वर्षा हुँदा डुबानको त्रास, नहुँदा खेतीबालीको चिन्ता
कैलाली । कैलालीको कैलारी गाउँपालिका–५ बिसनपुर गाउँका मानबहादुर चौधरी वर्षा भइरहँदा नजिकैको मोहना नदीले निम्त्याउन सक्ने डुबान र कटानको जोखिमको त्रासमा रातभर जाग्राम बस्छन् ।
उनले भने, ‘वर्षा मौसममा मोहनामा बाढी उर्लिएर आउँदा निम्तिन सक्ने जोखिम न्यूनीकरणका लागि गाउँवासीलाई निरन्तर सूचना दिनुपर्छ, गए राति १० बजेदेखि आफू नसुतेरै नदीको बहाव मापन गर्दै रात काटियो ।’ उनी मोहना नदीको बहाव मापन गर्ने जिम्मेवारी (गेज रिडर) का रूपमा काम गर्दै आएका छन् । राति चेतावनी तहमा पुगेको मोहनाको बाढीको बहाव मंगलबार मध्याह्नदेखि घट्दै गएको उनले बताए ।
सोही गाउँका सुरेश चौधरीले वर्षा नभए किसानलाई खेती गर्न समस्या, बढी वर्षा भए डुबान कटानको समस्याले नदी तटीय क्षेत्रका बासिन्दाले हैरानी खेप्नुपरेको बताउँछन् । उनले भने, ‘बढी वर्षा हुँदा डुबान कटानको त्रास, वर्षा नहुँदा पानीको अभावमा खेतीपाती बिग्रिने पीर।’
वर्षायाममा जिल्लाको होचो भूभागको बस्तीका घरपरिवारका सदस्य राति नसुतेरै जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनीहरूको अनुभव छ । वर्षाका कारण हुनसक्ने डुबान एवं कटानको त्रासका कारण नदी तटीय क्षेत्र नजिकको होचो भूभागको बस्तीका धेरै परिवार रातमा जाग्राम बसेरै बिताउने गर्छन् ।
बिसनपुरका गाउँका मानबहादुरसहितका परिवार नजिकैको मोहना नदीको बाढीको त्रासमा रातमा निदाउँदैनन् । उत्तरबाट दक्षिणतर्फ बग्ने नदीको सतहमा बालुवा, माटो, ढुङ्गा थपिँदा यसको सतह पनि बढेको छ । जसका कारण सामान्य वर्षा हुँदा पनि नदीको बाढी गाउँबस्तीमा पुगेर क्षति हुने गरेको छ । उनीहरूका अनुसार तीन चार दशक पहिले बस्तीमा बितण्डा मच्चाउने गरी नदीमा एक्कासि यस्तो बाढी आउँथेन । पछिल्ला वर्षमा नदीमा एक्कासि बाढी आउने समस्या बढ्दै जाँदा डुबान र कटानको जोखिम बढ्दै गएको छ ।
वर्षासँगै जिल्लाका विभिन्न नदीको बाढी बस्तीमा पसेपछि भजनी, गोदावरी, घोडाघोडी, जोशीपुर र कैलारी क्षेत्रमा गरी झण्डै चार सय ६३ घर र एक पसलमा पानी पसेर क्षति पुगेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।
जिल्लाका विभिन्न ठाउँमा डुबानबाट बिचल्लीमा परेका व्यक्तिको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरेको छ । जिल्लाको गोदावरी नदीमा आएको बाढीले गोदावरीधाम परिसरमा रहेका मठमन्दिरलगायतका धार्मिक संरचनामा क्षति पुर्याएको छ ।
बाढीपछि जोखिममा परेका बटुकलगायतका व्यक्तिलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाको संयुक्त पहलमा उद्धार गरिएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया