NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सचिव राउत पक्राउको सन्देश– अधिकृतहरू व्यावसायिक बन

कठमाडौं । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परे । तुलनात्मक रूपमा राम्रा मानिने राउत पक्राउपछि कर्मचारी प्रशासन तरंगित हुन पुगेको छ ।

सार्वजनिक प्रशासनमा रहेर पदको मर्म र मर्यादा नबुझ्नेहरूका लागि यो सामग्री निकै महत्त्वपूर्ण हुनसक्छ । हाकिमको आदेश पालना गरेकै भरमा कर्मचारी सुरक्षित हुन सक्दैन भन्ने गतिलो उदाहरण हो, राउत पक्राउ प्रकरण । किनभने, हाकिमले भनेपछि गर्ने, अन्यथा नगर्ने परिपाटी कर्मचारी प्रशासनमा व्याप्त छ । यो घटनाले हाकिमले सधैँ असल काम मात्र नलगाएर खराब काम पनि लगाउँछन् भन्ने प्रष्ट पारेको छ ।

सार्वजनिक प्रशासनमा रहेर सचिव राउतको संगत गर्नेहरू राउत पक्राउ परिरहँदा आश्चर्यमा परेका छन् । प्रशासकहरूमाझ उनी शालीन, सदाचारी प्रशासकका रूपमा परिचित थिए । त्यस्तो व्यक्ति बालुवाटार सरकारी जग्गा हिनामिनामा संलग्नको आरोपमा पक्राउ परेका छन् ।

बालुवाटार सरकारी जग्गा हिनामिनामा उनी बहालवाला एक मात्र सचिव हुन्, जो अनुसन्धानका लागि हिरासतमा छन् । यसअघि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाठको आरोपमा उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए । उनी अहिले जिल्ला अदालत, काठमाडौंको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।

राउतमाथि बालुवाटार जग्गा व्यक्तिको नाममा सार्ने टिप्पणी उठाएको आरोप छ । त्यतिबेला उनी भौतिक मन्त्रालयमा शाखा अधिकृत थिए । राउतसँग संगत गर्नेहरू अहिले विभिन्न कोणबाट यो प्रकरणबारे टिप्पणी गरिरहेका छन् । विगतमा बेसुरमा टिप्पणी उठाउनेहरूमाझ राउत झनै धेरै चर्चामा छन् । सिंहदरबारको क्यान्टिनहरूमा कर्मचारीलाई सचिव राउतका सम्बन्धमा टिका–टिप्पणी गर्न भ्याइनभ्याइ छ ।

अधिकाशंको साझा टिप्पणी छ, इमानदार भनेको हाकिमको आदेश मान्नु मात्रै होइन रहेछ । हरेक कर्मचारीले म के गर्दैछु भन्ने जान्न आवश्यक छ ।

विधि र पद्धतिले काम गर्दा राउत मुख्य सचिवसम्म बन्ने सम्भावना बोकेका प्रशासक थिए । तर व्यवहारमा उनमा परिपक्कता भने नरहेको उनका समकक्षीहरू बताउँछन् । ‘व्यक्तिगत रूपमा ऊ पैसामा गिरिहाल्ने मान्छेजस्तो पनि लाग्दैनथ्यो । तर उसमा विषयवस्तुलाई गहिरिएर नहेर्ने समस्या चाहिँ थियो,’ राउतसँग सरसंगतमा रहेका एक पूर्वसचिवले भने ।

ती पूर्वसचिवले अगाडि थपे, ‘राम्रो काम गर्दागर्दै पनि परिबन्धले कर्मचारीहरू फस्न सक्छन् भन्ने सन्देश राउतको पक्राउले दिएको छ । साथै कर्मचारीमा व्यवसायिकता नहुँदा, अध्ययन गर्ने बानी नहुँदा नराम्रो नगर्दा पनि फस्न सकिन्छ भन्ने सन्देश पनि हो यो ।’

राउतको भूमिकामाथि टिप्पणी गर्दै अर्का एक सहसचिव भन्छन्, ‘राउत इमानदारमध्येका एक प्रशासक थिए । यसमा कुनै द्विविधा छैन । तर उनले ध्यान दिनुपर्ने के थियो भने भूमिसुधार मन्त्रालयको काम भौतिक मन्त्रालयबाट भइरहेको थियो । भौतिक मन्त्रालयमा पनि आन्तरिक प्रशासन शाखाले गर्नुपर्ने काम उनी अर्कै शाखामा रहेका उपसचिवले टिप्पणी उठाउँदै थिए । म अर्को शाखाको मान्छेलाई किन अर्को शाखाले अघि बढाउनुपर्ने टिप्पणी उठाउन लगाएको भनेर सचेत हुनुपथ्र्यो । त्यसमा संलग्न हुनु हुँदैनथ्यो ।’

राउतले गरेको यही गल्तीले बहालवाला सचिव रहँदाकै अवस्थामा पक्राउ परेर हिरासतमा बस्नुपरेको उनलाई नजिकबाट बुझ्नेहरू बताउँछन् ।निर्णय गर्नेहरू नफस्ने, निर्देशन मानेर टिप्पणी उठाउनेहरू फस्ने घटनाले सार्वजनिक प्रशासनको चीरहरण हुने कतिपय कर्मचारीहरू बताउँछन् ।

पूर्वप्रशासक शारदाप्रसाद त्रितालको मत भने केही भिन्न छ । उनी भन्छन्, ‘बालुवाटारको सरकारी जग्गा हिनामिना हुन राउतले भौतिक पूर्वाधार मन्त्रालयमा रहँदा उठाएको टिप्पणी पनि जिम्मेवार थियो । यो घटनालाई हरेक अधिकृतले टिप्पणी उठाउँदा ध्यान दिनुपर्छ है भन्ने सन्देश दिएको छ ।’

नेपाल सरकारको अधिकृत बन्न कम्तीमा स्नातक उत्तीर्ण गरेको हुन्छ । त्यस्तो व्यक्तिले आदेश मात्रै होइन, विवेक पनि प्रयोग गर्नुपर्छ अर्थात आफ्नो व्यावसायिक क्षमताको प्रयोग नगरेमा स्वार्थी तत्वको फन्दामा पर्न सकिंदो रहेछ भन्ने सन्देश यो घटनाले दिएको पूर्वसचिव त्रितालको भनाइ छ ।