NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नायिका साम्राज्ञीविरूद्ध अभिनेता भुवनले हारेको त्यो मुद्दा…

काठमाडौं । अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहविरूद्ध तीन वर्षअघि १० करोड क्षतिपूर्ति दाबीसहित दायर गरेको गाली बेज्जती मुद्दा अभिनेता भुवन केसीले हारे । जिल्ला अदालत काठमाडौंका न्यायाधीश वाशुदेव पौडेलको इजलासले केसीको दाबी नपुग्ने भन्दै बुधबार साम्राज्ञीको पक्षमा फैसला गर्यो ।

आफूले काम गरेको चलचित्रमध्ये तीन चलचित्रमा सुटिङका क्रममा यौन दुव्र्यवहार गरेको आरोप उनले सामाजिक सञ्जालबाट लगाएकी थिइन् तर नाम कसैको पनि उल्लेख गरेकी थिइनन् । तर एक कदम अगाडि बढेर केसीले साम्राज्ञीलाई सामाजिक सञ्जालमै कडा जवाफ फर्काए ।

आफूले डेब्यू दिएकै कारण साम्राज्ञी चलचित्र क्षेत्रमा चलेको दाबी गरे । साम्राज्ञीले ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’समेत आरोप लगाए । केसी यतिमा मात्र सिमित रहेनन् । साम्राज्ञीले सामाजिक सञ्जालमा गाली बेज्जती गरेको आरोप लगाउँदै कलाकार संघमा उजुरी दिए । साम्राज्ञीविरूद्ध विभिन्न मिडियामा अन्तर्वार्ता दिएका थिए । उनी त्यतिमा मात्र सिमित रहेनन् । ९ साउन, २०७७ मा साम्राज्ञीविरुद्ध मुद्दा दायर गरे । सामाजिक सञ्जालमा छाताछुल्ल भएको अभिनेता र अभिनेत्रीबीचको आरोप–प्रत्यारोप केसीले अदालतमासमेत प्रवेश गराए । सुरूमा अदालतले यी दुइबीचको झगडा मिलाउन नखोजेको होइन तर केसीले नियमित प्रक्रियामा जाने अडान लिएपछि मुद्दाले गति लिएको हो । अन्ततः मुद्दा जित्न असफल भए । यद्यपि मुद्दामा चित्त नबुझे पुनरावेदनका लागि उच्च अदालत जाने बाटो उनलाई खुला रहेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका केसीले मुद्दा हारेपछि अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । यसअघि पनि विभिन्न विवादमा आइराख्ने अभिनेता केसी आफ्नै कारण करियरमा ठूलो धक्का लागेको छ । शंकाले लंका पिट्दा दाबी नपुग्ने मुद्दामा केसी आफै फसेका छन् । विवेकको बाटो बन्द गरेर अनावश्यक दम्भ देखाउँदाको परिणाम केसीले भोग्न बाध्य भएका छन् । यो उनको जीवनको लागि ठूलो पाठ भएको छ ।

यता मुद्दा जितेपछि साम्राज्ञीले आफ्नो पक्षमा वकालत गर्ने कानुन व्यवसायी, सहयोग मन तथा शुभचिन्तकलाई धन्यवाद दिँदै बल्ल श्वास फेर्न पाउँछु भनेकी छिन् । ‘यो यात्रा सजिलो थिएन । वकिलहरू अशांक मल्ल, दिनेश त्रिपाठी, दृष्टि दाहाल, राष्ट्र तिमिल्सिना र जयलाल भण्डारीले मेरा लागि लड्नुभयो । मैले जितेँ । अब बल्ल श्वास फेर्न पाउँछु । जीवनको नयाँ अध्याय सुरु गर्न पाउँछु । मलाई शुभकामना दिनुहोला’, इस्टाग्राममा उनले भिडियो शेयर गर्दै खुशी व्यक्त गरेकी छिन् ।

न्यायको सधै जित हुन्छ भन्दै उनले यस क्षेत्रमा आउने नयाँ र उदीयमान महिलाहरू कसैलाई पनि आफ्नो आवाज बन्द गर्न आग्रह गरेकी छिन् । सत्य बोल्न, आफूले विश्वास गरेको कुराको लागि तयारी भएर उभिन सल्लाह दिएकी छिन् ।

ताजा अपडेट

नेपालवाच विशेष