NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

दानवीर आमा : तन झुप्रोमा, मन सेवामा

त्रिवेणी । खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, “यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन ।”

गुरुङको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ मा बसोबास रहेको छ । उमेरले ९६ वर्ष पुगेकी उनलाई सम्मानले बोलाउने नाम बनेको छ ‘पियारी आमा’ । पियारी आमाको घर सानो भए पनि मन भने ठूलो छ । उनले आफूसँग भएको सबै सम्पत्ति विद्यालयलाई हस्तान्तरण गरेकी छन् ।

पियारी आमाले कावासोती–४ मै रहेको सरस्वती माविलाई आफ्नो नाममा रहेको सबै आठ कठ्ठा जग्गादान दिएकी छन् । निःसन्तान उनी श्रीमानको मृत्यु भएपछि एक्लै बस्दै आएकी छन् । पियारी आमाको साथी भने पनि साक्षी भने पनि एक कोठासहित सानो खरले छाएको घरमात्रै हुने गरेको छ ।

विद्यालयलाई दिएको जग्गामै घर रहेको छ । खेतमा हुने सबै उब्जनी पियारी आमाले विद्यालयलाई दिने गरेकी छन् ।

“मैले दान दिएको हुँ, हामीकहाँ दान दिएको फेरि आफूले लिनहुन्न भन्ने छ”, उनले भनिन्, “त्यसैले यहाँ जे–जे लगाउँछु पछि विद्यालयलाई लगेर बुझाउने गरेको छु ।”

पियारी आमाले आफूसँग भएको जग्गा मात्रै होइन, श्रीमान् भारतीय सेना भएकाले आउने पेन्सनसमेत अरुलाई सहयोग गर्ने गरेकी छन् । विशेषगरी विद्यालयलाई दान दिनमै उनको रुचि छ ।

पियारी आमाले विद्यालयमा विभिन्न समयमा आफूसँग भएको पैसा ल्याएर दिने गरेको सरस्वती माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशील पौडेलले बताए ।

“उहाँलाई अरूको सहयोग गरौँ भन्ने भावना छ, विद्यालयमा बेला–बेलामा सहयोग प्रदान गर्नुभएको छ”, अध्यक्ष पौडेलले भने । अरुबाट केही आश नगर्ने, केही लिन नखोज्ने तर आफूले भने सहयोग गर्ने स्वभाव उनमा रहेको अध्यक्ष पौडेलले बताए । शिक्षा क्षेत्रमा आफूसँग भएको सबै रकम दान गरेकाले विद्यालयले सर्वस्व दाताका रूपमा सम्मानसमेत गरेको छ ।

शिक्षाको विकासका लागि निस्वार्थभावमा आफ्नो सबै जायजेथा दान गरेकाले उनको सम्मानमा अहिले पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागिएको छ । पियारी आमाको घरछेउमा स्मृतिस्तम्भ निर्माण गर्न लागिएको कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले बताए । “शिक्षाको विकासमा बिनास्वार्थ पियारी आमाले गरेको दान आफैँमा धेरै ठूलो रहेको छ, हामीले यस्ता दाताको हौसला बढाउनुपर्छ, यसैले सम्मानस्वरुप पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागेका हौँ”, शिक्षा शाखा प्रमुख भण्डारीले भने ।

“व्यक्तिगत स्वार्थ त्यागेर सार्वजनिक हितका लागि योगदान दिने सबै व्यक्ति सम्मानयोग्य हुन् । जसले अरुका हितका लागि निःस्वार्थभावले आफ्नो सबै सम्पत्ति दिन्छ, त्यो महान् कार्य हो”, प्रमुख भण्डारीले भने ।

“शर्त राखेर दान दिने र चन्दा दान दिएको संस्थाको मूल प्रवेशद्वारमै रकम उल्लेख गरेर नाम नलेखी दिए वा सोचेअनुरूप कदर नभए चित्त दुःखाउने पनि हुन्छन् समाजमा, तर पियारी आमा जसले दानको वास्तविक मर्म, इज्जत, गरिमा र संस्कार पालना गर्नुभयो, उहाँको जीवनी अरुका लागि पनि अनुशरणयोग्य छ, यसकारण सम्मानमा स्तम्भ निर्माण गर्न लागेका छौँ”, प्रमुख भण्डारीले भने ।