NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

के प्याजको रसले कपाल झर्न रोक्छ ?

काठमाडौं । कपाल झर्ने र पातलो हुने समस्या महिला र पुरुष दुवैमा देखिन्छ । दैनिक सय वटासम्म कपाल झर्नुलाई सामान्य रुपमा लिन सकिन्छ । तर, त्योभन्दा पनि बढी कपाल झर्न थाल्यो भने समयमै सजक हुनु पर्दछ ।

पछिल्लो समय सामाजिक सञ्जालमा हेयर केयर र स्किन केयरका अनेक भिडियोहरु भाइरल हुने गरेका छन् । त्यस मध्ये एक हो प्याजको रसले कपाल झर्न रोक्छ भन्नु । के प्याजको रसले वास्तवमै कपाल झर्न रोक्छ त ? छाला तथा कपाल रोग विषेशज्ञ डा. प्रकाश आचार्यका अनुसार अहिलेसम्म यसबारे वैज्ञानिक अध्ययन भने भएको छैन ।

सन् २००२ मा गरिएको एक अध्ययनले एलोबेसिया एरियटा भन्ने रोगमा प्याजको प्रयोगले राम्रो असर देखाएको थियो । अहिलेसम्मको कुरा गर्नुपर्दा यसबारे कुनै ठोस प्रमाण भने भेटिएको छैन । यद्यपी, प्याजको रसले कपाल झर्न कम नै नगर्ने भन्ने चाहिँ होइन । तर हामीले के बुझ्नु पर्दछ भने कपाल झर्ने सयौँ कारण छन् र सबैमा प्याजको रसले काम गर्छ भन्न पनि सकिँदैन ।

हाम्रो कपालको साइकलको एउटा टेलोजन भन्ने स्टेजमा कपालहरु झर्नका लागि तयार भएका हुन्छन् । हामीलाई डेंगू, कोरोना जस्ता रोग लाग्यो भने र एक्कासी तौल घट्यो भने हाम्रो कपाल टेलोजेन भन्ने अवस्थामा पुग्दछ र धेरै झर्दछ ।

कतिपयलाई प्याजको रसले एलर्जी पनि हुन सक्दछ र समस्या झनै बढ्दछ । त्यसैले यी सबै कुरालाई ध्यानमा राखेर मात्र कुनै पनि चिजको प्रयोग गर्नु पर्दछ ।