NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते
एक क्वीन्टल सुन प्रकरण

दिपक मल्होत्रा भन्छन्, ‘राजनीतिक संरक्षण बिना लगानी गर्नेले कसरी यति ठूलो जोखिम उठाउला ?’ (अन्तरवार्ता)

काठमाडौं । ६३ बर्षका व्यापारी दिपक मल्होत्रा क्वीन्टल सुन तस्कर प्रकरणमा मुछिएका छन् । ७ बर्षअघि भएको ३३ किलो सुन प्रकरणमा पनि मल्होत्राको संलग्नता भेटिएको थियो । तर उनीसहित २ सय ५६ जनलाई बयान र कारबाही सिफारिस भएको त्यो प्रतिवेदन सरकारले कार्यान्वयन गरेन ।
अनुसन्धानमा संलग्न एक अधिकारीले त्यसपछि पनि मल्होत्रा लगातार सुन तस्कारीमा संलग्न भएको दावी गरेका छन् ।
उनीसँग बैधानिकरुपमा मोबाइल फोन व्यवसाय छ । जलविद्युतको क्षेत्रमा लगानी छ । घरजग्गाको क्षेत्रमा लगानी छ । त्यो भन्दा धेरै उनी हुण्डी कारोबारी र सुनतस्कारको आरोप खेपिरहेका छन् । उनका व्यवसायीक साझेदार बिमल पाडेलले मल्होत्रा हुण्डी कारोबारी भएको एउटा सरकारी बयानमा बताएका थिए ।
तिनै मल्होत्रासँग नेपालवाचका लागि पुष्प ढुंगानाले गरेको कुराकानी:

व्यापार थाल्नुभएको कति भयो ?

मैले सन् १९७९ मा बिकम पढ्दा पढ्दै व्यापार थालेको हुँ । त्यतिबेला म १९ वर्षको थिएँ । मेरो बुबाको होटल व्यवसाय थियो तर बुबाको व्यवसाय नगरेर आफ्नै व्यवसाय थालेँ । सानैदेखि जे गर्छु आफैं गर्छु भन्ने सोचाइ थियो । अहिले व्यापार गर्न थालेको ४४ वर्ष भयो ।

तपाईको व्यापारिक साझेदार बिमल पोडदारको बयान पढेर म तपाईसँग केहि प्रश्न गर्दैछु । उनको बयानमा तपाई हुण्डी कारोबारी हो र त्यस्तो पैसाले सुन तस्कारमा हुनुहुन्छ भन्ने आरोप लगाइएको छ नि ?

पोडदार मेरो व्यापारिक साझेदार हो । विगत ७ बर्षदेखि हामी साझेदारीमा छैनौँ । उसको त्यो बयान मैले पनि पढेको हुँ । उसले दिल्लीमा दिलिप भन्ने मान्छेलाई ६५ लाख रुपैयाँ हुण्डीको पैसा दिएको भनेर बयान दिएको छ । मेरो तर्फबाट उसले हुण्डीको कारोबार हेथ्र्यो भनेको छ ।
पछि मसँग चाँही उसले मलाई टर्चर दिएर त्यो बयान लेखाइयो दाई भनेको थियो ।

दोषी भनेको उसले सफाई पाउँदा बारम्बार मलाई चाँही त्यही कुरामा बदनाम गराउन खोजिएको छ । जेसुकै भनेपनि म २५ वर्षदेखि सुनको व्यापार छोडेको बसेको मान्छे हुँ । हुण्डी के हो भनेर मलाई थाहा नै छैन । किन यस्तो गर्छन् मान्छेलाई ? अनुसन्धान भइरहेको छ । भोली यथार्थ कुरा बाहिर आउँछ । अहिले बेकारमा मलाई एउटा मिडियाले बदनाम गर्ने काम गरिरहेको छ । आफ्नो ढंगबाट कारोबार गरेर हिडेको मान्छेलाई यसरी किन फसाउन खोज्छन् ? यो कुरा बुझ्न साह्रै गाह्रो भइरहेको छ । मलाई यो नाम आयो भन्दा पनि किन आयो भन्ने कुरामा टेन्सन भएको छ ।

तपाईं राजेन्द्र शाक्य भन्ने मान्छेलाई चिन्नुहुन्छ ?

