NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

लम्पी स्किनका कारण पीडित किसानलाई राहत दिनेबारे आज निर्णय हुँदै

काठमाडौं । सरकारले महामारीका रुपमा देशव्यापी फैलिएको लम्पी स्किन रोगका कारण पीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । आज मङ्गलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाललगायत सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न निर्देशन दिए ।

यस अवसरमा प्रधानमन्त्री दाहालले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर रहेको बताए । लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको भन्दै प्रधानमन्त्री दाहालले कृषि र अर्थसँग पशुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएको समेत बताए ।

लम्पी स्किन रोग यसअघि दुईवर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो रोग यसअघि देखिएका छिमेकी देशबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको पनि स्वीकार गरेका थिए ।

‘छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदममा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौँ र क्षति भएको छ,’ प्रधानमन्त्री दाहालले भने ।

उनले आगामी दिनमा पनि यी र यस्तै समस्या आउन सक्छन् भनेर पूर्वतयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री दाहालले बैठकमा भने, ‘अहिले राहत र रोग नियन्त्रणमा काम तत्काल गरौँ, आगामी दिनमा पनि यी र यस्ता समस्या आउन सक्छन् भनेर पूर्वतयारीलाई बलियो बनाउनेतर्फ ध्यान दिऔँ र सोहीअनुसार योजना बनाऔँ ।’

यस्तै उनले लम्पी स्किन रोग नियन्त्रणका लागि ‘गोटपक्स भ्याक्सिन’ लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोप खुला गर्ने र त्यसमा सङ्घ, प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने बताएका थिए ।

लम्पी स्किन रोगले गरिब किसान मारमा परेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘गाईभैँसी पाल्ने किसान निम्म वर्गका नै हुन्छन्, लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठूलो समस्यामा पारेको छ । किसानलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ ।’

किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रुपमा गोटपक्स भ्याक्सिन सङ्घ, प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न पनि उनले कृषि मन्त्रालयलाई निर्देशन दिए ।

यस्तै, राहतको मोडालिटीका बारेमा आवश्यक प्रस्ताव तयार पारेर ल्याउन प्रधानमन्त्री दाहालले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका थिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर कूल ११ लाखभन्दा बढी पशु लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । तीमध्ये आठ लाख ६७ हजार पशु चौपाया निको भइसकेका छन् । यस्तै, ४८ हजार पशु चौपाया सो रोगका कारण मरेका छन् । हाल एक लाख ८१ हजार पशु चौपाया सो रोगका कारण सक्रिय सङ्क्रमित छन् ।

पशु चौपाया मर्दा प्रत्यक्ष रुपमा ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । यस्तै, यसबाट समग्रमा एक खर्ब बराबरको क्षति भएको बताइन्छ । यही रोगले ठूलो मात्रामा गोरु मर्दा कतिपय जिल्लामा धान रोपाइँसमेत प्रभावित हुनुका साथै दूध उत्पादनमा समेत असर परेको छ ।