NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नामको दुरुपयोग गरेको भन्दै निर्वाचन आयोगप्रति सांसद गौतमको आपत्ति

काठमाडौं । तोकिएको समयमा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारको नामसूचीमा आफ्नो पनि नाम परेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आपत्ति जनाएकी छिन् ।

मंंगलबार निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै २ हजार ४ सय ३५ उम्मेदवारलाई १५ हजार जरिवाना गरिएको जानकारी दिएको थियो ।तोकिएको समयमै जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा निर्वाचन खर्च विवरण पेस गरेको सांसद गौतमले जानकारी दिएकी छिन् ।

उनले ट्विटरमार्फत भनेकी छिन्, ‘मैले मिति २०७९/०८/२८ गते दर्ता नं. १९ मा जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा प्रतिनिधि सभा सदस्य ऐन २०७४ को दफा ७२ बमोजिम निर्वाचन खर्च विवरण पेस गरेको छु । मैले बुझाएको खर्च विवरण मेरो व्यक्तिगत फेसबुक एकाउन्ट र विभिन्न राष्ट्रिय दैनिक तथा अनलाईन न्युजमार्फत सार्वजनिक भएको थियो ।’

कानुनको गलत व्याख्या गरी, बिना कानुनी आधार आफ्नो नामको दुरुपयोग गरेकोमा गौतमले निर्वाचन आयोगको ध्यानाकर्षण गराएकी हुन् ।

२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिनिधि सभाका २ हजार ३ सय ७४ जना र प्रदेश सभाका ३ हजार १ सय ८८ जना समेत गरी जम्मा ५ हजार ५ सय ६२ जना उम्मेदवारहरूलाई गत वैशाख ६ गतेदेखि १२ गतेसम्‍म खर्च विवरण सार्वजनिक गर्न निर्वाचन आयोगले भनेको थियो ।