म राजेन्द्र शाक्यलाई चिन्छु । तर व्यापारिक सम्वन्ध छैन । साधारण चिनजान मात्रै हो । म र ऊ दुवै काठमाडौंकै बासिन्दा हौं । कहिलेकहीं भेटियो होला । समूहमा बसेर कुराकानी भयो होला । त्यो भन्दा बढी ऊसँग मेरो कारोबार केही पनि छैन । उसलाई मैले अहिलेसम्म तीन चारपटक भेटेँ ।

कुन प्रसंगमा भेट भएको थियो ?

त्यस्तो कुनै व्यापारिक प्रसंग थिएन । साथीभाइ बस्दा कहिलेकाहीं रेष्टुरेन्टमा भेट भएको हो । त्यो भन्दा बढि राजेन्द्र शाक्यसँग मेरो कुनै पनि प्रकारको कारोबार छैन ।

तपाईंलाई आरके ज्वेलर्स, गोल्ड या डायमण्डको विषयमा थाहा छ ?

सुनेको छु । आरके ज्वेलर्स राजेन्द्र शाक्यकै पसल हो भनेर पत्रपत्रिकामा पढेको हुँ ।

सुन तस्कारीमा तपाईको शाक्यसँग साझेदारी छ भन्ने विषय यसअघिको ३३ किलो सुन प्रकरणमा आएको थियो । त्यो साझेदारी अहिले पनि निरन्तर हो ?

जिन्दगीमा शाक्यसँग मेरो कुनै पनि लेनदेन र साझेदारी छैन ।

३३ किलो सुन प्रकरणमा छानविन हुँदा तपाईको संलग्नता देखियो, तपाईलाई बयानको लागि बोलाउने तयारी भइरहँदा तपाईं त्यतिबेला प्रधानमन्त्रीको टोलिसँगै चीन जानुभयो । प्रधानमन्त्रीलाई रक्षा कवच बनाउनु भयो । यो भ्रमण ७ दिनको थियो । तपाई ५ दिनमै फर्किनुभयो । चाँडै फर्किन तपाईलाई के आपत आइलागेको थियो ?

म बीचबाट फर्किएकै होइन । हाम्रो भ्रमणको तालिका नै पाँच दिनको लागि भनेर तय भएको थियो । चीनको अन्य शहरमा उहाँहरुको भ्रमण थियो । भ्रमणको सानो टोली त्यता गयो । हामी फर्कियौं । म एक्लै फर्किएको होइन । नेपाल चेम्बर अफ कमर्सको पुरै टोली फर्किएको हो । मलाई केही आइलागेर फर्किएको हैन ।

त्यो अनुसन्धानमा तपाईंको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिव राजेश बज्रचार्यसँग साँठगाँठ भेटिएको थियो, उनसँग कस्तो सम्वन्ध हो ?

म नेपाल चेम्बर अफ कमर्सको उपसभापति । त्यसबाहेक पनि घरजग्गा व्यवसायी महासंघ, नेपाल भियतनाम चेम्बर अफ कमर्स, मोबाइल फोन इम्पोर्ट एसोसिएसन, नेपाल वागमती प्रदेश ताइक्वान्डो फेडेरेसन लगायत विभिन्न संघसंस्थाको नेतृत्वमा छु ।

त्यसकारण म सबै ठाउँमा व्यवसायीहरुको समस्या लिएर जानुपर्ने हुन्छ, भेट्नुपर्ने हुन्छ । प्रधानमन्त्रीकोमा जाँदा पहिला उहाँको स्वकीय सचिवसँग समय लिनुपर्ने हुन्छ । त्यसो हुँदा राजेशजीसँग चिनजान भएको हो । तर प्रधानमन्त्रीसँग खिचिएको फोटो राखेर मेरो विरुद्ध गलत प्रचार गरिदिए ।

बेकारमा मिडिया मेरोपछि लाग्नुको कारण के होला ? यो देशमा म जत्ति सिधा व्यापार गर्ने मान्छे सायद कोही छैन होला । रपनि, मेरो पछाडि सबैजना किन हात धोएर लागेका होला ? मैले कुरौ बुझ्न सकिरहेको छैन ।

म पनि त्यही प्रश्न गर्दैछु । यति धेरै इमान्दारिपूर्वक व्यापार गर्छु भनेर दावी गर्नुहुन्छ । यदि तपाईको संलग्नता थिएन भने बाँकी सारामान्छे अरु काम नै नभए जसरी सबै तपाईंको पछि किन लागे होला ?

