काठमाडौंमा बढ्यो आपराधिक गतिविधि
काठमाडौं । काठमाडौंमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराधको सङ्ख्या बढ्दै गएको हो ।
आव २०७७/७८ मा पाँच हजार ६६२, आव २०७८/७९ मा आठ हजार नौ सय ७७ र आव २०७९/८० मा १३ हजार चार सय ६४ अपराधका मुद्दा दर्ता भएका थिए । प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौंभित्र बैंकिङ कसुर र आर्थिक अपराधका मुद्दा बढेको बताए ।
“पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिट्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी ठगी गर्ने प्रवृत्ति बढेको छ,” उनले भने ।
आव २०७९/८० मा दर्ता भएका १३ हजार चार सय ६४ अपराधका मुद्दामध्ये बैंकिङ कसुरका मात्र सात हजार १०१, अभद्र व्यवहारका दुई हजार आठ सय ९४, चोरीसम्बन्धी छ सय ४७, ठगीका चार सय १४, लागुऔषधका तीन सय ६८, आत्माहत्यासम्बन्धी तीन सय ५७ मुद्दा रहेका छन् ।
यस्तै महिला तथा बालबालिकासम्बन्धी कसुरमा तीन सय २६, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी एक सय ८९, कर्तव्य ज्यानसम्बन्धी २७ र अन्य अपराधका एक हजार एक सय ४१ मुद्दा दर्ता भएका थिए । यहाँका प्रहरीले हाल काठमाडौँभित्र ५६ प्रहरी इकाईमार्फत सुरक्षा प्रवाह गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया