NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

नगर्नुहोस् यी गल्ती जसले गर्दा झर्छ कपाल

काठमाडौं । कपाल झर्ने समस्याले पछिल्लो समय कतिपय व्यक्तिलाई तनाव दिएको छ । व्यस्त जीवनशैली, असन्तुलित खानपिन, धुलो, धुँवा जस्ता कारणहरुले पनि कपाल झर्ने समस्या सृजना गर्दछ । बजारमा कपाल झर्न रोक्ने, नयाँ कपाल उमार्ने भन्दै विज्ञापन गरिएका विभिन्न तेलहरु छ्यापछ्याप्ती पाइन्छ । तर हामीले गर्ने स– साना गल्तीले पनि कपाल झरिरहेको हुन्छ । आज हामी कपालमा प्रयोग गर्न नहुने वस्तुहरुको बारेमा जानकारी दिन्छौँ ।

नुहाउने साबुन
हामीले शरीर नुहाउन प्रयोग गर्ने साबुन कपालमा प्रयोग गर्न हुँदैन । शरीर नुहाउने साबुनले कपालमा ‘अल्कालाइन रेसिड्यु’ छोड्न सक्दछ, जुन पानीले पखाल्दा पनि नगएर क्याल्सियम डिपोजिटको रुपमा जम्मा हुन जान्छ । यस्तो पदार्थले हाम्रो कपाललाई ड्यामेज गराउने र सुख्खा बनाउने गर्दछ, जसले गर्दा कपाल झर्छ ।

ब्लो ड्रायरको प्रयोग
ब्लो ड्रायरबाट निस्किने तातोले गर्दा हाम्रो कपला ड्यामेज हुन सक्दछ । हाम्रो कपालको ९० प्रतिशत भन्दा बढी स्टक्चर प्रोटिनले बनेको हुन्छ । तातोले गर्दा प्रोटिन ड्यामेज हुन गई कपाल झर्ने गर्दछ ।

परफ्युम
कपालमा लगाउन नहुने अर्को कुरा हो परफ्युम । हामी मध्ये कतिपयले शरीरमा लगाउने परफ्युम कपालमा पनि लगाइरहेका हुन्छौँ । परफ्युममा अल्कोहलको मात्रा बढी हुन्छ र यसले कपाललाई सुख्खा र ड्यामेज बनाउँछ ।

कागती
हामी मध्ये कतिपयले चाँयालाई कम गर्ने घरेलु उपाय भन्दै कपालमा कागती, अण्डा जस्ता वस्तुहरुको प्रयोग गर्छौँ । यस्तो कुराहरु लगाएर लामो समय कपालमा छोड्दियौँ भने समस्या झन् बढ्ने खतरा हुन्छ । त्यसैले डाक्टरको सल्लाह बमोजिम एन्टिडेन्ड्रफ स्याम्पुको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

हामीले कहिल्यै पनि कपाललाई लामो समयसम्म भिजाएर राख्नु हुँदैन । कतिपयको लामो समयसम्म नुहाउने बानी, कपाल सुख्खा भयो भनेर भिजाउने बानी हुन्छ । यस्तो गर्नु पनि कपालको लागि राम्रो भने होइन ।

स्वीमिङ पुलको पानी
स्वीमिङ पुलको पानीमा क्यालोरिनको मात्रा धेरै हुने गर्दछ । यस्तो पानीले कपाललाई ड्यामेज गर्न सक्दछ । त्यसैले स्वीमिङ गर्दा स्वीम क्याप अनिवार्य रुपमा लगाउनु पर्दछ ।

तेलको प्रयोग
कतिपयले कपाल मसाज गर्ने नाममा तेल लगाएर रातभर छोड्ने गरेको पाइन्छ । यदि तेल लगाउनु नै छ भने नुहाउनु भन्दा एक घण्टा अगाडि लगाएको राम्रो ।

(हामीले यो सामाग्री छाला तथा कपाल रोग विशेषज्ञ डा. प्रकाश आचार्यको युट्युब च्यानलको सहयोगमा तयार पारेका हौँ ।)