एउटा दैनिक पत्रिकाले मेरो नाम किन लियो भनेर म पत्ता लगाउँदै छु । अब चाहीं मैले आफ्नो काम छोडेर भएपनि यो पत्ता लगाउन लाग्छु । ३३ किलो सुन प्रकरणमा पनि मेरो नाममा यसैगरी पित पत्रकारिता भयो । त्यतिबेला म चीन भ्रमणमा गएको थिए । बिमल पोडदार पक्राउ पर्दा दीपक मल्होत्राको पार्टनर समातियो भनेर समाचार आयो । मेरो संलग्नता भेटिएको भए म चीनबाट किन फर्किन्थे ? बाहिरको बाहिरै बस्थे होला नि त । नखाएको विष लाग्दैन । नबिराउनू नडराउनू भन्ने कुरामा म विश्वास गर्ने मान्छे हो । अहिले पनि त्यसरी नाम निस्कियो । मैले छाती खोलेर पत्रकार सम्मेलन गरें । डटेर अगाडि आएँ । मेरो दोष भेटिएमा जुनसुकै सजाय भोग्न पनि तयार छु । तर बारम्बार मेरो पछाडि लाग्नुको कारण के हो भन्ने कुरामा अनुसन्धान गर्दैछु ।

यसको अनुसन्धान आफैं गर्नुहुन्छ कि टोली नै बनाउनुभएको छ ?

आफंै गर्छु । म सिंगल म्यान हो । जे गर्छु आफै गर्छु । प्रेस कन्फेरेन्स पनि म एक्लै बसेर गरें । सबैले सोधेको जवाफ म एक्लैले दिएँ । किनभने यहाँ आफ्नो लागि आफैं लाग्नुपर्छ । गोप्य प्रकारले कसैको सहयोग लिएँ होला, त्यो आफ्नो ठाउँमा छ । तर यसपालि यो कुरालाई दुधको दुध पानीको पानी चाहीं बनाउँछु म ।

सुन प्रकरणमा तपाईंको नाम मुछियो, तर सिंगो प्रतिपक्ष दल तपाईंकै पक्षमा उभिएको छ । हिजो कुनै समय अख्तियार पनि तपाईंकै पक्षमा थियो । प्राविधिक रुपमा त्यहाँ अर्को व्यक्ति भएपनि अख्तियार झण्डै तपाईंले चलाउनुहुन्थ्यो । यसमा त गर्व लाग्छ होला नि ?

यो गर्व होइन दुर्भाग्य हो । यस्तो कुराको आरोप खेप्नु त दुर्भाग्य हो नि । म मोबाइल फोन र घरजग्गा बेच्ने मान्छेले अख्तियार किन चलाउनुपर्यो ? सरकार किन चलाउनुपर्यो ? यी सब कुराहरु सुन्नु नै मेरो लागि दुर्भाग्य हो । मलाई आवश्यक नै छैन । म सिधा सिधा आफ्नो व्यापार गर्ने मान्छेलाई न अख्तियारको आवश्यक छ न सरकारको । न म पैसाको लोभ भएको मान्छे हुँ । मेरो घरजग्गामा कारोबार छ, मोबाइल फोन बेच्छु, हाइडोमा लगानी छ । यी सब कुरा गर्नलाई अख्तियार र सरकार किन चाहियो ?

तपाईं सुन मात्रै होईन, हुण्डीको कारोबार गर्नुहुन्छ भन्ने पनि आरोप छ नि ?

मलाई हुण्डी भनेको नै थाहा छैन । के हो हुण्डी भनेको ? मलाई हुण्डी भनेको थाहा छैन, कस्सम । मैले कसरी कारोबार गर्छु हुण्डीको ? तपाईंको प्रश्न नै मलाई चित्त बुझेन।

अर्थ मन्त्रालय र अन्तरगतका मन्त्रालयमा लामो समयदेखि बस्दै र कमाउँदै आएका कर्मचारीको कालोधन हुण्डिमार्फत बाहिर पठाउने तपाईको धन्दा हो भनेर बिमलले बयानमा भनेका छन् ?

मैले कर्मचारी, नेताको कालो धन हुण्डिमार्फत पठाएर व्यवस्थापन गर्छु भन्नु नयाँ पत्रिकामा मेरो नाम आएजस्तै हो । त्यो भन्दा बढी केही होइनन ।

एउटा व्यवसायीलाई वर्षौंदेखि यत्ति धेरै आरोप लाग्यो । हुण्डिदेखि ३३ किलो सुन समातेको प्रकरणलगायत । एक सय किलो सुन समात्दा सबैभन्दा पहिला तपाईंको नाम मुछियो । मोबाइल फोनमा भित्र सुन हालेर ल्याउनु हुन्छ भन्ने आरोप पनि लाग्यो । एउटा प्रतिष्ठित व्यापारीलाई यत्रो आरोप लागिरहँदा तपाईंले कानुनी उपचारमा गएर प्रतिवाद गरेको त देखिन्न नि ? तै चुप मै चुप भनेर बसेको हो ?

म यी सबै तुच्छ कुराहरुको पछि लाग्ने मान्छे होइन । एउटा उखान छ नि । हात्ति चले बजार, कुत्ता भुके हजार । म यस्तो कुराको पछि लागेर आफ्नो कारोबारलाई बिगार्ने मान्छे होइन । ममाथि ३३ किलो सुनको ठूलो आरोप लागेको हो । ३३ किलो सुन समात्दा म चीनमा थिएँ । म आउँदा यहाँ पाँच दिन भइसकेको थियो । पाँच दिनसम्ममा त्यो समाचार नै बासी भइसकेको थियो । त्यसपछि मैले पछि लाग्ने काम गरिनँ । यसपाली विहान उठ्नेवित्तिकै समाचार देखेँ । मैले १ बजे पे्रस कन्फेरेन्स गरेर डिफेन्ड गरें । प्रेस काउन्सीलमा उजुरी दिनका लागि मसँग अहिले पनि दस्तावेज तयार छ । नयाँ पत्रिकालाई खण्डन छाप्नुहुन्छ कि काउन्सीलमा जाउँ भन्दा खण्डन छाप्नु मेरो आफ्नो अधिकारको विषय भएको बताइयो । तपाई सही हुनुहुन्छ भने माफी पनि माग्छौं र खण्डन पनि छाप्छौं भनेपछि म त्यसको पखाईमा छु ।
म दोषी हैन भन्ने कुरालाई पत्रकार सम्मेलन गरेर स्पष्ट पारिसकेको छु । कतिपय मान्छेले हतार हतारमा किन पत्रकार सम्मेलन गरेको ? किन आत्तिएको ? पनि भने । गर्दा पनि हुँदैन, नगर्दा पनि हुँदैन । जे गर्दा पनि हुन्न ।

अनुसन्धानमा संलग्नले तपाईको यसमा भूमिका रहेको बताइरहेका छन् । लगानी साझेदारीमा राजेन्द्र शाक्यको नाम पनि आइरहेको छ । जसरी कानुनी कदम नउठाएको कुरा गर्नुभयो, पहिला ३३ किलोमा पनि सल्टाएकै हो । अनुसन्धान अधिकृतहरु यस्तै छन्, यसमा पनि सल्टिन्छ भनेर कन्फिडेन्स आएको त हैन नि ?

सुरुमा त, राजेन्द्र शाक्यले के गर्छन् या गर्दैनन् भन्ने विषयमा मेरो कुनै पनि कमेन्ट छैन । उसको व्यापार छुट्टै हो, मेरो छुट्टै । साधारण चिनजान हो भनेर मैले भनिहालें । मैले प्रेस कन्फेरेन्सदेखि हरेक अन्तर्वार्तामा भन्दै आइरहेको छु, आजभन्दा २५ वर्षअघि नेपालको ऐन, कानुन अन्तर्गत रहेर हामीले सुन आयात गथ्र्यौं । त्यो भनेको २०५५ सम्मको कुरा हो । त्यसपछि मैले त्यो व्यवसाय छोडेँ । त्यसपछि मैले एक ग्राम सुन मगाएको कसैले प्रमाणित गरिदियोस् । म अरु व्यापारमा लागेपछि कहिल्यै पनि सुनको काममा लागिनँ ।

मोबाइल आयत र घरजग्गाको व्यापारमा लागें । यत्तिका संस्थामा आबद्ध छु, मान्छेहरुसँग राम्रो सम्बन्ध बनाएको छु । भोलि मैले सुन तस्कर गरेर मलाई तलमाथि भयो भने ती संस्थाहरुलाई के जवाफ दिने ? साथीभाइहरुलाई के भन्ने ? पत्रकार सम्मेलन गर्दा त्यहाँ आएका मिडियाकर्मीलाई के जवाफ दिने ? म साँच्चै मूर्ख मान्छे भएको भए त्यो गर्थे पनि होला । तर म मुर्ख मान्छे पक्कै पनि हैन । मेरो नाम यसरी नयाँ पत्रिकाले एक्कासी लेख्नुको पछाडिको कारण के हो भनेर बुझ्न बाँकी छ । गहिरो कुरा त्यहीँ छ । मेरो नाम लेखेर जनतालाई मतिर डाइभर्ट गरिदिए । त्यसपछि दुई चारवटा गोदाममा छापा मारे । त्यहाँ ब्रेकशुहरु भेटियो । मेरो पछि नलागेर गोदाममा त्यही दिन छापा मारेको भए सुनसहितको ब्रेकशु भेटिन्थ्यो होला नि त ?

४४ वर्षदेखि व्यापार गर्नुहुन्छ । तपाईं ६३ वर्ष भइसक्नुभयो । आर्थिक रुपमा सम्पन्न पनि हुनुहुन्छ । सँगसँगै, जीवनको यो उमेरमा आएर सुन तस्कर अथवा यस्तो अपमानजनक आरोप लागिरहेको छ । यस्तो बेलामा आफैंलाई कस्तो महसुस हुने रहेछ ? परिवार, आफन्त अथवा समाजले कसरी हेर्दो रहेछ ?

यो एक वर्षदेखि सबैको व्यापार बिग्रिरहेको अवस्था छ । बैंकलाई ब्याज तिर्न गाह्रो भइरहेको अवस्था छ । एकातिर आफ्नो व्यापारको पीडा भोग्नुपरिरहेको छ भने नचाहिने टेन्सन थपिदा पीडामाथि पीडा हुन्छ । कमजोर मान्छेहरुले यस्तै बेलामा आत्महत्या गर्छन् । तर म कमजोर मान्छे हैन । म त्यो सोच्न पनि सक्दिन । म अलि लड्न सक्ने मान्छे भएको हुनाले संघर्ष गरेरअघि बढिरहेको छु । जसरी समाजमा मेरो मान प्रतिष्ठामा धक्का पुगेको छ, त्यसको क्षतिपूर्ति तिर्न धेरै गाह्रो छ । मसँग संगत गर्ने र चिन्नेले मैले यस्तो गर्नै सक्दिन भन्ने विश्वास गर्छन् । मलाई साथीभाइको हजारौं फोन आयो । तनाव नलिनु भनेर सान्त्वना दिए । उनीहरुलाई पनि स्वभावैले चिन्ता भयो । सहीको जित हुन्छ, तनाव नलिग भन्दा मैले ठूलो उर्जा पाएँ । त्यसले गर्दा यी सबै कुराका बाबजुद पनि डटेर लडिरहेका छु । सबै काम छोडेर सामाजिक सेवामा लाग्छु भनेर पनि सोचेको थिएँ । देश र जनताका लागि यत्रो काम गर्दा पनि अहिले आएर यस्तो आरोप लाग्छ भने बरु विदेशमै बस्नुपर्ने रहेछ भनेर पनि मनमा आयो ।
आज यस्तै कारणले गर्दा व्यापारी पलायन भइरहेका छन् । गलत गर्नेलाई कारवाही गर्नुपर्छ तर गलत नगर्दा पनि दुनियाँभरको पेलान सहनुपर्छ भने यो देशमा भविष्य छ र ?

तपाईंले पहिला सुन व्यवसाय पनि गर्नुभयो । यत्ति ठूलो सुन तस्करमा कस्तो खालको समूह संलग्न छ ? यसमा राजनीतिक संरक्षण छ कि छैन ? तपाईंलाई कस्तो लाग्छ ?

सानो ठूलो विभिन्न किसिमको तस्कर हुन्छ । अहिलेको सय किलो सुन प्रकरणमा मैले अहिले भन्न पनि मिल्दैन र भन्न पनि हुँदैन । आफूलाई लागेको कुरा भन्दा, जसले पैसा लगानी गरेको छ उसले यत्ति ठूलो जोखिम नउठाउला कि ? एउटा सानो भन्सारलाई मात्रै आधार यत्ति ठूलो जोखिम लिने जमर्को त गर्ला जस्तो लाग्दैन । आज पनि एकजना पक्राउ परेका छन् । यो हेरिरहँदा यसमा राजनीतिक संलग्नता पनि देखिन्छ भनेर मैले पनि पढें । यो कुन लेभलको संलग्नता हो, कसको आश्वासन हो भन्ने कुरा त अगाडि आइहाल्ला । अनुसन्धान भइरहेको छ । धैर्य गरौं । मलाई लाग्छ, यसमा राजनीतिक व्यक्तिको पनि संलग्नता छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष