनुदान दिन नसकिएको उनले बताए । उनले भने, ‘चाहेर नभएर कार्यविधिले रोकेर दोहोरो अनुदान दिन सकिएन ।’ कार्यविधिमा त्यो व्यवस्था नभएको भए अनुदान दिन सकिने उनको भनाइ छ ।
भरतपुर महानगरपालिकाले प्रतिलिटर रु तीन, माडी नगरपालिकाले रु चार र राप्ती नगरपालिकाले ५० पैसा अनुदान दिँदै आएका छन् । अनुदान रकम दोहोरो परेर रोकिएपछि किसान भने आन्दोलित भएका छन् । अनुदानका लागि किसानलाई बैंक खातासमेत खोल्न लगाएर अन्तिम समयमा अनुदान रोकेको किसानको गुनासो छ । उनीहरूले कार्यविधि सच्याएर भए पनि अनुदान दिनुपर्ने माग गरेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया