NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

नेपालको सार्वजनिक प्रशासनका विशेषता र संघीय प्रशासनिक संरचनाका प्रमुख कार्यहरु

काठमाडौं । जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपसचिव डिजन भट्टराई(पिएचडी) ले नेपालको सार्वजनिक प्रशासनका विशेषतासँगै संघीय प्रशासनिक संरचनाका प्रमुख कार्यहरुबारे प्रश्नको समाधान सुझाउनुभएको छ ।

नेपालको सार्वजनिक प्रशासनका विशेषताबारे उल्लेख गर्दै संघीय प्रशासनिक संरचनाका प्रमुख कार्यहरु लेख्नुहोस । ५+५ =१०

१. सार्वजनिक प्रशासनको परिचय

सार्वजनिक प्रशासनले वैधानिक राज्य शक्तिको माध्यमबाट सार्वजनिक निकायहरुमा विद्यमान विभिन्न स्रोत साधनहरुको समुचित परिचालन गरी सरकारका नीति तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयनलाई कुशलतापूर्वक संयोजन गर्दै सांगठनिक लक्ष्य हासिल गर्ने कुरालाई जनाउँछ ।

२. नेपालका सार्वजनिक प्रशासनका विशेषता

नेपालका सार्वजनिक प्रशासनका विशेषताहरु देहाय अनुसार प्रस्तुत गर्न सकिन्छः

  • नेपालले अबलम्बन गरेको संघात्मक संरचना अनुरुप सार्वजनिक प्रशासन पनि संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहमा संरचित
  • तीनै तहका प्रशासनिक संरचना बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनु
  • सोपानगत ठाडो संगठन संरचना र कर्मचारीतन्त्रीय कार्यशैलीको अबलम्बन
  • राजनीतिक रुपमा तटष्थता र सरकारका नीतिप्रतिको प्रतिवद्धताको परिपालन
  • कार्य विशिष्टीकरण बमोजिम विभिन्न सेवा, समुह र उपसमूहको वर्गीकरण
  • दर्जामुलक प्रणाली अन्तर्गतका श्रेणीगत र तहगत दुबै पद्धतिको मिश्रित प्रयोग
  • प्रशासनिक र विशेषज्ञ दुबै प्रकृतिका कर्मचारीहरु रहेका
  • केन्द्रीकृत, गोप्यतावादी र प्रक्रियामुखी कार्यशैलीको प्रयोग
  • प्रदेश र स्थानीय सेवामा पनि संघीय सेवाका कर्मचारी रहने व्यवस्था गरी सबै तहमा समन्वय कायम गर्ने प्रयास गरिएको
  • सेवाको सुरक्षा, अनुशासन र आचारसंहिताको व्यवस्था, समावेशी प्रशासन बनाउने प्रयास
  • सार्वजनिक प्रशासनमा ट्रेड युनियनको व्यवस्था
  • लोकतान्त्रिक मुल्य मान्यतामा आधारित, जनताप्रति उत्तरदायी, पारदर्शी, जवाफदेही र सुशासनयुक्त प्रशासनका लागि क्रियाशील

३. संघीय प्रशासनिक संरचनाका प्रमुख कार्यहरु

संघीय प्रशासनिक संरचनाका प्रमुख कार्यहरु देहाय अनुसार रहेका छन्ः

  • नेपालको संविधानको अनुसूची ५, ७, ९ र धारा ५८ बमोजिम निर्माण गरेका नीति, कानुन, योजना तथा कार्यक्रमको कार्यान्वयन गर्ने
  • संघको अधिकार क्षेत्रभित्र पर्ने विषयमा सेवा प्रवाह र विकास व्यवस्थापन गर्ने
  • राजनीतिक पदाधिकारीहरुलाई नीति निर्माणमा प्राविधिक तथा विशेषज्ञ सेवा प्रदान गर्ने
  • सरकारको तर्फबाट कुटनीतिक सम्बन्धका साथै अन्तर्राष्ट्रिय व्यापार र वैदेशिक सहायताको व्यवस्थापन गर्ने
  • शान्ति, सुरक्षा र प्रतिरक्षा प्रणालीको व्यवस्थापन गर्ने
  • मुलुकको मुद्रा तथा वित्तीय प्रणालीको स्थापना, नियमन र सञ्चालन गर्ने
  • निजी, गैरसरकारी तथा सामुदायिक क्षेत्रको नियमन, सहजीकरण तथा सहकार्य गर्ने
  • प्रादेशिक र स्थानीय प्रशासनको मार्गदर्शन, समन्वय र सहजीकरण गर्ने

४. निष्कर्ष :

शासन सञ्चालनको महत्वपूर्ण संयन्त्रका रुपमा रहेको नेपालको सार्वजनिक प्रशासन संघीय संरचनामा आधारित रहेको छ । एकात्मक राज्यव्यवस्थाबाट विस्तारै संघात्मक व्यवस्थाको प्रणालीमा विकास हुँदै गरेको यस प्रणालीमा प्रतिरक्षा, मुद्रा, राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धको व्यवस्थापन लगायतका क्रियाकलापहरु संघीय प्रशासनिक संयन्त्रका प्रमुख कार्यका रुपमा रहेका छन् ।

 

लोक सेवा परीक्षा तयारीसँग सम्बन्धित यसअघि प्रकाशिन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्