NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

यी हुन् अनुहारको कालो दाग/धब्बा कम गर्ने सात उपाय

काठमाडौं । अनुहारको छालामा आउने कालो दाग तथा धब्बाहरूले हामी मध्ये कतिपयलाई असर गरिराखेको हुन्छ । यसले कतिपयको कन्फिडेन्स लेवललाई कम गरी दैनिक जीवन अर्थात् ‘क्वालिटी अफ लाइफ’लाई नै असर गरिरहेको हुन्छ । छालाको यस्तो कालोपन प्रायः चायाँपोतोको समस्याले गर्दा, डण्डीफोर सन्चो भएर छोड्ने कालो दागले र घामले गर्दा पनि हुने गर्दछ । यस्तो छालाको समस्यालाई कम गर्ने सात वटा उपायको बारेमा आज हामी चर्चा गर्दैछौँ ।

१. छालाको दाग धब्बा कम गर्ने पहिलो तरिका भनेको सकेसम्म बिहान १० बजेदेखि दिउँसो तीन बजेको घाममा जरुरी नपरेसम्म बाहिर ननिस्किने । किनकी यो बेलाको घाममा ‘युभी रेज’को मात्रा सबैभन्दा धेरै हुन्छ । यदि घाममा निस्किनै परेको खण्डमा मजाले सनस्क्रिन लगाएर निस्किनु पर्दछ ।

२. त्यस्तै कुनैपनि क्रिम अथवा स्किन प्रोडक्ट लगाउँदा छाला चिलाएको छ, पोलेको छ अथवा हेर्दा रातो भएको छ भने त्यस्तो स्किन प्रोडक्ट लगाउन तुरुन्तै बन्द गर्नुपर्दछ । यी लक्षणहरु भनेको छालामा भएको जलनको लक्षणहरु हुन् ।

३. छालामा भएको दाग धब्बा कम गर्ने अर्को उपाय भनेको छालालाई सधैँ नरम वा मोइस्चराइज राखिराख्ने । यदि हाम्रो छाला सुख्खा भएको खण्डमा हाम्रो स्किन ब्यारिएर ड्यामेज हुन गई क्रोनिक इन्फ्लामेसन हुन सक्दछ, जसले चायाँपोतोको समस्या बढाउन सक्दछ ।

४. कालो दाग धब्बा हुनेहरुले सकेसम्म अनुहारको छालामा तेलको प्रयोग गर्नु हुँदैन । प्राकृतिक भन्दैमा तोरीको तेल प्रयोग गर्नु राम्रो हुँदैन । कतिपय अध्ययनले देखाए अनुसार यसले चाँयापोतो जस्ता समस्याहरु बढाउन सक्दछ ।

५. कालोपनको समस्या हुनेहरुले हेयर कलर गर्दा वा मेहेन्दी लगाउँदा पनि विचार पुर्याउनुपर्ने हुन्छ । सकेसम्म यस्तो नलगाएकै राम्रो ।

६. अर्को उपाय भनेको मुख धुँदा सकेसम्म धेरै फिँज आउने वा छालालाई सुख्खा बनाउने फेसवासहरूको प्रयोग नगर्ने ।

७. त्यस्तै अर्को उपाय भनेको युट्युब, टिकटकमा हेरेकै भरमा विभिन्न घरेलु उपचारहरु नगर्ने । कतिपय यस्ता उपायले छालाको कालो दाग धब्बा झनै बढाउने गर्दछ ।

(हामीले यो सामग्री छाला तथा कपाल रोग विषेशज्ञ प्रकाश आचार्यको युट्युब च्यानलबाट लिएका हौँ ।)